तीन करोड रुपैयाँमा ठेक्कामा लगाइएको बुद्धचित्तको रुख अज्ञात समूहले काटे


काठमाडाैँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन् ।

रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।

बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । स्थानीय ठाकुरानी तामाङ र शेरबहादुर तामाङको स्वामित्वमा रहेको सो बुद्धचित्तको रुख काभ्रे जिल्लामा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको थियो ।

उक्त बुद्धचित्तको रुख केही महिनाअघि ३ करोड रुपैयाँ ठेक्कामा लगाएको रुखका धनी शेरबहादुर तामाङले बताएका छन् । उनले उक्त रुख ३ महिनाअघि नै समिर त्रिपाठीलाई ठेक्कामा लगाएको बताए । गत वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको र यसपटक वार्षिक ३ करोड रुपैयाँ पाउने गरि ठेक्का लगाएको उनको भनाइ छ ।

दुईवटा समूहको बिचमा पैसाको विवाद हुँदा अर्को समूहले मान्छे प्रयोग गरेको र तेस्रो पक्षले पैसाको बार्गेनिङ गरेर रुख काटेको हुनसक्ने आकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी वसुन्धरा खड्का नेतृत्वको टिमले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

गएराति २ बजेतिर ७ जनाको समूह गएर इलेक्ट्रिक आरोले रुख काटेर बम झुन्ड्याएर भागेको बताइएको छ ।


प्रकाशित : २०८० चैत्र ३०, शुक्रबार १२:२४ गते

ताजा समाचार