ऐतिहासिक बहस: नेपालमा समाजवाद कस्तो र कसरी ?


नेपालमा समाजवादको राजनीति कमजोर बन्दै गएको थियो । २०७२ पुष २६ गते काडमाडौँको पद्मकन्य क्याम्पसको डेनिस हलमा नेपालमा समाजवाद कस्तो र कसरी ? शीर्षकमा बहस कार्यक्र आयोजना गरियो । यो बहस कार्यक्रम रमेश सुनुवारले केपाली क्रान्तिको कार्यक्रम शीर्षको कार्यपत्र पेश गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्न विभिन्न विद्वान मित्रहरुको उपस्थिति थियो । समय अभावले कार्यपत्रमाथिको आलोचना र उठेका प्रश्नहरुको जवाफ कार्यपत्र प्रस्तोताले त्यहाँ दिन पाउनुभएन । त्यसपछि कार्यक्रमको व्याख्यासहित र कार्यपत्रमाथि उठाएका प्रश्नहरुको जवाफसहित यो एउटा पुस्तक तयार भयो- नेपालमा समाजवाद कस्तो र कसरी ? त्यही पुस्तकको प्रमुख विषय यहाँ प्रस्तुत गरिएको छ ।

रमेश सुनुवारद्वारा प्रस्तुत कार्यपत्र ‘नेपाली क्रान्तिको कार्यक्रम’

…………………………………………….

पृष्ठभूमि

विश्वमा सर्वोच्च शिखर सगरमाथाको देश, एसियका तारा गौतम बुद्धको देश र अदम्य साहसी वीर गोरखालीको देश भनेर चिनिएको नेपालका आफ्नै विशेषताहरु छन् । भू–परिवेष्ठित देशको रुपमा विश्वका विशाल देशहरु चीन र भारतको विचमा अवस्थित हुनु यसको भू–राजनीतिक (नभय(उयष्तिष्अब)ि विशेषता हो । पूर्व–पश्चिम लम्बाइ र उत्तर–दक्षिणको चौडाइ आयताकारमा फैलिएको नेपालको सम्पूर्ण भू–भाग हिमाल, पहाड र तराइ तीन भागहरुमा विभाजित छ । यो भौगोलिक विशेषताको कारण शीत, शीतोष्ण र उष्ण तीनै प्रकारका हावापानी पाइन्छ । फलस्वरुप नेपालमा असंख्य वनस्पतिहरु र प्रणीहरुको अस्तित्व रहको छ । यो जैविक विविधता नेपालको अर्को महत्वपूर्ण विशेषता हो । यिनै प्राकृतिक सौन्दर्यको आधारमा यसलाई ‘एसियाको स्विट्जरल्याण्ड’ भन्ने उपमा दिइएको छ ।

 

प्राकृतिमा जस्तै समाजमा पनि विविधता नै नेपालको विशेषता हो । यहाँ प्राचीन कालदेखि आर्य मूलका र मंगोल मूलका मानिसहरु बस्दै आएका छन् । यहाँ सामाजिक विविधताको आधारमा नेपाललाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भन्ने उपमा दिइएको थियो । बहुजाति, बहुभाषा तथा बहुसंस्कृतिको संगमबाट यहाँको सामाजिक सौन्दर्य निर्मित भएको छ ।

यी भौगोलिक तथा सामाजिक विशेषताहरुको अतिरिक्त नेपालमा प्राकृतिक सम्पदाको प्रचुरता पनि पाइन्छ । जल सम्पदामा नेपाल विश्वकै दोस्रो देश हो । यसैगरी खनिज सम्पदामा पनि नेपाली भूमि धेरै सम्पन्न देखिन्छ । यहाँ औद्योगिक दृष्टिकोणबाट महत्वपूर्ण मानिने फलाम, तामा, सीसा, अभ्रख, म्याग्नासाइट, सुन, चाँदी, पत्थरकोइला, प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थका खानीहरु रहेका छन् ।

प्राकृतिक सौन्दर्यको रुपमा रहेका हिमालहरुमध्ये अधिकांश नेपालमा पर्दछन् र विश्वको सार्वोच्च शिखर सगरमाथा पनि यही छ ।

अटुट प्रवाहमान तीन ठूला नदीहरु सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीद्वारा तथा अन्य धेरै नदीहरुद्वारा सिंचित नेपालको भूमि अत्यन्तै उर्वर छ । यहाँका तीन भागहरुमध्ये हिमाल जडीबुटीको भण्डार, पहाड फलफूूलको भण्डार र तराइ अन्नको भण्डारको रुपमा प्रसिद्ध छन् । यहाँ तरकारी तथा नगदे बालीहरुको प्रचुुर संभावना छ । चीया, कफी, अलैंची, अदुवा, उखु र सुर्तीजस्ता नगदे बालीहरु प्रशस्त उत्पादन हुन्छन् ।

त्यसैगरी करिब ३००० वर्षको लामो इतिहास बोकेको नेपाली भूमिमा प्राचीन कालदेखि विश्वप्रसिद्ध महान विभूतिहरु जन्मिएका छन् । दार्शनिक राजा जनक, आदर्र्श नारी सीता र भृकुटी, शान्तिका अग्रदूत गौतम बुद्ध, महान कलाकार अरनिको, वीर योद्धा अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा, महाकवि लक्ष्मीप्रसाद देवकोटा, तेञ्जिड शेर्पा, आदिको योगदानबाट नेपालको गौरब विश्वस्तरमा पुगेको छ ।

तर पनि, नेपालले आफ्ना यी विशेषताहरुबाट कुनै लाभ लिन सकेको छैन । परिणामस्वरुप आज विश्वमा नेपाल पिछडिएको छ, गरीब देशहरुको श्रेणीमा परेको छ र नेपालीहरु जीवन–निर्वाहको लागि विदेशिनु परेको छ ।

यसको कारण उपयुक्त सामाजिक तथा राजनीतिक व्यवस्थाको अभाव हो । उपयुक्त सामाजिक तथा राजनीतिक व्यवस्था भएमा नेपालले आफ्ना सम्पूर्ण विशेषताहरुबाट प्रशस्त लाभ लिनसक्दछ र आफूलाई तीव्र गतिमा अगाडि बढाउन तथा विकसित देशहरुको श्रेणीमा पु¥याउन सक्दछ ।

त्यसकारण आज नेपाललाई उपयुक्त सामाजिक तथा राजनैतिक व्यवस्थाको मात्र आवश्यकता छ । त्यसलाई जान्नु र स्थापित गर्नु सम्पूर्ण मुक्तिकामी नेपाली जनताको आजको प्रमुख कार्यभार हो ।

विषय प्रवेश

नेपाल विश्वको एउटा भाग हो र नेपाली क्रान्ति विश्वक्रान्तिको एउटा अंश हो । त्यसकारण अब नेपाली क्रान्तिको कार्यक्रम वर्तमान विश्वको परिवेश र नेपालको परिवेश दुवैलाई विचार गरेर मात्र बन्नसक्दछ । त्यसको लागि सर्वप्रथम वर्तमान विश्वको परिवेश र नेपालको परिवेशलाई अगवत गर्नु आवश्यक छ ।

१. वर्तमान विश्वको परिवेश

आज हामी एउटा नयाँ संसारमा छौ । माक्र्सवादको उदय भएको करिब १७५ वर्ष पुगिसकेको छ । यसबीचमा दुनियाँमा धेरै परिवर्तनहरु भइसकेका छन् । ती परिवर्तनहरुमध्ये प्रमुख यस प्रकार छन्– १) उत्पादक शक्तिमा परिवर्तन, २) पूँजीवादको स्वरुपमा परिवर्तन, ३) समाजवादको पुरानो प्रारुपको अन्त्य र ४) संघर्ष वा क्रान्तिका पुराना विधिहरु प्रभावहीन ।

१) उत्पादक शक्तिमा परिवर्तन

उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास वर्तमान युगको सर्वाधिक महत्वपूर्ण तथा निर्णायक परिवर्तन सिद्ध भएको छ । यसले मानव समाजको आधारभूत संरचनालाई बदलेको छ । उदाहरणको लागि, मानव श्रम–शक्ति उत्पादन क्षेत्रबाट विस्थापित भएको छ, समाजको वर्गीय संरचना बदलिएको छ, अर्थात सर्वहारा वर्ग र पुँजीपति वर्गको संख्या घटेको छ र मध्यम वर्गको संख्या बढेको छ, र मानव समाज अन्तर्सम्बन्धित भएर विश्वग्रामको सृजना भएको छ । यसैगरी यसबाट मानव सभ्यतामा अभूतपूर्व विकास भएको छ, जुन मात्रात्मक, गुणात्मक तथा गत्यात्मक सबै दृष्टिबाट अद्वितीय छ ।

२) पुँजीवादको स्वरुपमा परिवर्तन

आफ्नो उदयदेखि सन १९४५ सम्म पुँजीवादले तीन चरण पार गरिसकेको थियो । ती चरणहरु थिए– (१) संरक्षणवादी पुँजीवादको चरण, जसलाई व्यापारिक पुँजीवाद भनिन्थ्यो, (२) प्रतिस्पर्धी पुँजीवादको चरण, जसलाई औद्योगिक पुँजीवाद भनिन्थ्यो, र (३) एकाधिकारी पुँजीवादको चरण, जसलाई वित्तीय पुँजीवाद भनिन्थ्यो । लेनिनले एकाधिकारी पूँजीवादलाई, जुन साम्राज्यवादको रुपमा प्रकट भएको थियो, पूँजीवादको अन्तिम चरण भनेका थिए । तर त्यसमा पुँजीवादको अन्त्य भएन । सन १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्य भएपछि पुँजीवादले नयाँ चरणमा, जुन यसको चौथो चरण हो, प्रवेश गरेको छ । यो चरणमा पुँजीवाद एकीकृत पूँजीवाद बनेको छ, जुन अहिले भूमण्डलीकृत पूँजीवादको रुपमा विश्वमा व्याप्त छ । यसको आधार विज्ञान–प्रविधि हो, त्यसकारण यसलाई वैज्ञानिक–प्राविधिक पूँजीवाद भन्नसकिन्छ । बहुराष्ट्रिय तथा पराराष्ट्रिय कम्पनी र निगमको माध्यमबाट एकीकृत पूँजीवादको आगमनपछि सम्पूर्ण पूँजीपति वर्गहरु एकाकार भएका छन् । फलस्वरुप राष्ट्रिय पूँजीपति वर्गको अस्तित्व समाप्त भएको छ । किनभने त्यसले अब भूूमण्डलीकृत पुँजीवादसँग प्रतिस्पर्धा गरेर आफ्नो अस्तित्व कायम राख्नसक्दैन । त्यसकारण ऊ त्यसैमा समाहित भएको छ । एकाधिकारी पूँजीवादको चरणमा राष्ट्रिय पुँजीपति वर्ग साम्राज्यवादबाट उत्पीडित हुन्थ्यो, त्यसकारण ऊ केही हदसम्म क्रान्तिकारी हुन्थ्यो । तर अब ऊ भूमण्डलीकृत पूँजीवादकै अंग भएको हुँदा क्रान्तिकारी छैन, बरु क्रान्तिविरोधी छ । अहिले सम्पूर्ण देशहरुका पूँजीपतिहरुको बहुराष्ट्रिय तथा पराराष्ट्रिय कम्पनीहरु तथा निगमहरुमा शेयर छ, जुन भूमण्डलीकृत अन्तर्राष्ट्रिय पूँजीवादका संस्थाहरु हुन् ।

३) समाजवादको पुरानो प्रारुपको अन्त्य

सन १९१७ मा सम्पन्न समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघको समाजवाद सन १९९१ मा पतन भएपछि समाजवादको एउटा प्रारुपको अन्त्य भएको छ । त्यो समाजवादको प्रारुप मानव श्रम–शक्तिमा आधारित, राज्यनियन्त्रित र राज्यको स्वामित्वमा आधारित थियो । त्यो अब अनुभवबाट असान्दर्भिक भइसकेको छ ।

४) संघर्ष र क्रान्तिका पुराना विधिहरु प्रभावहीन

त्यसैगरी सामाजिक परिवर्तनको लागि प्रयोग गरिएका विद्यमान पुराना विधिहरु पनि अहिले प्रभावहीन सिद्ध भएका छन् । ती विधिहरु हुन– (१) सशस्त्र संघर्ष, (२) जनआन्दोलन र (३) निर्वाचन ।

विगतमा एकमात्र अचूक साधनको रुपमा मानिएको सशस्त्र संघर्ष अहिले प्रभावहीन भएको छ र कही पनि यसबाट लक्ष्य प्राप्त हुनसकेको छैन । उदाहरणको लागि, भारतको नक्सलबाडी सशस्त्र संघर्ष, पेरुको साइनिङपाथको सशस्त्र संघर्ष र नेपालको माओवादी जनयुद्ध आफ्नो लक्ष्य प्राप्त गर्न सफल भएनन् ।

