नेकपा एमालेको १६ नं. वडा अधिवेशन भव्य रुपमा उद्घाटन


काठमाडौं । नेकपा (एमाले) को काठमाडौं महानगरपालिका, वडा नं. १६ को एघारौं अधिवेशन उद्घाटन भएको छ । आज शनिवार राजधानीको बालाजुमा प्रमुख अथिति पार्टी स्थायी समिति सदस्य रघुजी पन्तको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको हो ।

अभिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पन्तले पार्टीलाई फलामको सिक्रीजस्तो बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीसंगठन अहिले बोरामा राखेको आलुजस्तो भएको छ । भुँइमा खन्याउने वित्तिकै एक–अर्कामा जोडिदैन । तर फलामको सिक्री हेर्नुस् त आफसमा कति बलियो गरी जोडिएको हुन्छ । एक अर्कामा छुट्दैछुट्दैन । अब एमाले पार्टीलाई पनि फलामको सिक्रीजस्तो बनाउन आवश्यक छ । उहाँले एमाले पार्टी जनताको घरदैलोमा जरा गाडिएको पार्टी भएकोसमेत बताउनुभयो । जसरी माटोमा धेरै तलसम्म जरा गाडिएको रुखलाई आधुहुरीले ढाल्न सक्दैन, त्यसैगरी जनतामा जरा गाडेको पार्टीलाई पनि कसैले ढाल्न सक्दैन । एमाले जनतामा जरा गाडेको पार्टी हो ।’ उहाँले नेता–कार्यकर्तालाई अध्ययनमा जोड दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्यूरो सदस्य आनन्द पोखरेलले १६ नम्बर वडा एमालेको पैतृक थलो भएको दावी गरे । एमालेले चुनावलाई वर्गसंघर्षका रुपमा लिएको बताउँदै उहाँले पुँजीवादी शक्तिको पार्टी कांग्रेस र समाजवादी शक्तिको पार्टी एमाले भएको बताउनुभयो । एमालेले समाजवादी व्यवस्थाका लागि चुनावलाई वर्गसंघर्षका रुपमा प्रयोग गरेको उहाँको दावी थियो ।

अर्का पोलिटव्यूरो सदस्य रामेश्वर फुयालले जबजको आधारमा समाजवादमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा धेरै वक्ता राख्ने संस्कृतिको आलोचना गर्दै अबदेखि ५ जना मात्रै वक्ता राख्ने गरौं भन्ने प्रस्ताव गर्नुभएको थियो । साथै आफ्नो नाम ६ नम्बरमा परे कटाइदिन आग्रह गरेका थिए । त्यसैगरी चुनावमा पार्टीभित्र जनमत संग्रह गरेर उम्मेदवार छान्नुपर्नेमा उहाँको जोड थियो ।

 कार्यक्रममा बोल्दै बागमति प्रदेशका उद्योग, बाणिज्य तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले १६ नम्बर वडामा एमालेको विगतको विरासत फर्काउन आवश्यक भएको र त्यसका लागि आफ्नो तर्फबाट सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जबजमा आधारित भएर युवाहरुलाई नेतृत्वमा विकास गरनउनुपर्नेमा उहाँको जोड थियो ।

यसै वडाका स्थापित तथा जनप्रिय नेता, पार्टीका महानगरका सचिवालय सदस्य जीवन मानन्धरले एघारौं अधिवेशन उद्घाटन समारोहलाई स्वागत गर्दै २०८४ मा एमालेको बहुमतको सरकार पार्टीको एकमात्रै लक्ष्य भएको बताउनुभयो । जबजको मार्गदर्शन सिद्धान्तलाई आत्मसाथ गरेर मात्रै त्यो लक्ष्यमा पुग्न सकिने उहाँको दावी थियो ।

कार्यक्रममा अतिथिमा रुपमा पार्टीका केन्द्रीय सदस्य तथा महानगरका पूर्व मेयर विद्यासुन्दर शाख्यलगायतका प्रदेशस्थतरी र जिल्लास्तरीय अन्य नेतृत्वहरुको समेत उपस्थिति थियो । कार्यक्रमको संचालन युवा नेता तथा १६ नम्बर वडाका सचिव जयप्रकाश श्रेष्ठले गर्नुभएको थियो । अधिवेशन उद्घानमा वडा नं. १६ का नेता–कार्यताको भव्य उपस्थिति थियो ।


प्रकाशित : २०८० चैत्र २४, शनिबार १९:४४ गते

ताजा समाचार