ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- मलाई राउण्ड किक हानेको भनेछन्, राउण्ड किक कस्तो हुन्छ तिनले देख्छन्


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर गर्नुपर्ने बताएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवस कार्यक्रममा उनले ‘जनयुद्ध’ वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको उल्लेख गरे । यस्तो अवस्थामा सरकारमा रहेका दलका नेताहरूले हिंसा भन्ने दुष्साहस गरेको भन्दै उनले जनतामा गएर भन्डाफोर गर्नुपर्नेमा जोड दिए ।

सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर उक्त संघर्षमाथि धावा बोल्ने छुट कसैलाई नभएको उनले बताए ।

प्रधानमन्त्री (केपी शर्मा ओली)ले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर बोलेको आफूले सुनेको उनले उल्लेख गरे । अब जनताको राउन्ड किक उनीहरूले देख्ने प्रचण्डको भनाइ छ ।

“प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले,” उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले (केपी ओली) त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु ।

‘जनयुद्ध’का महान् सहिदलाई सम्मान गर्ने विषयमा पार्टीले निरन्तर काम गरिरहेको उनले स्पष्ट पारे । टीआरसी विधेयक पारित भएपछि ‘जनयुद्ध’लाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्न रोक्न नहुने र अदालतले पनि पुनर्विचार गर्ने उनले विश्वास व्यक्त गरे ।

आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन उनले आग्रह गरे । सरकारबाट बाहिरिएसँगै संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको उनले बताए ।

परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादती र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।


प्रकाशित : २०८१ भाद्र २०, बिहीबार ११:४१ गते

ताजा समाचार