अहिले विश्वमा जनआन्दोलन पनि सफल भएका छैनन् । उदाहरणको लागि, थाइल्याण्डमा रातोसर्टधारी आन्दोलन, नेपालमा माओवादीद्वारा आह्वान गरिएको आमहड्ताल, आदि ठूलो जनसहभागिताको बावजुद असफलतामा टुंगिए ।

त्यसैगरी निर्वाचनबाट पनि अहिले विश्वमा सामाजिक परिवर्तनको लागि सफलता प्राप्त भइरहेको छैन । युरोपेली कम्युनिष्टहरु, भारतीय कम्युनिष्टहरु र नेपाली कम्युनिष्टहरु तथा ल्याटिन अमेरिकी बामपन्थीहरुले निर्वाचनको माध्यमबाट केही अांशिक सफलता मात्र प्र्राप्त गरेका छन्, तर मूल लक्ष्य प्राप्त हुनसकेको छैन ।

यसप्रकार आज हामी उपर्युक्त विश्व–परिवेशको सामु उभिएका छौं ।

२. वर्तमान नेपालको परिवेश

नेपाली समाज २००७ सालको परिर्वतनदेखि निरन्तर क्रान्तिको प्रक्रियामा छ । तर त्यसको बावजुद यहाँ आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा आमूल परिवर्तन हुनसकेको छैन । करिब उही समयमा स्वाधीन बनेका दुई छिमेकी देशहरु चीन र भारत आज विश्वमा शक्तिशाली देशको रुपमा स्थापित भइसकेका छन् । तर नेपाल अहिलेसम्म पिछडिएको अवस्थामा रहिरहेको छ । त्यसकारण यहाँ क्रान्ति तथा प्रतिक्रान्तिको क्रम रोकिएको छैन । र, जनताको क्रान्ति जारी छ ।

नेपालको वर्तमान परिवेशलाई यसरी चित्रण गर्न सकिन्छ– १) पूँजीवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल, २) नयाँ जनवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल, ३) नेपाली समाजको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी र ४) बाह्य अवस्थामा परिवर्तन ।

१) पूँजीवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल

नेपालमा पूँजीवादी क्रान्तिको लागि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरु २००७ सालमा, २०४६ सालमा र २०६२–६३ सालमा भएका थिए । तर केही आंशिक उपलब्धिहरुको बावजुद तिनीहरु असफल भए । पहिलो प्रयत्नबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भयो, दोस्रो प्रयत्नबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भयो र तेस्रो प्रयत्नबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यी आंशिक सफलताहरु थिए । तर ती सबै प्रयत्नहरुबाट मूल लक्ष्य प्राप्त हुनसकेन । त्यो हो– पूँजीवादी व्यवस्थाको स्थापना र विकास ।

२) नयाँ जनवादी क्रान्तिको लागि भएका प्रयत्नहरु असफल

नेपालमा नयाँ जनवादी क्रान्तिको लागि पनि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरुमध्ये पहिलोे नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी कार्यक्रम अगाडि सारेर भएको थियो, दोस्रो नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा बहुदलीय जनवादको कार्यक्रम लगाडि सारेर भएको थियो र तेस्रो नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा जनयुद्धको कार्यक्रम अगाडि सारेर भएको थियो । तिनीहरुबाट केही आंशिक उपलब्धिहरु भए, तर मूल लक्ष्य प्राप्त भएन । त्यो हो– नयाँ जनवादी व्यवस्थाको स्थापना र विकास ।

३) नेपाली समाजाको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी

नेपाली समाजको स्वरुप अहिले पनि अर्ध–सामन्ती र अर्ध–उपनिवेशी नै छ । नेपाली समाजको आरम्भ गोत्र तथा कबिला अवस्थाबाट भएको थियो र सामन्तवादसम्म विकसित भएको थियो । तर आफ्नो विकासको क्रममा यो सामन्तवादबाट पूँजीवादमा नपुगी अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्थामा रोकिएको छ । नेपाल–अंग्रेज युद्धको परिणामस्वरुप सुगौली सन्धि भएपछि नेपालले अर्ध–सामन्ती र अर्ध–उपनिवेश अवस्थामा प्रवेश गरेको हो ।

नेपाल अर्ध–सामन्ती र अर्ध–उपनिवेशी हुनुको कारण के हो भने यहाँ उत्पादक शक्ति अहिले पनि मूलतः जमिन नै रहेको छ र निर्वाहमुखी अर्थतन्त्रको प्रधानता छ, जुन सामन्तवादको आधार हो । केही मात्रामा पूँजीको विकास त भएको छ, तर त्यो प्रमुख उत्पादक शक्ति बनिसकेको छैन । त्यसैगरी यहाँ विदेशी साम्राज्यवादी–विस्तारवादी शक्तिहरुको हस्तक्षेप कायमै छ । आयात तथा पारवान सुविधा नपाउनु यसको ज्वलन्त उदाहरण हो ।

केही मानिसहरुले नेपाली समाज अब अर्ध–सामन्ती र अर्ध–उपनिवेशी रहेन, पूँजीवादी भइसकेको छ भन्ने दावी गर्दछन् । तर उनीहरुको यो दावीमा कुनै सत्यता छैन । किनभने तिनै मानिसहरु, जसले यस्तो दावी गर्दछन्, जब सरकारमा पुग्दछन् र कुनै जनपक्षीय काम गर्न सक्दैनन्, तब जनतासामु आएर अलाप–विलाप, हार–गुहार र रोइ–कराइ गर्दछन्– “ताला–चाबी त अन्तै पो रहेछ, हाम्रो हातमा त केही पनि रहेनछ !”

४) बाह्य अवस्थामा परिर्वतन

नेपाली समाजको स्वरुप अर्ध–सामन्ती र अर्ध–उपनिवेशी नै रहेको भएता पनि यसको बाह्य अवस्था बदलिएको छ । अन्तर्राष्ट्रिय पूँजीवाद अहिले एकीकृत पूँजीवाद अथवा भूमण्डलीकृत पूँजीवादमा रुपान्तरित भएको छ, जसमा विश्वका सम्पूर्ण पूँजीपति वर्गहरु एकाकार भएका छन् । अब राष्ट्रिय पूँजीपति वर्गको अस्तित्व समाप्त भएको छ ।

३. नेपाली क्रान्तिको कार्यक्रम

यसरी वर्तमान विश्वको परिवेश र नेपालको परिवेश दुुबैलाई विचार गरिसकेपछि नेपाली क्रान्तिको कार्यक्रमलाई यसप्रकार सूत्रबद्ध गर्नसकिन्छ १) नेपाली क्रान्तिको लक्ष्य समाजवादलाई बनाउने, २)उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिलाई मान्ने, ३) संघर्ष वा क्रान्तिको विधि समाजवादको निमार्णलाई बनाउने र, ४) समाजवादको नयाँ प्रारुप प्रस्तुत गर्ने ।

१) नेपाली क्रान्तिको लक्ष्य समाजवादलाई बनाउने

नेपाली क्रान्तिको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने नेपालमा पूँजीवादी क्रान्ति हुनसक्दैन । त्यसैगरी नेपाली कम्युनिष्ट आन्दोलनको सिंहावलोकनबाट के स्पष्ट हुन्छ भने यहाँ नयाँ जनवादी क्रान्ति पनि हुनसक्दैन ।

नेपालको आन्तरिक पक्षको आधारमा नेपाली क्रान्तिको लक्ष्य नयाँ जनवाद नै हुन्थ्यो तर यसको बाह्य पक्षमा आएको परिवर्तनले नयाँ जनवादी क्रान्ति सम्भव छैन । कुनै पनि क्रान्तिको लागि आन्तरिक पक्ष मात्र निर्णायक हुँदैन, बाह्य पक्ष पनि त्यतिकै महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय पूँजीवाद अहिले एकीकृत पूँजीवाद वा भूमण्डलीकृत पूँजीवादमा रुपान्तरित भएको छ, जसमा विश्वका सम्पूर्ण पूँजीपति वर्गहरु एकाकार भएका छन् । फलस्वरुप राष्ट्रिय पूँजीपति वर्गको अस्तित्व समाप्त भएको छ । त्यसकारण अब राष्ट्रिय पूँजीपति वर्गसँग संयुक्तमोर्चा बनाएर राष्ट्रिय पूँजीपति वर्गलाई मुक्त गर्ने क्रान्ति हुनसक्दैन, जुन नयाँ जनवादी क्रान्ति हो ।

एकाधिकारी पूँजीवादले पूँजीवावादी क्रान्ति हुन दिंदैनथ्यो, त्यसकारण चीनमा पूँजीवादी क्रान्ति हुनसकेन । अब एकीकृत पूँजीवादले नयाँ जनवादी क्रान्ति हुन दिंदैन, त्यसकारण नेपालमा नयाँ जनवादी क्रान्ति हुनसक्दैन । अब नेपाली क्रान्तिको लक्ष्य समाजवाद नै हुन्छ । किनभने वर्तमान भूमण्डलीकृत पूँजीवादको विकल्प भूमण्डलीकृत समाजवाद मात्र हुनसक्दछ । समाजवाद भन्दा तलको कार्यक्रमले वर्तमान पूँजीवादको मुकाविला गर्न सक्दैन । त्यसैगरी वर्तमान नेपाली समाजको पिछडिएको उत्पादक शक्तिलाई समाजवादी कार्यक्रमद्वारा मात्र विकसित गर्नसकिन्छ । अर्थात् सामूहिक, अन्तर्सम्बन्धित र योजनाबद्ध प्रयत्नबाट मात्र पिछडिएको नेपाली अर्थतन्त्र र समाजको प्रगति हुनसक्दछ ।

२) उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिलाई मान्ने

वर्तमान युगको प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि हो । यसैको आधारमा वर्तमान पूँजीवादले आफूलाई शक्तिशाली बनाएको छ र आफ्नो मृत्युलाई केही पर सार्न सफल भएको छ । त्यसकारण अब विज्ञान–प्रविधिलाई उत्पादक शक्ति नबनाई वर्तमान एकीकृत पूँजीवादलाई पराजित गर्न संभव हुँदैन र समाजवादी व्यवस्था पनि सफल हुँदैन । मानव श्रम–शक्तिमा आधारित समाजवादले न त पूँजीवादलाई उछिन्न सक्छ र न समाजको आवश्यकता नै पूरा गर्नसक्छ । अब विज्ञान–प्रविधिको वर्तमान उपलब्धिबाट समाजवाद संभव देखिएको छ ।

३) संघर्ष वा क्रान्तिको विधि समाजवादको निर्माणलाई बनाउने

यो विषयका तीन अर्थहरु छन् ः (१) संघर्षका पुुराना विधिहरु सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचनको स्थानमा समाजवादको निर्माणलाई प्रयोग गर्ने, (२) समाजवादको निर्माण क्रान्तिपूर्व गर्ने र (३) विद्यमान पुरानो व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसभन्दा बाहिर रहेर संघर्ष गर्ने ।

(१) संघर्षको पुराना विधिहरु सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचनको स्थानमा समाजवादको निर्माणलाई प्रयोग गर्ने–

संघर्ष वा क्रन्तिका पुराना विधिहरु– सशस्त्र संघर्ष, जनआन्दोलन र निर्वाचन– अहिले प्रभावकारी हुनसकेका छैनन् । त्यसकारण अब यी विधिहरुलाई निर्णायक क्षेणमा मात्र प्रयोग गर्नुपर्दछ र त्यसभन्दा पहिले पुरानो व्यवस्थाको विरुद्ध नयाँ व्यवस्थाको निर्माण समानान्तर रुपमा गर्नुपर्दछ । फलस्वरुप पुरानो व्यवस्था विस्थापित हुने अवस्था सृजना हुन्छ र क्रान्तिकारी शक्तिहरुलाई सशक्त तथा सुदृढ हुने आधार बन्दछ ।
(२) समाजवादको निर्माण क्रान्तिपूर्व गर्ने–
अहिलेसम्म समाजवादको निर्माण कार्य क्रान्ति सम्पन्न भएपछि मात्र गर्ने नीति अवलम्बन गरिएको थियो । तर यसलाई अब क्रान्ति सम्पन्न हुनुभन्दा पहिले नै आरम्भ गर्नुपर्दछ, जसबाट क्रान्तिको लागि सहज अवस्था सृजना हुन्छ । पुरानो व्यवस्थाको समानान्तरमा नयाँ व्यवस्था निर्माण भएपछि पुरानो व्यवस्था कमजोर बन्दै जान्छ र नयाँ व्यवस्था समृद्ध र बालियो बन्दै जान्छ । फलस्वरुप सामाजिक क्रान्तिको माध्यमबाट पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको प्रतिष्ठापन हुन्छ ।

