सहकारी ठगीमा रविको संलग्नता रहेको छानबिन समितिको ठहर, आजै संसद्‌मा प्रतिवेदन बुझाइने


काठमाडाैं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गरेपछि आज (सोमबार) संसद्लाई बुझाउने तयारी छ ।

समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेको भेटिएको हो ।

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समिति स्रोतले जनाएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको समितिको ठहर छ । योसँगै रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा ११ बजे हस्ताक्षर हुँदै छ ।

जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । समितिको सभापतिमा एमालेका सांसद सूर्य थापा छन् । समितिले जेठ २३ देखि काम थालेको हो ।

सात सदस्यीय समितिमा सभापति थापासहित सरिता भुसाल, दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य छन् ।


प्रकाशित : २०८१ भाद्र ३१, सोमबार १०:५८ गते

ताजा समाचार