माओवादी राष्ट्रिय सम्मेलन: प्रतिवेदन लेख्दै प्रचण्ड


काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त रहेका छन् । उनी नियमित भेटघाट घटाएर राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्न व्यस्त रहेका हुन् । स्वकीय सचिव रमेश मल्लका अनुसार उनी खुमलटारस्थित निवासमै बसेर प्रतिवेदन लेखिरहेका छन् ।

दाहालले आफ्नो प्रतिवेदनमा पार्टीले अंगीकार गरेको ‘एक्काइसौं शताब्दीको वैज्ञानिक समाजवाद’ को आर्थिक, राजनीतिक र सांस्कृतिक स्वरूपको विश्लेषण गर्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । त्यसबाहेक प्रतिवेदनमा समाजवाद निर्माणका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी’ निर्माणमा जोड दिने नीति आउनेछ । निकट नेताहरूका अनुसार प्रतिवेदनमा नयाँ वैचारिक, राजनीतिक संश्लेषणमार्फत नेपाली क्रान्तिलाई नयाँ उचाइमा उठाउने अवसर र चुनौती दुवै रहेको निष्कर्षसहित त्यसको कार्यान्वयनका लागि चाहिने संगठनात्मक संरचनाको खाका पनि प्रस्तुत हुनेछ ।

माओवादीको राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस ११–१३ सम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट गर्ने र बाँकी १ हजार ५ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादीले गरेको छ ।

नयाँ नेतृत्वसहित राजनीतिक र वैचारिक विषय टुंगो लगाउने राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्य स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै, प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते/अपांगहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय माओवादीले गरेको छ । केन्द्रीय कार्यालयबाट ५ प्रतिशत मनोनीतसहित केन्द्रीय विभागबाट ३/३ जना प्रतिनिधि हुनेछन् ।

भूगोलबाट निर्वाचित भएर ८ सय र केन्द्रीय पदाधिकारीबाट करिब ५ सय (केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट ३/३) जना राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुनेछन्, त्यसबाहेक केन्द्रीय कार्यालयले ५ प्रतिशत मनोनीत गरी बढीमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न माओवादीले देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको समिति गठन गरेको छ । यसबाहेक सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

सम्मेलनको व्यवस्थापनका लागि माओवादीले हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा, जगत सिंखडा रहेको व्यवस्थापन समिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।


प्रकाशित : २०७८ मंसिर २१, मंगलवार ०२:३० गते

ताजा समाचार