(३) विद्यमान पुरानो व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसभन्दा बाहिर रहेर संघर्ष गर्ने–

पहिले पुरानो व्यवस्थाको विरुद्ध संघर्ष गर्दा त्यसभित्र रहेर गर्ने गरिन्थ्यो । किनभने क्रान्तिकारी शक्ति पुरानो व्यवस्थाभित्र हुन्थ्यो । तर अहिले उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास भएपछि श्रमिकहरु उत्पादन क्षेत्रबाट विस्थापित भएका छन् । त्यसकारण अब पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न संभव छैन । त्यसभन्दा बाहिर रहेर त्यसलाई प्रहार गर्नुपर्दछ ।

यसरी समानान्तर व्यवस्थाको रुपमा समाजवादको निमार्ण गर्नको लागि ५ तत्वहरुको आवश्यकता पर्दछ: (१) विचारधारा, (२) संगठन, (३) अर्थतन्त्र, (४) सेना र (५) राजनीतिक सत्ता । यी साधनहरुको निमार्ण गरेर यिनीहरुको आधारमा समाजवादको निर्माण गर्नसकिन्छ ।

४) समाजवादको नयाँ प्रारुप प्रस्तुत गर्ने

नेपाली क्रान्तिको लक्ष्य समाजवाद हो । तर यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ हुनुपर्दछ । यो नयाँ समाजवादका तीन विशेषताहरु हुनेछन् ः (१) विज्ञान–प्रविधिमा आधारित समाजवाद, (२) समाजनियन्त्रित समाजवाद र (३) समाजिक स्वामित्वमा आधारित समाजवाद ।

(१) विज्ञान–प्रविधिमा आधारित समाजवाद–

विगतमा समाजवाद मानव श्रम–शक्तिमा आधारित थियो, किनभने त्यसबेला मानव श्रम–शक्ति नै प्रमुख उत्पादक शक्ति थियो । तर अहिले त्यसको स्थान विज्ञान–प्रविधिले लिएको छ । त्यसकारण अब समाजवाद पनि विज्ञान–प्रविधिमै आधारित हुनु पर्दछ । मानव श्रम–शक्तिमा आधारित समाजवादले विज्ञान–प्रविधिमा आधारित वर्तमान भूमण्डलीकृत पूँजीवादलाई पराजित गर्नसक्दैन ।

(२) समाजनियन्त्रित समाजवाद–

नयाँ समाजवादको अर्को विशेषता समाजनियन्त्रित हुनु हो । विगतको पुरानो समाजवाद राज्यनियन्त्रित थियो र पूँजीवाद पूँजीपति वर्गद्वारा नियन्त्रित हुन्छ । यसको विपरित, नयाँ समाजवाद समाजको नियन्त्रणमा हुनेछ । जसरी प्रकृतिमा इकोसिस्टमको रुपमा प्राकृतिक तत्वहरुको सम्बन्ध तथा अन्तर्निभरताबाट सन्तुलन स्थापित भएको हुन्छ, त्यसैगरी समाजमा पनि सामाजिक समूहहरुको सम्बन्ध तथा अन्तर्निभरताबाट सामाजिक नियन्त्रण र सन्तुलन स्थापित हुन्छ ।

नयाँ समाजवादमा समाजका संघटकको रुपमा संगठित सामाजिक समूहहरुको परस्पर सम्बन्ध र निर्भरताबाट सामाजिक नियन्त्रण स्थापित हुन्छ । यसको राजनीतिक व्यवस्था संसदीय व्यवस्था हुँदैन, जुन प्रतिनिधिमूलक व्यवस्था हो । यो प्रत्यक्ष जनसहभागितामूलक व्यवस्था हुन्छ । यसमा प्रतिनिधिमूलक निकाय संयोजक वा समन्वयकर्ता मात्र हुन्छ र प्रत्यक्ष जनसहभागितामूलक निकाय कार्यकारी हुन्छ ।

(३) सामाजिक स्वामित्वमा आधारित समाजवाद–

विगतको समाजवाद राज्यको स्वामित्वमा आधारित थियो र पुँजीवाद निजी स्वामित्वमा आधारित हुन्छ । तर नयाँ समाजवाद समाजको स्वामित्वमा आधारित हुनेछ । समाजको आवश्यकताको आधारमा विभिन्न सामाजिक समूहहरुको निर्माण भएको हुन्छ । उदाहरणको लागि, किसान समूह, मजदूर समूह, व्यापारी समूह, आदि । तिनै सामाजिक समूहहरु वास्तविक स्वामित्वका पात्रहरु हुन् । तिनीहरुलाई सम्बन्धित सम्पदा वा विषयको स्वामित्व प्रदान गरेर सामाजिक स्वामित्व स्थापित गर्न सकिन्छ । उदाहरणको लागि किसान समूहलाई कृषि क्षेत्रको स्वामित्व प्रदान गरेर कृषिमा सामाजिक स्वामित्व स्थापित गर्न सकिन्छ र मजदूर समूहलाई उद्योगको स्वामित्व प्रदान गरेर उद्योगमा सामाजिक स्वामित्व स्थापित गर्नसकिन्छ ।

समाजवादी क्रान्तिद्वारा स्थापित समाजवादबाट निर्माण हुने नयाँ नेपालको तस्बीर हाम्रो अगाडि छ । त्यसलाई हामी मन, वचन र कर्मले स्वागत गरौँ !

माथि रमेश सुनुवारद्वारा प्रस्तुत गरिएको राजनीतिक कार्यपत्रमाथि कमरेड आहुतीले गर्नुभएको टिप्पणी जस्ताको जस्तै

विज्ञान–प्रविधि पहिले नै थियो

……………………………….
आहुति

मलाई के लाग्नथालेको छ भने संसारमा झिँगा मार्ने भनेर औषधि छर्कने काम भयो र झिँगा त म¥यो तर अण्डाभित्र भएको लार्भाले चाहिँ त्यो औषधि पचाइदिएर आफ्नो वंश लिएर संसारमा आएको छ । मैले भन्न खोजेको के भने कम्युनिष्ट क्रान्तिकारीहरुमाथि धेरै थरीका विष छर्कने काम भएकै छ, हँुदैआएको छ । झिँगाका बाबु–आमाजस्तै माक्र्सवादीहरु त मर्ने नै छन् तर अण्डाभित्रको लार्भाले जस्तै हामी माक्र्सवादीहरुले फेरि विष पचाएर अगाडि आउनु छ । नेपालमा अहिले हामी त्यही चरणमा छौं र त्यो चरणको लागि यो खालको बहस आवश्यक छ । हामीले झिँगाको सन्तानलाई नसम्झी नहुने भएको छ । अब यात्रा यहीबाट सुरु हुन्छ । मैले यो कार्यपत्र पढ्दा म चाहिँ त्यही लार्भा हुँ भनेर पढेको छु । कसरी त्यो विष पचाउने होला भनेर पढें मैले यो कार्यपत्रलाई । कार्यपत्रमाथि बुँदामा कुरा राख्छु ।

पहिलो कुरा, कार्यपत्रको सुरुमै चार जात छत्तिस वर्णको कुरा, आदर्श नारी सीता र भृकुटीलाई मान्ने कुरा र दर्शनशास्त्रीको प्रतीकको रुपमा जनकलाई मान्ने कुरासँग म सहमत छैन । यो विलकुल पञ्चायतले निर्माण ग¥या कुरा हो । हामीसँग कपिलजस्ता भौतिकवादी दार्शनिक हुँदाहँुदै त्यो ब्रह्मसभा बनाउने जनक कसरी प्रतीक हुन्छ हाम्रो, म बुझ्दिनँ यो कुरा ! रुख चढेर दाउरा काट्ने तामाङ्ग महिला हुँदाहँुदै, सम्बन्ध विच्छेद गर्ने अधिकार भएको किराँत महिला हुँदाहँुदै सीता र भृकुटीहरु नेपाली प्रतीक कसरी हुन्छन्, म बुझ्दिनँ ! चार जात छत्तिस वर्णलाई त्यसरी स्वीकृति दिन तथ्यले पनि मिल्दैन, अवधारणाले पनि मिल्दैन । त्यसो हुँदा कार्यपत्रको जुन ढंगले सुरुवात गरिएको छ, त्यसमा पुनर्विचार गरियोस् ।

दोस्रो कुरा, नेपालमा मंगोल र आर्य जातिको मात्र कुरा गरिएको छ । यहाँ आग्नेय र द्रबिड परिवारका मान्छे पनि बस्छन् । नेपाल कबिला युगबाट सुरु भयो भनिएको छ । मैले अहिलेसम्मको अध्ययनमा त्यो भेटेको छुइनँ । मुन्धुम लिएर आउनेहरु पनि दर्शनशास्त्रसहित आएका हुन्, वेद लिएर आउनेहरु पनि पूर्ण विश्वदृष्टिकोण लिएर आएका हुन् । मुस्लिमहरु त पछि आएका, झनै लिएर आउने नै भए । द्रबिडहरु पनि आफ्नो सत्ता निर्माण गर्ने योजनासहित नै आएका हुन् । त्यसो हुँदा नेपाली समाजको बारेमा पनि कार्यपत्रले विचार गर्नुपर्छ ।

उत्पादन सम्बन्धको रुपमा विज्ञान–प्रविधिको कुरा गरिएका छ । यो चाहिँ कस्तो लाग्ने रहेछ भने हरेक नव–बिवाहित जोडीलाई बिवाहको केही समय रोमाञ्चमय लाग्ने रहेछ कि यस्तो योभन्दा अगाडिको मान्छेलाई थाहा थिएन । तर त्यस्तो होइन । हजारौं वर्षदेखि यस्तो प्रक्रिया दोहोरिरहेको छ । हरेक युगको मान्छेलाई आफ्नो युगको विज्ञानको विकास अद्भुत लाग्ने रहेछ । सबभन्दा पहिला आगो फेला पार्ने मान्छेलाई अद्भुत क्रान्ति भयो आफ्नो जीवनमा । आगोपछि पनि धेरै कुरा फेला पर्नेछन् भन्ने कुरा थाहा थिएन उसलाई, कुरा त्यत्ति हो ।

माक्र्सवादले उत्पादक शक्ति भनेर तीन कुरालाई भन्या हो । पहिलो औजारलाई, दोस्रो उत्पादनका साधनहरुलाई र तेस्रो मान्छेलाई भन्या हो । र, किटान गरेर माक्र्सवादले अन्य साधनलाई आधारभूत र मान्छेलाई निर्णायक भन्या हो । औजार स्वयं विज्ञान–प्रविधि हो त्यतिवेलाको । अहिलेको विज्ञान–प्रविधि पनि औजारै हो । अहिलेको विज्ञान–प्रविधि चाहिँ माक्र्सवादले भनेकोभन्दा भिन्नै हो भनेर बुझ्नु हुँदैन । एङ्गेल्सको व्याख्याले त्यसो भन्दैन । समाजवाद त्यतिखेर सम्भव हुन्छ, जतिखेर उत्पादनमा प्रचुरता हुन्छ । प्रचुरताको अर्थ मान्छेले निजी बनाएर मेरो पुस्तौनीलाई के होला भनेर सोच्नु पर्दैन । त्यति प्रचुर हुन्छ । त्यसकारण उत्पादनका साधनहरुको विकासबिना अथवा अहिलेको विज्ञान–प्रविधिको विकासबिना त त्यो कुरा सम्भवै छैन । एङ्गेल्सले त्यतिखेरै किटान गरेर भनेको कुरा हो । र, अहिले भएको विज्ञानको विकास माक्र्सवादीहरुको लागि तनावको विषय नै होइन । विल्कुलै खुशीको कुरा हो । आदिम साम्यवाद यस्तो कंगाल अवस्थामा थियो कि खोज्दा–खोज्दै जम्मा गर्नै नपुग्ने, कसरी निजी बनाउने ? वैज्ञानिक साम्यवादमा, जहाँ अब हामी जानु छ, त्यहाँ यति प्रचुरता हुनेवाला छ कि कसैले लुटेर राख्नै नपर्ने । सबै औजार आफ्नो समयको विज्ञान–प्रविधि हो । माक्र्सवादले राम्रोसँग संश्लेषण गरेको छ । यही त माक्र्सवादको सुन्दर कुरा थियो ।

