युवाहरु नउठे देश कसरी बन्छ ?


सञ्जय थापा, युवा अभियान्ता

कोइला खानिभित्र थोरै हिरा भेटिन्छ । किनभने कडा चट्टानभित्र राप र ताम सहेर थोरै पथ्थर मात्र हिरा बन्दछ । भारतीय वैज्ञानिक तथा राष्ट्रपति एपिजे अब्दुल कलामले भनेका छन्– यदि तिमी सूर्य झैं चम्कन चाहान्छौ भने पहिले सूर्य जस्तै जल्न सिक ।’ हाम्रो सौर्यमण्डलमा हामी लाखौं ताराहरु देख्दछौं तर सूर्य सबैभन्दा चम्किलो र प्रचण्ड छ । नेपालकै राजनीतिमा पनि हामी त्यस्तो उदाहरण देख्न सक्छौं । नेपाली कांग्रेसमा लाखौंले राजनीति गरे तर विपी कोइराला जस्ता नेता अरु जन्मिन सकेन । कम्युनिस्ट आन्दोनमा लाखौं कमरेडहरुको त्याग, तपस्या र बलिदान छ तर पुष्पलाल र मदन भण्डारी विरलै बने । जनयुद्धमा हजारौं शहीद, वेपत्ता र घाइते भए तर प्रचण्डजस्तो डाइनामिक लिडर अरु बन्न सकेनन् ।

विपी, पुष्पलाल, मदन भण्डारी र प्रचण्डहरुसँग आत्मविस्वास थियो । देश बनाउने सपना र दृष्टिकोण थियो । असाधारण त्याग र लगाव थियो । परिस्थितिअनुसार हिड्न सक्ने साहास थियो । आफूँअनुकुल परिस्थिति निर्माण गर्नसक्ने भिजन थियो । आफ्नो युगको आवाज र एजेण्डा थियो । अरुमाथि आशा थिएन, बरु आफैंमाथि र जनताप्रति भरोसा थियो ।

कुनै काममा हुने सफलता लगाव कति छ भन्ने कुराले निर्धारण गर्दछ । त्यसकारण मान–हानी, विजय–पराजय, दुःख–सुख जे भए पनि तीव्र लगाव र समभाव भयो भने सफलता अनिवार्य प्राप्त हुन्छ । श्रीमद्भावगत गीताको भक्ति योगमा भनिएको छ कि प्रेम नभएको विषयमाथि भक्ति हुँदैन र त्यो आफ्नो विषय पनि हुँदैन । भयो भने त्यो काम चलाउ मात्रै हुन्छ । प्रेम भएको विषयमा मान्छे मर्न पनि तयार हुन्छन् । चे ग्वेभाराको क्रान्तिप्रति अगाध प्रेम भएकैले क्रान्तिका निम्ति उनी शहीद भए तर विचलित भएनन् ।
लगावबिनाको मान्छे नै हुँदैन तर सबैले आफ्नो लगाव भेट्दैनन् । आफ्नो लगाव भेट्नेहरू सफल हुन्छन्, मुक्त हुन्छन् । मान्छेको लगाव प्रेमको स्तरमा हुन सक्यो भने सफलता कसैले रोक्न सक्दैन ।

हरेक मानिस असाधारण क्षमतासहित जन्मिएका हुन्छन् । तर थोरैल मात्र आफ्नो क्षमता चिन्न सक्दछ । थोरैले मात्र आफ्नो लक्ष्य भेट्दछन् । अब्दुल कलाम भन्छन्– १) महान् लक्ष लेऊ, (२) ज्ञान आर्जित गर, (३) कडा मेहनत गर, र, (४) लक्षमा दृड रहु । कुनै पनि कुरा पाउन असम्भव छैन ।’ तसर्थ हामी युवाहरुले कलामले भनेजस्तै कडा मेहनत गर्नु परेको छ, लक्षमा दृड भएर अगाडि बढ्नुपरेको छ र देशभरका युवाहरु एकढिक्का हुनुपरेको छ ।

अब पुरानो पुस्तालाई देशको राजनीति छाडिदिएर देश बन्दैन । उहाँहरुले इतिहासमा गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै अब ‘बा’ पुस्तालाई आराम गर्नुस् भन्नैपर्छ । हामी युवाहरु चुरोटको धुवाका सपनाहरु उडाएर बसिदिने हो भने, हुस्कि र वियरमा सपनाहरु पिइदिएर बसिदिने हो भने, खसी र कुखुरकाको सपेटासँगै सपनाहरुलाई लुछिदिएर बसिदिने हो भने देश कसरी बन्छ ? बन्दैबन्दैन ।

