अस्थिरता रोक्न कांग्रेससँग मिल्यौँ, संविधान संशोधनको सहमति भएको छैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन्।

बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताएका हुन्।

उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताए। उनले निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए। उनले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्दै आयोग बन्ने भन्ने कुरा नभएको बताए

उनले राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गरे। उनले एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको बताए। उनले प्रदेशहरुमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र काँग्रेस मिलेको बताए।

उनले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरु मिलेको बताए। उनले वार्थलाई अग्र भागमा भएको र संघीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताए। उनले संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिए।

उनले भने, ‘अनुभवहरुले के कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ। कसैको नेतृत्वमा आयोग बनेको छैन। कसैको नेतृत्वमा आयोग बन्ने भन्नेकुरा केही पनि भएको छैन। मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संवद्र्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो।’

अध्यक्ष ओलीले संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकूल परिमार्जन हुने बताए।


प्रकाशित : २०८१ असार २७, बुधबार १४:१० गते

ताजा समाचार