अहिलेको विज्ञान–प्रविधिलाई नयाँ कुरा भनेर जुन रुपमा प्रस्तुत गर्न खोजिएको छ, त्यो चाहिँ माक्र्सवादको आधारभूत कुरातर्फ ध्यान नपुगेको हो कि ? यति भनिसकेपछि मैले भन्नेपर्छ कि औजार निर्णायक हुनैसक्दैन, किनकि औजार चेतनशील हुँदैन । औजारले विचार बोक्दैन । माक्र्सवादले त्यतिकैे मान्छे निर्णायक भन्या होइन । मान्छे पनि पदार्थकै रुप त हो तर मान्छे मनसहितको जटील रुप हो । औजार निर्णायक हुने भए मान्छेको समाजै हँुदैनथ्यो । यो कुरा गहिरो गरी लिनुपर्दछ ।

कार्यपत्रमा राष्ट्रिय पूँजीपति वर्गको अन्त्य भयो भनिएको छ । पूँजीपति वर्ग दलालसँग गाँसिदै गएको कुरा सत्य हो, तर राष्ट्रिय पूँजीपति वर्गको अन्त्य भयो भन्ने विषयमा छलफल गरौं । बहुराष्ट्रिय र पराराष्ट्रिय कम्पनीसँगको शेयरमा बदलिसक्यो भन्ने छ, तर मैले शेयर नभएका पूँजीपति पनि देख्या छु । नेपालमा त्यो ठूलै जमात छ ।

अर्को, समाजवादका सबै मोडेलहरु असफल भयो भनेर १९१७ देखि १९९१ सम्मलाई एउटै डालोमा हाल्ने काम गरिएको छ, जुन कुरा गलत छ । सन् १९१७ पछि लेनिनले अगाडि सारेको विषय सोभियत हो । यो कार्यपत्रले समाजवादमा जनताको नियन्त्रण हुनुपर्छ भनेको छ । त्यो कुरा लेनिनको सोभियतमा छ । सोभियत चाहिँ कार्यकारी हुने, श्रमजीवीको सोभियत हुने, त्यसबाट प्रतिनिधि चुनिएर आउने र त्यसैले नियन्त्रण पनि गर्ने भन्ने थियो । सोभियत एकपटक अध्ययन गर्न अनुरोध गर्छु । पछि त्यहाँ युद्ध–समाजवाद आयो । दोस्रो विश्वयुद्धको लफडा भयो । स्तालिनको विचारमा परिवर्तन आएर वर्गहरु समाप्त भयो भनियो । आफंैभित्र दमनको प्रक्रिया सुरु हुनथाल्यो । विस्तारै कार्यकारी सोभियत होइन, कठपुतली सोभियत हुनपुग्यो र त्यो सत्ताधारीको हातमा पुगेर राजकीय समाजवादको विकास हुनथाल्यो । स्तालिनको युगसँगै सोभियत पूँजी राजकीय पूँजीमा विकास भयो । ख्रुश्चेभको पालामा त उदार पूँजीवादमा गइसकेको थियो । लेनिनदेखि ख्रुश्चेभसम्मलाई एउटै डालोमा हालेर हेरियो भने त रुपलालतिर पुगिन्छ । रुपलालजी क्रान्ति नै भएको रहेनछ, भएको भए त उल्टिनै नपर्ने भन्नुहुन्थ्यो । त्यस्तै यो कार्यपत्रले पनि सबैलाई एउटै डालोमा हाल्ने गल्ती गरेको छ ।

यो कार्यपत्रमा अर्को गल्ती बहुदलीय जनवादी कार्यक्रम र नौलो जनवादी कार्यक्रमलाई पनि एउटै डालोमा हालिएको छ । यस्तो त होइन । बहुदलीय जनवाद स्वतः नौलो जनवाद होइन । एमालेले त्यो लाइन २०३५ मै छोडेको हो । बहुदलीय व्यवस्था भनेको संसदीय व्यवस्था नै हो भन्ने कुरा एमालेको अभ्यासले पुष्टि गर्छ । त्यसलाई पनि जनवादकै अभ्यास थियो भन्ने र एमालेको असफलतालाई लगेर सबै क्रान्तिकारी कम्युनिष्टहरुको असफलता थियो भनेर भन्न मिल्दैन । हुँदा–हुँदा चीनमा पनि जनवादी क्रान्ति असफल भएको भन्नुभा छ, यो के भा हो ? प्रिन्ट मिस्टेक भाको पनि हुनसक्छ !

सवभन्दा बहस गर्नुपर्ने अर्को विषय नेपाली समाज अर्ध–सामन्ती हो कि होइन भन्ने छ । मैले भन्ने विषय यति मात्रै छ कि सामन्तवाद भनेको राज्य व्यवस्था होइन, त्यो त समाज व्यवस्था हो । त्यस्तो व्यवस्थामा मूलतः राज्य व्यवस्था पनि सामन्ती नै हुन्छ । समाज व्यवस्थाको मुख्य जरो उत्पादन सम्बन्ध हो, हामीलाई माक्र्सवादले सिकाएको यो हो । माक्र्सवादले उत्पादन सम्बन्धको विषयमा तीन कुरा भन्छ ः पहिलो, उत्पादनका साधनहरुमाथिको स्वमित्व कस्तो छ, दोस्रो, त्यो स्वामित्वबाट हुने उत्पादनको वितरण कस्तो छ र तेस्रो, स्वामित्व र वितरणको कारणले मानिसहरुको आपसी सम्बन्ध कस्तो छ । नेपालको उत्पादन सम्बन्ध सामन्तवादी छ भन्ने कुरा त तथ्यले भन्नुप¥यो नि त । नेपालमा अब मोही किसानहरुको संख्या तीन लाखजति छ, जहाँ कि किसान परिवारको संख्या पचपन्न लाखभन्दा बढी छैन । अनि हामी भनिरहेका छौं नेपाली उत्पादन सम्बन्ध सामन्तवादी छ । बाली प्रथामा काम गर्ने दलितहरु अब १० प्रतिशतभन्दा बढी छैन । जुन देशमा बाली प्रणालीमा काम गर्नेको संख्या १० प्रतिशतभन्दा बढी छैन, अनि त्यो सामन्तवादी कसरी हुन्छ ? समाज व्यवस्था कस्तो छ भनेर हेर्ने भनेको त्यहाँको उत्पादन प्रणाली कस्तो छ भनेर हेर्ने हो । निर्बाहमुखी अर्थतन्त्र हुनेबित्तिकै त्यो सामन्तवादी हुन्छ भनियो भने बर्बाद हुन्छ । निर्बाहमुखी अर्थतन्त्र त पूँजीवादमा पनि हुन्छ, सामन्तवादमा पनि हुन्छ । सामन्तवाद भनेको सामन्तहरुले जमिनमा भएको उत्पादन सम्बन्धमार्फत किसानहरुलाई शोषण गर्ने भनेको हो । अब नेपालमा व्यक्ति सामन्त छैन । नेपालमा सामन्ती सम्बन्ध अब एउटा गुठी जग्गामा रहेको मोही किसानमा छ । अर्को, पुस्तौनी रुपमा रहेको जग्गा धनी र मोही किसानहरुको बीचमा छ । १० बिघा जग्गा भएकोले पाँचलाख कमाउँदैन, एउटा मावि शिक्षकले पाँच लाख कमाउँछ । को सामन्त ? पहाडकाहरुले मधेसमा सामन्त छ भन्छन्, त्यो तिउन खानेहरुको सोच हो । तरकारी पर्याप्त नभएको ठाउँमा सबैकुरा मिसाएर तिउन पकाइन्छ । अनि तिनीहरु तराई झरेपछि आँखाले नभ्याउने जमिन देख्दा सबै सामन्त लाग्छ । यस्तो कुराले हुँदैन ।

अर्को कुरा, हाम्रो देश नव–उपनिवेशी छ भन्छौं । यहाँ कार्यपत्रमा सत्तामा जाँदा ताला–चावी अर्कैको हातमा छ भन्छन् भन्ने छ । त्यसको अर्थ सामन्तको हातमा छ भनेको होइन, दलाल पूँजीपतिको हातमा भनेको हो । नेपालमा दलाल पूँजीवाद छ, नव–उपनिवेशी शोषण छ, त्यो कुरा सत्य हो तर ती सबै पूँजीवाद नै हुन् । त्यसकारणले गर्दा आधारभूत रुपमा नेपाली समाज पूँजीवाद नै हो । रहल–पहल बाँकी छ, त्यसमा छलफल गरौंला ।

यो बहस हल नभई कार्यक्रम चाहिँ समाजवादी बनाउने कि नबनाउने भन्ने हुँदैन । शास्त्रीय माक्र्सवादले त हुँदैन भन्छ । क्लासिकल माक्र्सवादअनुसार अर्ध–सामन्ती अवस्थाबाट समाजवादमा जानुहुँदैन, जनवादमा जनुपर्छ भन्ने कुरा गलत छ भनेर नभत्काई समाजवादी कार्यक्रममा जाने भन्न मिल्दैन । अर्ध–सामन्ती देश त पूँजीवादमा जान्छ, कसरी समाजवादमा जान्छ ? यहाँ मिलेको छैन । र, हाम्रो देश अर्ध–सामन्ती होइन, पूँजीवाद नै हो, हामै प्रकारको पूँजीवाद हो । नेपालमा विकसित भएको पूँजीवादको थप अध्ययन हुन जरुरी छ ।

उहाँले अर्काे नयाँ कुरा के भन्नुभएको छ भने समाजवाद यो व्यवस्थाबाहिर बनाउने । त्यसको लागि सेना चाहिन्छ, संगठन चाहिन्छ, छुट्टै अर्थतन्त्र चाहिन्छ भन्नुभएको छ । यो पूँजीवादी व्यवस्था भन्दा बाहिर रहेर त्यो गर्ने कसरी ? समाज व्यवस्था त यही हो । विशुद्ध समाजवाद, यो राज्य व्यवस्थाभित्र घुसपैठ नगरीकन, यसका विरुद्ध संघर्ष नगरीकन, त्यसको खण्डन नगरीकन कसरी बनाउने ? यही नेपालभित्र बसेर समाजवादी क्रान्ति गर्न सेना बनाउने भन्नुभएको छ, प्रतिक्रियावादीले दमन गरेपछि के गर्नुहुन्छ ? अर्थतन्त्र छुट्टै के बनाउने ? तपाईंलाई छुट्टै बैङ्क खोल्न दिन्छ त ऐनले ? दिँदैन । अनि यही ऐनभित्र रहेर पुनर्गठित गर्नुको अर्को विकल्प के छ त तपाईंसँग ? तसर्थ यो विचार पुरानो व्यवस्थामा छिर्दा बिग्रने रहेछ भनेर त्यहाँ नछिरीकन जाने हो भन्नेजस्तो लाग्छ । नछिरीकन समाजवाद बनाए पनि बनाउने त मान्त्रीमण्डलै हो नि फेरि ! खाने मुख त तिनै हुन् । त्यसो हुँदा म चाहिँ कसरी बुझ्छु भने यही व्यवस्थाभित्र जाँदा पनि नबिग्रने साँस्कृतिक रुपान्तरणसहितको मानव बनाउने यात्रा हो । र, अहिले हामीले हारेको भनेको नौ महिनाको बच्चा हिँड्न खोज्दा लडेजस्तै हो । पाँचहजार वर्षदेखि चल्दै आएको परम्परालाई भत्काउन हामीले एकसय पचहत्तर वर्षदेखि सुरु गरेका छौं भने अहिले नै सकिएन भनेर रुने–कराउने गर्न आवश्यक छैन । माक्र्सवादको फ्रेमभित्र रहेर अपुग कुरा थप्ने कि त्यसको आधारभूत कुराभन्दा बाहिरबाट माक्र्सवादमा नयाँ कुरा थप्नथाल्ने, बहस यहाँ छ ।

यो कार्यपत्रले व्यापारीहरु पनि हुन्छन् समाजवाद भनेको छ । व्यापारी भएपछि त लुट हुन्छ, तब त्यहाँ कसरी समाजवाद हुन्छ ? के कुरा गरेको यो ? अहिले हामी वर्गसंघर्षलाई छाडेर समाजवादको कुरा गर्नसक्दैनौं । वर्गको चरित्रमा फेरबदल आएको छ, आउनैपर्छ त्यो । वर्गको चरित्रमा परिवर्तन भएन भने विकासै हुँदैन । दास दासै रहेर समाजवादको विकास हुँदैन । श्रमजीवी वर्गमै बुद्धिजीवी जन्मिन्छन् । श्रमजीवी वर्गबाट महानतम योद्धाहरु जन्मिन्छन् । श्रमजीवी हुनेबित्तिकै बुद्धिजीवी नजन्मिने, ढुंगा ठोकेर मात्र खानुपर्ने, त्यस्तो पनि हुन्छ ? त्यस्तो त माक्र्सवादले भन्ने होइन । वर्गसंघर्षलाई छोडेर अहिले हामी माक्र्सवादको कुरा गर्नसक्दैनौँ ।