आज देशका अधिकांश युवाहरुको लक्ष युरोप, अमेरिका, जपान, कोरिया बन्न पुगेको छ । आज युवाहरुलाई राजनीति मन पर्दैन । नेताहरुप्रति तीव्र वितृष्णा छ । तर हामीले जसलाई सरापिरहेका छौं, त्यो पुस्ता नै हो पन्चायती शासनविरुद्ध लडेर बहुदलिय व्यवस्था स्थापना गर्ने । त्यही पुस्ता नै हो, एकतन्त्रीय राजतन्त्र फ्याकेर लोकतान्त्रिक व्यवस्था स्थापना गर्ने । हामीले सरापिरहेकै पुस्ताको त्याग, तपस्या र बलिदानकै कारण आज हामी यो ठाउँमा छौं । हाम्रा ‘बा’ पुस्ताले यति गरे । उहाँहरुलाई धन्यवाद दिउँ । अब हामीले चाहेको नेपाल हाम्रो पुस्ताले बनाउने हो । त्यसका लागि हाम्रो सपना देश छोडेर विदेश भासिने भएर हुँदैन । हाम्रो सपना, हाम्रो भिष्मप्रतिज्ञा देशको मुहार फेर्ने हुनुपर्छ । यो युगको कार्यभार हामी युवाहरुकै हो । हामी यो इतिहासको जिम्मेवारीबाट भाग्यौं भने हाम्रो सन्ततिले हामीलाई निश्चयनै धिकार्ने छ ।

राम्रो शिक्षा र अवसर नपाएको हाम्रो ‘बा’ पुस्ताले गरेको त्याग र तपस्याले पनि यतिधेरै परिवर्तन संभव भएको छ । हामी त धेरै अवसर पाएको पुस्ता हौं । हाम्रो पुस्ता आज राजनीतिमा निस्क्रिय छ । तर यो पुस्ता वैज्ञानिक बनेका छन् । डक्टर, इन्जिनियर बनेका छन् । हाम्रो पुस्ता रकेट बनाउन सफल भएको छ । स्याटलाइट बनाउन सफल भएको छ । प्लेन र गाडि बनाउन सफल भएको छ । आज विश्व बजारमा नेपाली युवाहरुको ब्रेन विकिरहेको छ । तर दुर्भाग्य हामी हाम्रै देशमा विकिरहेका छैनौं, किन ? किनभने हाम्रो पुस्ताले सबै काम गर्यो तर देश बनाउने राजनीतिमाथि हस्तक्षेप गर्ने साहास गरेन । त्यो नगरी देश बन्दैन । कुनै देश बनेको छ भने वेस्ट व्रेनहरु राजनीतिमा आएर भएको छ ।

हामी सक्षम युवाहरु, सपनाहरुले भरिएका युवाहरु राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेगरी जुट्न आवश्यक छ । त्यसो गरेर मात्र यो देशको भाग्य र भविस्य कोर्न सकिन्छ । यो देशलाई संसारको पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । वास्तवमा यो देशलाई विश्वको वास्तविक स्वार्ग बनाउन सकिन्छ । अब पुरानो पुस्तालाई देशको राजनीति छाडिदिएर देश बन्दैन । उहाँहरुले इतिहासमा गर्नुभएको योगदानको उच्च मूल्यांकन गर्दै अब ‘बा’ पुस्तालाई आराम गर्नुस् भन्नैपर्छ । हामी युवाहरु चुरोटको धुवाका सपनाहरु उडाएर बसिदिने हो भने, हुस्कि र वियरमा सपनाहरु पिइदिएर बसिदिने हो भने, खसी र कुखुरकाको सपेटासँगै सपनाहरुलाई लुछिदिएर बसिदिने हो भने देश कसरी बन्छ ? बन्दैबन्दैन । तर यदि हामी लाखौं युवाहरुले एकसाथ संकल्प गर्ने हो भने देश बन्छ । नेपाललाई हाम्रै पालामा, हाम्रै नेतृत्वमा, हाम्रै बुद्धि र पसिनामा विश्वको हब बनाउन सकिन्छ । समृद्धि र शान्तिको स्वर्ग बनाउन सकिन्छ ।


प्रकाशित : २०७८ कार्तिक ८, सोमबार १६:२४ गते

ताजा समाचार