माक्र्सवादको आधारभूत कुरा वर्गसंघर्षको मान्यतालाई छाडेर जाने हो भने हामी माक्र्सवादबाट अलग्गिन पुग्छौँ । वर्गहरुको सोचमा परिवर्तन हुनैपर्छ, भएन भने समाज विकास हुँदैन । त्यसकारण अहिले स्वरुप परिवर्तन भएको छ, थुप्रै परिवर्तन भएको छ । हो, अतिरिक्त मूल्यको सिद्धान्तको बारेमा हामीले अतिरिक्त सोच्नु आवश्यक भएको छ । माक्र्सको बेलामा अहिलेजस्तो थिएन भने अहिले माक्र्सवादी ढंगले सोच्नुपर्छ । त्यसकारणले बहस कहाँ केन्द्रित गर्नुप¥यो भने माक्र्सवादको आधारभूत सत्य, त्यो भनेको वर्गसंघर्षको फेनोमेना, सिद्धान्त, त्यसपछि द्वन्द्वात्मक भौतिकवादी ढंगले सोच्ने कि नसोच्ने, समाजविज्ञानलाई ऐतिहासितक भौतिकवादी ढंगले सोच्ने कि नसोच्ने, बल प्रयोगको सिद्धान्तलाई निर्णायक सिद्धान्तको रुपमा अंगीकार गर्ने कि नगर्ने, श्रमिक वर्ग वा सर्वहारा वर्गको अधिनायकत्व वा शासन मान्ने कि नमान्ने । त्यसकारण माक्र्सवादका आधारभूत सत्यमा टेकेर आजको समाज व्यवस्थामा माक्र्सवादले कहाँ–कहाँ पूरा गरेन भनेर बहस गर्ने एउटा तरीका, माक्र्सवादको आधारभूत सत्यले नै फेल खायो भन्ने अर्को तरीका । यो कार्यपत्र त्यसको दोधारमा देख्छु म । मेरो सुझाव के छ भने माक्र्सवाद अध्ययन–अनुसन्धान प्रष्ठिानले आपूmलाई नेपाली समाजको आधारभूत अध्ययनमा केन्द्रित गर्नुप¥यो र त्यसपछि माक्र्सवादको आधारभूत सत्यको अध्ययनमा केन्द्रित गर्नुप¥यो । त्यसपछि यस खालका बहसहरुमा प्रवेश गर्दा सहज होला भन्ने मलाई लाग्छ ।

आहुतीको टिप्पणीमाथि रमेश सुनुवारको जवाफ

नेपाली क्रान्तिको कार्यक्रमको व्याख्या
–रमेश सुनुवार

माक्र्सवादको सृजनात्मक विकासको लागि स्थापित माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठानले आरम्भ गरेको ‘नेपालमा समाजवाद’ सम्बन्धी बहसको पहिलो शृंखला सम्पन्न भएको छ । त्यसमा ‘नेपाली क्रान्तिको कार्यक्रम’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रको संक्षिप्तताको कारण र केही अन्य कारणहरुले गर्दा धेरै प्रश्नहरु उठेका छन् । तिनीहरुमध्ये केही महत्वपूर्ण प्रश्नहरुको स्पष्टीकरणको लागि यो आलेख तयार गरिएको छ ।

छलफलको क्रममा एकजना टिप्पणीकर्ता विद्वान मित्रले किटनाशक विषादी पचाउने किराको उदाहरण दिँदै माक्र्सवादी किरा बनेर माक्र्सवादको विरुद्ध छरिएको किटनाशक विषादी पचाइदिने भीष्मप्रतिज्ञा गर्नुभएको छ । त्यसको लागि वहाँलाई मेरो हार्दिक बधाइ तथा शुभकामना ! तर म विनम्रतापूर्वक वहाँलाई यो जानकारी पनि गराउन चाहन्छु कि जुन किराले किटनाशक विषादी पचायो, त्यसको पनि आन्तरिक संरचनामा परिवर्तन भएको छ । त्यसको जीवनशक्ति, रसायन, हर्मोन, अंगप्रत्यंग, आदिमा केही परिवर्तन र विकास भएपछि मात्र त्यसले विषादी पचाउन सकेको हो । नत्र पहिले किन पचाएन त ? अहिलेसम्म त्यसले के पर्खेर बसेको थियो ? अब यसरी विषादी पचाउन सक्नेगरी परिवर्तन भएको किरा पहिलेकै किरा त हुँदै होइन । त्यसले विषादी पनि पचाएको छ र सँगसँगै आफू पनि पचेको छ । त्यसैगरी, यदि वातावरण नै बदलिएको छ भने, त्यो बदलिएको वातावरणलाई कुनै परिवर्तनबिना पचाउन सकिँदैन । उदाहरणको लागि, सेतो रंगको किरा कालो रंंगको वातावरणमा गयो भने, त्यसले आफूलाई कालो रंगको बनाउनुपर्दछ । नत्र त्यो बाँच्न सक्दैन । कालो रंगको किरा सेतो रंगको वातावरणमा गयो भने, त्यसले आपूmलाई सेतो रंगको बनाउनु पर्दछ । नत्र त्यो बाँच्न सक्दैन । यदि कसैले वातावरणलाई नै पचाइदिन्छु भन्छ भने, त्यसको नियति डाइनोसरको जस्तो हुनेछ, जुुन पृथ्वीमा आएका प्राणीहरुमध्ये सवभन्दा ठूलो भएर पनि लोप भयो । त्यसकारण विद्वान मित्रले माक्र्सवादमा कुनै विकास नगरी माक्र्सवादको सामु आएका चुनौतीहरुलाई त्यतिकै पचाइदिन्छु भनेर सोच्नुभएको छ भने, त्यो गलत हुनेछ ।

त्यसैगरी, यदि वहाँले सबै चुनौतीहरुलाई विषादी नै ठान्नुभएको छ भने, त्यो पनि गलत हुनेछ । सबै चुनौतीहरु विषादी हुँदैनन् । उदाहरणको लागि, पूँजीवादलाई सामन्तवादबाट आउने चुनौती विषादीजस्तै हुन्छ र समाजवादबाट आउने चुनौती थप विकासको लागि उत्पे्ररक हुन्छ । मकैको दानालाई आगोमा डढाउँदा पनि नष्ट हुन्छ र जमिनमा रोप्दा पनि नष्ट हुन्छ । आगोमा डढाउनु विषादी छर्कनुजस्तै हो र त्यसलाई जमिनमा रोप्नु त्यसलाई जीवन प्रदान गर्नुजस्तै हो ।

हामी माक्र्सवादलाई विकसित र समृद्ध बनाउँदै लान चाहन्छौँ । यदि माक्र्सवाद विज्ञान हो भने, यसमा निरन्तर परिवर्तन र विकास आवश्यक हुन्छ, जुन हरेक विज्ञानको अनिवार्य शर्त हो । त्यसकारण हामीलाई कुनै पनि विषादी पचाउने किराको चिन्ता छैन । यस्ता किरालाई नष्ट गर्दै जानुपर्छ, जसले माक्र्सवादको रक्षा गर्ने नाममा माक्र्सवादलाई नै थोत्रो बनाउँदछन् । हामीले माक्र्सवादको सामुु देखिएका वर्तमान चुनौतीहरुलाई माक्र्सवादमा थप विकास र समृद्धिको लागि अवसरको रुपमा लिएका छौँ ।

अब हामी छलफलको क्रममा उठेका महत्वपूर्ण प्रश्नहरुको स्पष्टीकरणमा केन्द्रित हुन्छौँ । यहाँ हाम्रो अभीष्ट टिप्पणीकारहरुलाई प्रत्यूत्तर दिनु होइन । वहाँहरुले हाम्रो आग्रहलाई स्वीकार गरेर कार्यक्रममा सहभागी भइदिनुभयो र कार्यपत्रमाथि सर्वाङ्गीण समीक्षा गर्नुभयो, त्यसको लागि हामी उहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यहाँ हाम्रो अभीष्ट यसको माध्यमबाट कार्यपत्रमा उल्लेखित धारणाहरुलाई थप व्याख्या गर्नु र स्पष्ट बनाएर जनसमक्ष प्रस्तुत गर्नु हो ।

पहिलो प्रश्न उत्पादक शक्तिको रुपमा विज्ञान प्रविधिको विकासको सम्बन्धमा छ, दोस्रो प्रश्न नेपाली समाजको स्वरुपको सम्बन्धमा छ र तेस्रो प्रश्न पूँजीवादको समानान्तरमा समाजवादको निर्माणको सम्बन्धमा छ । मूलतः यिनै प्रश्नहरुको स्पष्टीकरणमा केन्द्रित रहेर यिनीहरुसँग सम्बन्धित अन्य प्रश्नहरुको पनि स्पष्टीकरण दिने प्रयत्न गरिनेछ ।

विज्ञान–प्रविधि प्राचीन कालदेखि नै थियो भन्ने तर्क गरिएको छ । तर के प्राचीन कालको ढुंगाको हतियार (औजार) र आजको स्वचालित यन्त्र एउटै हो ? एकपटक आगो जलाएपछि त्यसलाई निभ्न नदिएर जोगाइराख्ने मानव र आगो उत्पन्न गर्ने अनेकौँ उपायहरु जान्ने मानव एउटै हो ? आगो र चक्काको आविष्कार धेरै पहिले भएको थियो । तर के घोडाले तान्ने वा मानिसले ठेल्ने गाडामा प्रयोग भएको चक्का र वाष्प–इन्जिन वा पेट्रोल–इन्जिनमा प्रयोग भएको चक्काको भूमिका एउटै हो ? काँचो मासु र कन्दमूल पोल्न प्रयोग गरिएको आगो र इन्जिन चलाउन तथा बम विस्फोट गराउन प्रयोग गरिएको आगोको भूूमिका एउटै हो ? जंगलमा घुमेर हिँड्ने ७० हजार वर्षअगाडिको मानव र आजको सभ्य मानव एउटै हो ? एउटा बच्चा र वयस्क मानिस एउटै हो ?

विज्ञान–प्रविधि प्राचीन कालदेखि नै थियो भन्ने कुरामा कुनै शंका छैन तर आज त्यसको भूमिका बदलिएको छ । आफ्नो विकासको स्तरअनुसार त्यसको भुमिका पनि बदलिन्छ । विगतमा आफ्नो निम्न विकासस्तरको कारण त्यसले जुन भुमिका निर्वाह गर्नसक्दैनथ्यो, आफ्नो उच्च विकासस्तरको कारण आज त्यसले त्यो भूमिका निर्वाह गर्नसक्दछ ।

श्रमिकहरु प्नि प्राचीन कालदेखि नै थिए, तर उन्नाइसौँ शताब्दिमा मात्र उनीहरु सत्ताधारी वर्ग बन्नयोग्य भए । वर्गहरु पनि प्राचीन कालदेखि नै थिए, तर वर्तमान समयमा मात्र तिनीहरुलाई अन्त्य गर्ने अवस्था सृजना भएको छ । समाजवाद पनि पहिलेदेखि नै थियो, तर माक्र्सको समयमा मात्र त्यो साकार हुने अवस्थामा पुग्यो । त्यसैगरी विज्ञान–प्रविधि पनि पहिले गौण, सहायक थियो, तर अहिले प्रधान, निर्णायक बनेको छ । विकासवादको नियम यही हो— जुन कुरा पहिले गौण हुन्छ, त्यो पछि प्रधान बन्दछ र जुन कुरा पहिले प्रधान हुन्छ, त्यो गौण बनेर लोप हुन्छ ।
‘पहिले नै थियो’ भन्ने तर्कबाट त माक्र्सले पनि केही गरेका थिएनन् भन्ने निष्कर्ष निस्किन्छ । किनभने उनले जुन–जुन आधारमा आफ्नो सिद्धान्तको निर्माण गरेका थिए, तिनीहरु त पहिले नै थिए । द्वन्द्ववाद पनि पहिले नै थियो, भौतिकवाद पनि पहिले नै थियो, अतिरिक्त मूल्यको सिद्धान्त पनि पहिले नै थियो, इतिहासको भौतिकवादी धारणा र वर्ग–संघर्षको सिद्धान्त पनि पहिले नै थियो र समाजवाद पनि पहिले नै थियो । अनि माक्र्सले के गरे त ?

माक्र्सले पहिले भएका ती सबै कुराहरुको संश्लेषण गरेर नयाँ निष्कर्ष निकाले, जुन माक्र्सको समयमा मात्र संभव हुन्थ्यो । त्यो एउटा ऐतिहासिक कार्यभार थियो । अहिले विज्ञान–प्रविधिको सम्बन्धमा पनि यही कुरा लागू हुन्छ । हामी विज्ञान–प्रविधिको वर्तमान भूमिकालाई संश्लेषण गरेर समाजवादी क्रान्तिमा उपयोग गर्न चाहन्छौँ ।

विज्ञान–प्रविधिलाई प्रमुख भूमिका दिएर वर्ग–संघर्षलाई छोडियो भन्ने तर्क गरिएको छ । विज्ञान–प्रविधिलाई प्रमुख भूमिका दिनु वर्ग–संघर्षलाई छोड्नु होइन । किनभने वर्ग–संघर्ष भनेको मानिसहरुको बीचमा हुने प्रत्यक्ष संघर्ष होइन । यो त उत्पादक शक्ति र उत्पादन सम्बन्धको बीचमा हुने अन्तर्विरोध, एक प्रकारको उत्पादक शक्ति र अर्को प्रकारको उत्पादक शक्तिको बीचमा हुने अन्तर्विरोध नै समाजमा वर्ग–संघर्षको रुपमा अभिव्यक्त हुने हो । वर्गहरुले यिनै दुई पक्षहरुको प्रतिनिधित्व गर्दछन् । विगतमा पूँजीपति वर्गले पूँजीको प्रतिनिधित्व गर्दथ्यो र श्रमिक वर्गले श्रमको प्रतिनिधित्व गर्दथ्यो । परिणामस्वरुप पूँजीपति वर्ग र श्रमिक वर्गको बीचमा वर्ग–संघर्ष हुन्थ्यो । अब पूँजीको प्रतिनिधित्व गर्ने पूँजीपति वर्ग र विज्ञान–प्रविधिको प्रतिनिधित्व गर्ने वर्गको बीचमा वर्ग–संघर्ष हुन्छ, र विज्ञान–प्रविधिको प्रतिनिधित्व समाजवादका निर्माताहरुले गर्दछन् ।
निर्जीव प्रविधि निर्णायक हुँदैन, चेतनशील मानव–श्रम नै निर्णायक हुन्छ भन्ने तर्क गरिएको छ । सबैलाई थाहा भएको कुरा हो कि माक्र्सवादी दर्शनले भौतिक तत्वलाई प्रधान, निर्धारक र चेतनालाई गौण, निर्धाय मान्दछ । माक्र्सको शब्दमा ‘मानिसहरुको चेतनाले उनीहरुको अस्तित्वलाई निर्धारण गर्दैन, बरु उनीहरुको सामाजिक अस्तित्वले उनीहरुको चेतनालाई निर्धारण गर्दछ ।’ (कार्ल माक्र्स, राजनीतिक अर्थशास्त्रको समीक्षा) ‘जीवन चेतनाद्वारा निर्धारित हुँदैन, बरु चेतना जीवनद्वारा निर्धारित हुन्छ ।’ (माक्र्स—एंगेल्स, जर्मन विचारधारा)

माक्र्सभन्दा पहिले इतिहासकारहरुले, समाजशास्त्रीहरुले सामाजिक घटनाहरुको कारण मानिसहरुको चेतनामा, विचारमा खोज्दथे; इतिहासको निर्माता महापुरुषलाई मान्दथे । तर माक्र्सले त्यसलाई उल्ट्याएर स्वयं मानिसको चेतना र विचार समाजको भौतिक तत्वको परिणाम हो भन्ने धारणा अगाडि ल्याए, जसलाई ‘इतिहासको भौतिकवादी धारणा’ भनिन्छ । यो धारणा ऐतिहासिक विज्ञानमा, समाजविज्ञानमा माक्र्सवादको सबभन्दा ठूलो योगदान थियो, किनभने यसकै आधारमा अब सामाजिक घटनाहरुको विश्लेषण र निर्धारण प्रकृति विज्ञानमा जस्तै अचूक ढंगबाट गर्न सकिने भयो । अब अचेत विज्ञान–प्रविधि र सचेत मानव–श्रममध्ये कुन प्रधान र निर्णायक होला, विचार गर्नुहोस् ।
विज्ञान–प्रविधिले मानव श्रमलाई घटाउँदैन, अझ बढाउँछ भन्ने तर्क गरिएको छ । यसको अर्थ एउटा यन्त्रले जति मानव–श्रमको प्रतिस्थापन गर्दछ, त्यसभन्दा धेरै बढी मानव–श्रम त्यो यन्त्रको निर्माण गर्दा लाग्दछ भन्ने हुन्छ । यदि त्यसो भएको भए त यन्त्रको निर्माण गर्नुको सट्टा त्यही मानव–श्रम किन उपयोग नगर्ने, जुन यन्त्रको निर्माणमा उपयोग हुन्छ ? तर यथार्थ अर्कै छ । मानिसहरुले मानव–श्रमको सट्टा विज्ञान–प्रविधिकै प्रयोग गरिरहेका छन् ।

विज्ञान–प्रविधिको लागि मानव–श्रमको आवश्यकता एकपटक हुन्छ— त्यसको आविष्कार, खोजमा । त्यसपछि निरन्तर त्यसको पुनरुत्पादन गरिरहनुपर्दैन । चाल्र्स डार्विनलाई विकासवादको सिद्धान्त खोज गर्न २० वर्ष लागेको थियो । तर अब हामीलाई त्यसको लागि त्यति समय लाग्दैन । एक—दुई घण्टामा हामीले विकासवादको सिद्धान्त बुझ्न सक्दछौँ । एउटा यन्त्रको निर्माण गर्दा जति श्रम र लागत लाग्दछ, त्यसले त्यसभन्दा धेरै बढी उत्पादन गर्दछ । त्यसको निर्माणमा लागेको श्रमको मूल्यबराबर मात्र त्यसबाट उत्पादन हुनुपर्छ भन्ने जरुरी छैन । एउटा जलविद्युत आयोजनामा जति लागत लाग्दछ, त्यसबाट त्यति मात्र विद्युत उत्पादन हुनुपर्दछ भन्ने कुनै सीमा छैन ।

प्रविधिलाई औजार भनिएको छ । तर औजार त प्रविधिको एउटा रुप मात्र हो । यसको विकासका तीन चरणहरु छन्— औजार, यन्त्र र स्वचालन । यिनीहरुमध्ये औजार प्रथम चरण हो । जब प्रविधिले स्वचालनको रुप ग्रहण गर्दछ, तब मानव–श्रमको प्रत्यक्ष भूमिका समाप्त हुन्छ । ऊ किनारामा बसेर रेखदेख गर्ने अवस्थामा पुग्दछ । प्राचीन कालका औजारहरु अहिले स्वचालनमा परिणत भइसकेका छन् । फलस्वरुप अब तिनीहरुको भूमिका पनि बदलिसकेको छ । अब तिनीहरु मानवद्वारा सञ्चालित निष्क्रिय वस्तु होइनन्, बरु मानवकै काम गर्ने कारक बनेका छन् ।

त्यसैगरी विज्ञानको विकासका पनि तीन चरणहरु छन् । पहिलो चरण, जुन प्राचीन कालमा आएको थियो, विज्ञानले यो संसार ज्ञेय छ भन्ने धारणालाई वा विश्वासलाई स्थापित गरेको थियो । दोस्रो चरणमा, जुन आधुनिक कालमा आएको थियो, विज्ञान सम्पूर्ण समाजको वैचारिक आधार बन्यो । यो चरणमा भएको विज्ञानको विकासलाई वैज्ञानिक क्रान्ति (क्अष्भलतषष्अ च्भखयगितष्यल) भनिन्छ । र, तेस्रो चरणमा, जुन वर्तमान कालमा आएको छ, विज्ञान प्रविधिसँग मिलेर मानव समाजको प्रमुख उत्पादक शक्ति बनेको छ । यो चरणमा भएको विज्ञानको विकासलाई वैज्ञानिक– प्राविधिक क्रान्ति (क्अष्भलतषष्अ(तभअजलययिनष्अब िच्भखयगितष्यल), संक्षेपमा क्त्च्, भनिन्छ । यसमा पहिले अलग–अलग रहेका विज्ञान र प्रविधिको संयोजन भएको छ, जसबाट यिनीहरु दुवैमा गुणात्मक परिवर्तन आएको छ र विज्ञान–प्रविधि एउटा स्वतन्त्र उत्पादक शक्तिको रुपमा स्थापित भएको छ । यसप्रकार, पहिले उत्पादन प्रक्रियामा सहायक भूमिका निर्वाह गर्ने विज्ञान–प्रविधि अब प्रमुख भूमिका निर्वाह गर्ने शक्ति बनेको छ ।

माक्र्सले पूँजीलाई दुई भागमा विभाजन गर्दछन्– (१) चर पूँजी (खबचष्बदभि अबउष्तब)ि र २) अचर पूँजी (अयलकतबलत अबउष्तब)ि । मानव श्रम–शक्तिमा लगानी भएको पूँजी चर पूँजी हुन्छ र यन्त्र, जमिन र कच्चा पदार्थमा लगानी भएको पूँजी अचर पूँजी हुन्छ । चर र अचर पूँजीहरुमध्ये चर पूँजीबाट मात्र अतिरिक्त मूल्यको उत्पादन हुन्छ र अचर पूँजीबाट उत्पादन हुँदैन भन्ने माक्र्सको निष्कर्ष थियो । तर यो प्रतिस्पर्धी पूँजीवादको चरणको कुरा थियो । अहिले विज्ञान–प्रविधि नै अतिरिक्त मूल्यको प्रमुख स्रोत बनेको छ । यो अचर पूँजीबाट चर पूँजीमा बदलिएको छ । कारण अहिले पूँजीवाद प्रतिस्पर्धी छैन र मूल्यको श्रम–सिद्धान्त प्रतिस्पर्धी पूँजीवादमा मात्र लागू हुन्छ । प्रतिस्पर्धी पूँजीवाद सन् १८७० को दशकमा उत्कर्षमा पुग्यो र सन् १९०० देखि एकाधिकारी पूँजीवाद आरम्भ भयो । एकाधिकारी पूँजीवाद पनि १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै समाप्त भयो र त्यसपछि एकीकृत पूँजीवादको युग शुरु भयो, जुन अहिलेसम्म चलिरहेको छ । प्रतिस्पर्धी पूँजीवादमा बाहेक अन्य अवस्थामा उत्पादनमा संलग्न सबै तत्वहरुबाट आफ्नो भूमिका अनुसार अतिरिक्त मूल्यको उत्पादन हुन्छ । त्यसकारण अहिले विज्ञान–प्रविधिबाट अतिरिक्त मूल्यको उत्पादन हुन्छ । मानव श्रम–शक्ति निर्णायक हुनुपर्ने आवश्यकता छैन ।

माक्र्सको समयमा श्रम प्रधान हुनुका दुई कारणहरु थिए— १) त्यो प्रतिस्पर्धी पूँजीवादको चरण थियो, जसमा मूल्यको श्रम–सिद्धान्तअनुसार श्रम नै मूल्यको स्रोत हुन्थ्यो र २) त्यसबेला विज्ञान–प्रविधिको धेरै विकास भएको थिएन, त्यसकारण विज्ञान–प्रविधिको लागत खर्च मानव–श्रमको लागत खर्चभन्दा बढि हुन्थ्यो र उत्पादकहरुले त्यसको प्रयोग गर्दैनथे । उनीहरुले कम लागतको श्रमकै उपयोग गर्दथे ।

दासयुगमा विज्ञान–प्रविधिको विकास नहुनुको एउटा कारण दासश्रमको प्रचुरता थियो र अमेरिकामा विज्ञान–प्रविधिको विकास हुनुको एउटा कारण मानव–श्रमको अभाव थियो । अमेरिकामा दास व्यवस्थाको उन्मूलनपछि विज्ञान–प्रविधिको विकास तीव्र गतिले भएको थियो । उद्यमीले त्यही साधनको उपयोग गर्दछ, जसमा कम लागत लाग्दछ ।

माक्र्सवादले मानव श्रम–शक्तिलाई उत्पादक शक्ति भन्नुको अर्थ पुनरुत्पादनसँग सम्बन्धित छ । कुनै वस्तुलाई एकपटक उत्पादन गरेपछि त्यसको उपयोग गर्दा समाप्त भएर पुनः उत्पादन गर्नुपर्दछ भने, त्यसमा मानव–श्रम आवश्यक पर्दछ । उदाहरणको लागि, एक किलोग्राम मकै उत्पादन गरेपछि त्यो उपभोग गरेर समाप्त हुन्छ र पुनः अर्को एक किलोग्राम मकै उत्पादन गर्नुपर्दछ, जसको लागि पुनः मानव श्रम–शक्तिको आवश्यकता पर्दछ । तर एकपटक सुन्तलाको बोट रोपेपछि त्यसले निरन्तर दस–बाह«« वर्षसम्म फल उत्पादन गरिरहन्छ, जसको लागि मानव श्रम–शक्ति लगाइरहनु पर्दैन । विज्ञान–प्रविधिमा पनि एकपटक मानव श्रम–शक्ति लगाएपछि त्यसको पुनरुत्पादन गरिरहनुपर्दैन ।

त्यसैगरी विज्ञान–प्रविधिमा जति मानव श्रम–शक्ति खर्च हुन्छ, त्यति मात्र त्यसबाट उत्पादन हुन्छ भन्ने अनिवार्य छैन । वाष्प–इन्जिन बनाउन लागेको मानव श्रम–शक्तिको मूल्यभन्दा लाखौँगुना बढी उत्पादन वाष्प–इन्जिनले गरेको छ । जलविद्युत आयोजनामा लाग्ने खर्चभन्दा धेरै बढी मूल्य त्यसबाट उत्पादन हुन्छ । मानव श्रम–शक्तिको आफ्नो निश्चित मूल्य हुन्छ, जसलाई कार्यदिवस वा त्यो श्रम–शक्ति पुनरुत्पादन गर्न लाग्ने वस्तुको मूल्यद्वारा निर्धारण वा मापन गरिन्छ । त्यसको मूल्य अनन्त हुँदैन । त्यसको मूल्य पनि निर्जीव वस्तुको जस्तै हुन्छ ।

माक्र्सले विज्ञान–प्रविधिले श्रमलाई तन्काउँछ भन्नुको तात्पर्य श्रमकाललाई तन्काउँछ भन्ने हो । विज्ञान–प्रविधिले श्रमलाई विस्थापन गर्ने हुँदा श्रमिकको ज्याला घट्दछ, परिणामस्वरुप श्रमिकले पहिले जति ज्याला प्रप्त गर्न थप काम गर्नुपर्दछ । एउटा स्वीटर तयार गर्दा पाउने ज्याला यन्त्रको प्रयोग गरेपछि दुईवटा स्वीटर तयार गर्दा मात्र प्रप्त गर्न सक्दछ । तर विज्ञान–प्रविधिले श्रमलाई विस्थापन गर्दछ । उदाहरणको लागि, प्रकाशको गति ३ लाख कि.मि. प्रति सेकेन्ड भएको मानव–श्रम लगाएर भएको होइन, जसलाई उपयोग गरेर मानवले संचार क्षेत्रमा क्रान्ति ल्याएको छ । यसले पहिलेको हुलाक सेवामा लाग्ने मानव–श्रमलाई विस्थापन गरेको छ । मानवको गति प्रकाशको गतिबराबर कहिल्यै हुनसक्दैन । मानवले प्राकृतिक शक्ति तथा प्रक्रियालाई खोजेर निकाल्दछ र त्यसलाई संयोजन गरेर उपयोग गर्दछ, त्यसको सृजना गर्दैन ।

नयाँ जनवाद र बहुदलीय जनवाद एउटै होइन भन्ने तर्क गरिएको छ । नयाँ जनवाद र बहुदलीय जनवाद एउटै हो भन्ने कुरा बहुदलीय जनवादका प्रवत्र्तक मदन भण्डारीका अभिव्यक्तिहरुमा यत्रतत्र पाइन्छ । मदन भण्डारीको शब्दमा नयाँ जनवादको लक्ष्य र बहुदलीय जनवादको लक्ष्य एउटै हो— सामन्तवाद र साम्राज्यवादको प्रभुत्वलाई अन्त्य गर्नु र सर्वहारा वर्गको नेतृत्वमा राष्ट्रिय पूँजीवादको स्थापना गर्नु । र, तिनीहरुको भिन्नता के हो भने एउटामा राजनीतिक दलहरुको सम्बन्ध सहयोगात्मक हुन्छ र अर्कोमा प्रतिस्पर्धात्मक हुन्छ । बहुदलीय व्यवस्थाकै माध्यमबाट नयाँ जनवादी लक्ष्य प्राप्त गर्ने स्पष्ट धारणा बहुदलीय जनवादमा अगाडि सारिएको छ ।

अब यसरी बहुदलीय व्यवस्थालाई स्वीकार गर्नु गद्दारी, संशोधनवाद हो भने त अहिले नेकपा एमाओवादीले पनि बहुदलीय व्यवस्थालाई स्वीकार गरेको छ र यसकै माध्यमबाट नयाँ जनवादको बाँकी कार्यभारलाई पूरा गर्ने धारणा अगाडि सारेको छ । के यो पनि गद्दारी, संशोधनवाद हो ? के यो पनि संसदीय भासमा भासिने कुरा हो ? उही कुरा आफूले गर्दा क्रान्तिकारी र अरुले गर्दा संशोधनवादी हुन्छ ?

तर एमाओवादीको यो कदम गद्दारी, संशोधनवाद, संसदीय दलदलमा भासिने कुरा होइन । किनभने एक त बहुदलीय जनवादले यसलाई त्यसो भन्दैन र अर्को सबैभन्दा महत्वपूर्ण कुरा स्वयं टिप्पणीकार विद्वान महोदय एमाओवादी पार्टीमा विराजमान हुनुहुन्छ र उहाँको उपस्थितिमा त्यसले कुनै गद्दारी, कुनै संशोधनवादी कार्य र कुनै संसदीय दलदलमा भासिने गल्ती त गर्नै सक्दैन ।

एमालेको वर्तमान अवस्था बहुदलीय जनवादको परिणाम हो भन्नु सही हुँदैन, जसरी एमाओवादीको वर्तमान अवस्था जनयुद्धको कार्यदिशाको परिणाम हो भन्नु सही हुँदैन । तर यहाँ त एमाओवादी आफ्नो सिद्धान्तबाट स्खलित भयो र एमाले आफ्नो सिद्धान्तमा अडिग छ भन्ने तर्क पो गरिएकोे छ । वास्तविकता के हो भने दुवै पार्टी आफ्नो सिद्धान्तबाट धेरथोर स्खलित भएका छन् । न त बहुदलीय जनवादले अहिलेको बहुदलीय व्यवस्थामै रमाएर बस्ने भनिएको छ र न जनयुद्धको कार्यदिशाले नै जनयुद्धबाट प्राप्त सबै उपलब्धिहरु एक–एक गरेर प्रतिक्रियावादीहरुको हातमा सुम्पिनु भनेको छ । यदि एमाओवादी आफ्नो सिद्धान्तबाट स्खलित भएको हो र एमाले आफ्नो सिद्धान्तमा अडिग रहेको हो भने त, गलत नै सही, एमाले कति महान रहेछ !

सोभियत संघको समाजवादलाई विगतको समाजवादको प्रारुप होइन भन्ने तर्क गरिएको छ । यो सत्य हो कि त्यहाँ सुरुमा सोभियतलाई महत्व दिइएको थियो । क्रान्तिको समयमा सोभियतहरुको उपयोग गरियो । तर क्रान्ति सम्पन्न भएपछि क्रमशः सोभियत प्रणालीलाई छोडियो र राज्यसत्ता प्रणालीलाई बलियो बनाइयो । निजी स्वामित्वलाई उन्मूलन गर्ने विषयमा पनि राष्ट्रियकरणलाई नै अवलम्बन गरियो । पछि त्यसबाट समस्या सिर्जना भयो र लेनिनले नयाँ आर्थिक नीति ल्याए र त्यसलाई सच्याउने प्रयत्न गरेका थिए । तर स्टालिनले पुनः राष्ट्रिकरण गरेर सम्पूर्ण सम्पदामाथि राज्यको स्वामित्व स्थापित गरे । यसरी लेनिन र स्टालिनको समयमा स्थापित समाजवादको प्रारुप आजसम्म विश्वभरि प्रचलित छ । र, श्रीमान् स्टालिनको कार्यकाललाई जयजयकार गरिन्छ, किन ? हिटलर पराजित भए भनेर हो ? हिटलर पराजित भएर र अमेरिका, बेलायत, फ्रान्स विजयी भएर हामीलाई कुनै ठूलो लाभ भएको छैन । दुई–दुईवटा शहरहरु खरानी हुनेगरी जापानमा परमाणु बम प्रहार गर्ने त्यही अमेरिका होइन ? अनि हिटलर बढी अपराधी कि अमेरिका ? र, हिटलर विजयी भएको भए पनि हामीलाई कुनै ठूलो नोक्सान हुँदैनथ्यो । किनभने हिटलरको शासन पनि आकाशमा घाम–जून रहेसम्म र धर्तीमा मानवजाति रहेसम्म कायम हुन्थ्यो भन्ने कुनै जरुरी छैन । जुन व्यवस्था राम्रो छ, जनताको हितमा छ र निरंकुश छैन, त्यो लामो समयसम्म रहन्छ, र जुन व्यवस्था राम्रो छैन, जनताको हितमा छैन, निरंकुश छ, त्यसको आयु छोटो हुन्छ भन्ने कुरा दुनियाँको इतिहासले देखाएको छ । मानव जातिको स्वतन्त्रताको यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन, एउटा हिटलरको के कुरा ?

सोभियत भत्काएको ख्रुस्चेभ, ब्रेज्नेभहरुले हो र ? राष्ट्रियकरण गरेको ख्रुस्चेभ, ब्रेज्नेभहरुले हो र ? राष्ट्रियकरण गर्नु, राज्यसत्तालाई बलियो बनाउनु उनीहरुको संशोधनवादमा पर्छ ? यदि त्यसो हो भने, आज त्यो सोभियतको पक्षमा आवाज किन उठाइँदैन ? अनि अहिले विषय अगाडि आएपछि ‘यो पनि थियो, त्यो पनि थियो’ भनेर तर्क गर्नुको अर्थ के हो ?

नेपाली समाजको स्वरुपको सम्बन्धमा दुईवटा धारणाहरु अगाडि आएका छन् । एउटा धारणाअनुसार नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक छ र अर्को धारणाअनुसार यो अब पूँजीवादी भइसकेको छ । हामी पहिलो धारणाको पक्षमा छौँ ।

अहिले हामीसँग पनि ठोस तथ्य छैन । हामीले नेपाली समाजको चरित्रलाई हेरेर र सैद्धान्तिक आधारमा यो धारणालाई मानेका छौँ । सिद्धान्ततः कुनै पनि समाजको स्वरुप त्यसको उत्पादक शक्तिद्वारा निर्धारित हुन्छ । सामन्तवादको आधार जमिन हो र पूँजीवादको आधार पूँजी हो— अर्थात् सामन्तवादको उत्पादक शक्ति जमिन हो र पूँजीवादको उत्पादक शक्ति पूँजी हो । समाज रुपान्तरणका दुई कारणहरु हुन सक्दछन्— एउटा उत्पादक शक्तिमा परिवर्तन र अर्को मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन । त्यसकारण कुनै समाज रुपान्तरित भएको छ कि छैन भन्ने कुरा निश्चित गर्नका लागि यी दुई आधारहरुलाई हेर्नुपर्दछ । तर नेपालामा यिनीहरुमध्ये कुनै परिवर्तन भएको देखिँदैन । जमिनलाई पूँजीले पूर्णरुपमा प्रतिस्थापन पनि गरेको छैन र पूँजीको मात्रात्मक परिवर्तनबाट समाजमा गुणात्मक परिवर्तन पनि भएको छैन । पूँजी उत्पादक शक्ति बन्नको लागि त्यसले उत्पादन र पुनरुत्पादन गनुपर्दछ । त्यसबाट अतिरिक्त मूल्यको उत्पादन हुनुपर्दछ र निरन्तर पूँजी सञ्चय हुनुपर्दछ । तर नेपालमा यस्तो अवस्था देखिएको छैन । यदि नेपालमा पूँजीवाद स्थापित भएको भए यहाँ जमिनको उपयोग हुन्थ्यो, प्राकृतिक साधनहरुको उपयोग हुन्थ्यो, जनशक्तिको उपयोग हुन्थ्यो । तर यहाँ जमिनको उपयोग निरन्तर घटिरहेको छ, प्राकृतिक साधनहरुको औद्योगिक उपयोग भएको छैन र जनशक्ति पनि विदेश पलायन भइरहेको छ । जब यहाँ पूँजीले उत्पादनको काम गरिरहेको छैन र त्यो या त निष्क्रिय रहेको छ अथवा विनिमयको लागि मात्र प्रयोग भएको छ भने, त्यो कसरी पूँजी हुन्छ र नेपाल पूँजीवादी देश हुन्छ ? पूँजीले उत्पादन नगरेसम्म त्यसबाट समाजको रुपान्तरण हुँदैन ।

त्यसैगरी नेपाली समाज पूँजीवादी भइसकेको छ भन्ने धारणाको पक्षधरहरुसँग पनि कुनै ठोस तथ्य छैन । उनीहरुले पनि केही औपचारिक तथ्यांकहरु र समाजको उच्च–संरचनामा भएको परिवर्तनलाई हेरेर यो धारणा बनाएका छन् । एक त यी औपचारिक तथ्यांकहरु पूर्ण छैनन्, किनभने यिनीहरुले सम्पूर्ण नेपाली समाजको अवस्थाको प्रतिनिधित्व गर्दैनन् । अर्को कुरा, सामन्तवादको पूर्ण उन्मूलनको लागि उच्च–संरचनाको, आधेय संरचनाको परिवर्तन (उदाहरणको लागि, बहुदलीय व्यवस्था, गणतन्त्र, आदि) पर्याप्त छैन । त्यसको लागि आधार संरचनामा परिवर्तन हुनुपर्दछ । आधार संरचनामा परिवर्तन नभएकै कारण नेपालमा भएका राजनीतिक तथा सामाजिक परिवर्तनहरुले काम गरिरहेका छैनन् । आधार संरचनामा परिवर्तन भएको छ भने, उच्च–संरचनामा ढिलो–चाँडो अनिवार्य रुपमा परिवर्तन हुन्छ । तर उच्च– संरचनामा मात्र परिवर्तन भएको छ भने, त्यो फेरि फर्केर पछाडितिर जान्छ, प्रतिक्रान्ति हुन्छ । नेपालमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि अपेक्षित परिणाम नआउनुको कारण यही हो ।

नेपाल अर्धउपनिवेशी हुनुको परिणामस्वरुप यहाँ पूँजीवादी उत्पादन प्रणाली लागू हुनसकेको छैन र पूँजीवादी उत्पादन प्रणाली लागू हुन नसक्नुको परिणामस्वरुप यहाँको अर्थतन्त्र अर्धसामन्ती अवस्थामै रहेको छ । यसरी अर्धसामन्ती र अर्धउपनिवेशीको बीचमा घनिष्ठ सम्बन्ध छ ।
त्यसकारण हामी विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छौँ भने आफ्ना–आफ्ना धारणामा अडिग भएर बस्नुको सट्टा वास्तविक क्षेत्रमै गएर अनुुसन्धान गरौँ र त्यसबाट आएका तथ्यहरुका आधारमा निष्कर्ष निकालौँ । त्यसपछि मात्र अग्रगमनको लागि योजना बनाऊँ ।

त्यसैगरी नेपालको पूँजीवाद भर्खर जन्मेको शिशु, बच्चा पूँजीवाद हो भन्ने तर्क पनि गरिएको छ । तर यो शिशु, बच्चा पूँजीवाद होइन । २००७ सालमा जन्मेको पूँजीवाद, जुन अहिले ६५ वर्षको भयो, नवजात शिशु हुन्छ ? यो त बाउन्ने, बामपुड्के पूँजीवाद हो । बच्चाको त बढ्ने, विकसित हुने सम्भावना हुन्छ तर बाउन्नेको त्यस्तो सम्भावना हुँदैन । अथवा नेपालको पूँजीवाद रुखो जमिनमा उम्रेको मकैको बोटजस्तो हो, जसको आकार मकैको बोटजस्तो हुन्छ, त्यसमा सबै अंगहरु पनि हुन्छन्, तर त्यो फल्दैन । त्यसकारण नेपालमा पूँजीवादको विकास गरेर समाजवाद ल्याउने सपना वीरबलको खिचडीजस्तै हो ।

सामन्तवाद सामन्तहरुको व्यवस्था हो भन्ने तर्क गरिएको छ । तर सामन्तवाद जमिनमा आधारित व्यवस्था हो । सामन्तहरु त त्यसको परिणाम, उच्च–संरचना मात्र हुुन् । सामन्तहरु रुप मात्र हुन् । त्यसको सार उत्पादक शक्तिको रुपमा रहेको जमिन हो । एउटै सारका विभिन्न रुपहरु हुन सक्दछन् । दास श्रमले प्रचीन कालमा दास व्यवस्थाको निर्माण ग¥यो तर आधुनिक कालमा अमेरिकामा पूँजीवादको निर्माण ग¥यो । अहिले नेपालमा सामन्तवादले नव–सामन्तवादको रुप ग्रहण गरेको छ । नेपाली कांग्रेस नवसामन्तहरुको पार्टी बनेको छ । पूँजीवादले आफ्नो रुप बदल्छ भने समन्तवादले किन बदल्दैन ?

अर्धसामन्ती र अर्धउपनिवेशी अवस्थाबाट समाजवदमा जान सकिदैन भन्ने तर्क गरिएको छ । तर जानुपर्दछ । यसका दुई कारणहरु छन्— १) अन्य क्रान्तिहरु नहुने हँुदा एकमात्र विकल्प समाजवादी क्रान्ति हो र, २) विज्ञान–प्रविधिको माध्यमबाट यो सम्भव छ ।

रुसको क्रान्ति र चीनको क्रान्तिमा क्रान्तिको लागि अवस्था तयार थिएन । बाध्यात्मक अवस्थाले त्यसको लागि प्रयत्न गरियो । लेनिनको शब्दमा— क्रान्ति थोपरियो । हाम्रो अवस्था पनि यही हो ।

रुसमा समाजवादी क्रन्तिको लागि अवस्था तयार भएको छैन भन्ने प्लेखानोभ, काउत्स्की, आदिको तर्कको बावजुद लेनिनले समाजवादी क्रान्तिको उद्घोष गरे । चीनमा कोमिन्ताङको नेतृत्वमा पूँजीवादी (बुजुवा) क्रान्तिको वकालत गर्ने चेन तु–स्युको तर्कको विरुद्ध माओ त्से–तुङले कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ जावादी क्रान्तिको कार्यक्रम अगाडि ल्याए । यी दुवै घटना विद्यमान अवस्थाको बावजुद दुस्साहस नै थिए ।
अर्धसामन्ती र अर्धउपनिवेशी अवस्थाको नेपाली समाजमा समाजवादी क्रन्तिको कार्यक्रम अवलम्बन गर्नु नेपालको विशेषता हो । यदि हामीले नेपाली क्रन्तिको विशिष्टता खोज्दछौं भने, त्यो यही तथ्यमा पाउँदछांै ।

चिनियाँ क्रन्ति सिधै समाजवादतिर जान पनि सक्छ भन्ने कुरा माओ त्से–तुङले एक अमेरिकी पत्रकारसँगको साक्षात्कारमा गरेका थिए । उनको धारणा क्रमिक विकास अपरिहार्य होइन भन्ने थियो ।

नेपालमा आदिम समुदायहरु राउटे, कुसुन्डा, आदिको लागि अब दास व्यवस्था तथा सामन्तवादको चरण पूरा गर्नु आवश्यक छैन । उनीहरु अहिलेको नेपाली समाजिक व्यवस्थामा, जुन औपचारिक रुपमा पूँजीवादी व्यवस्था हो, समाहित हुन सक्दछन् ।

हामीले पूँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने प्रस्ताव पूँजीवादभित्र रहँदा बिटुलो होइन्छ भनेर शुद्धताको लागि ल्याएका होइनौँ । त्यसो त पुष्पलालले पनि कांग्रेस पार्टी छोडेर कम्युनिष्ट पार्टी बनाएका थिए । के उनले पनि कांग्रेस पार्टीभित्र रहँदा बिटुलो भइन्छ, बिग्रिइन्छ भनेर कम्युनिष्ट पार्टी बनाएका थिए ? अथवा सर्वहारा वर्गले पूँजीवादी वर्गको पार्टीभन्दा भिन्न कम्युनिष्ट पार्टीको निर्माण गर्नुपर्दछ भन्ने आवश्यकता बोध गरेर उनले त्यसो गरेका थिए ?

जस–जसलाई पूँजीवादभित्र बस्ने रहर छ, उहाँहरु त्यहीँ बस्नुभए हुन्छ, त्यही रमाउनुभए हुन्छ र पूँजीवादीहरुकै सहयोगमा, पूँजीवादीहरुकै भोट पाएर समाजवाद ल्याउनुभए हुन्छ । हामीलाई यसमा कुनै आपत्ति छैन, बरु हाम्रो शुभकामना छ ।

त्यसैगरी हामीले पूँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्नुपर्दछ भन्नुको अर्थ समाजभन्दा बाहिर शुन्य स्थानमा समाजवादको निर्माण गर्ने भन्ने होइन । हाम्रो तात्पर्य यही समाजभित्र समाजवादको निर्माण गर्नुपर्दछ भन्ने हो ।

एउटै समाजभित्र विभिन्न मानिसहरु हुन्छन्— कोही पूँजीवादी हुन्छन्, कोही समाजवादी हुन्छन् । नेपाली समाज पूँजीवादीहरुको मात्र हो र ? यहाँ कांग्रेस पनि छन् र कम्युनिस्ट पनि छन् । हामी कम्युनिष्टहरुलाई पूँजीवाद स्वीकार्य छैन, जसरी कांग्रेसहरुलाई समाजवाद—साम्यवाद स्वीकार्य छैन । त्यसैगरी एउटै समाजभित्र विभिन्न सामाजिक व्यवस्था पनि हुन सक्दछन् । त्यसकारण व्यवस्थाभित्र भन्नु र समाजभित्र भन्नु अलग कुरा हुन्, र त्यसैगरी व्यवस्था बाहिर भन्नु र समाजबाहिर भन्नु अलग कुरा हुन् ।

हाम्रो तात्पर्य पूँजीवादी व्यवस्थाभन्दा बाहिर र समाजभित्र समाजवादी व्यवस्थाको निर्माण गर्नुपर्दछ भन्ने हो, पूँजीवादी व्यवस्था र समाज दुवैभन्दा बाहिर निर्माण गर्ने कुरा होइन । हामी पूँजीवादको भण्डाफोर मात्र गरेर बसिरहने पक्षमा पनि छैनौँ र त्यसैमा विलीन भएर त्यसको उपयोग गर्ने पक्षमा पनि छैनौँ । हामी त पूँजीवादको विकल्पमा समाजवादको निर्माण गर्ने पक्षमा छौँ र त्यसको विरुद्धमा आउने सबै अवरोधहरु तथा चुनौतीहरुलाई दृढतापूर्वक सामना गर्दै अगाडि बढ्न चाहन्छौँ । यो सत्य हो कि अहिले हामी पूँजीवादले दिएको छुटहरुलाई नै उपयोग गर्न चाहन्छौँ, पूँजीवादकै लुपहोलभित्रबाट छिर्न चाहन्छौँ । तर यदि सबै बाटाहरु बन्द हुन्छन्, सबै विकल्पहरुलाई निषेध गरिन्छन् र हाम्रो सदाशयतालाई कमजोरी ठानिन्छ भने, त्यसपछि कुरा अर्कै हुन्छ । हामी कसैको अनुमति कुरेर, निष्क्रिय भएर, थकाइ मारेर बस्दैनौँ र एकपछि अर्को विकल्प खोज्दै आफ्नो यात्रामा निरन्तर अगाडि बढिरहन्छौँ ।

यो काम सजिलो छैन भन्ने कुरामा कुनै शंका छैन । तर सजिलो काम भए त हाम्रो भूमिका नै के हुन्छ र ? कम्युनिष्टहरु माओको भाषामा ‘सबैभन्दा बुद्धिमान’ र स्टालिनको भाषामा ‘अर्कै धातुले बनेका’ हुन्छन् भने, यति काम पनि उनीहरुले गर्न सक्दैनन् होला र ?
यहाँ आश्चर्यको कुरा त के छ भने, जसले पुराना सत्ताको समानान्तर जनसत्ताको धम्की दिनुहुन्छ, वहाँहरुले नै पूँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने कुराको विरोध गर्नुहुन्छ । यसको अर्थ या त वहाँहरुको जनसत्ता पूँजीवादको शाखा होे या त्यो वहाँहरुको घुर्की मात्र हो ।
कुनै पनि नयाँ व्यवस्थाको निर्माण प्रक्रिया क्रान्तिभन्दा पहिले नै सुरु हुन्छ । क्रान्तिले त त्यसलाई पूर्णता मात्र प्रदान गर्दछ । क्रान्तिले टाउकोले टेकेर उभिएको वस्तुलाई खुुुुट्टाले टेकाएर उभ्याउने काम गर्दछ । पूँजीवादको निर्माण पूँजीवादी क्रान्ति भएपछि सुरु भएको होइन । सामन्तवादकै गर्भमा भएको थियो । यूरोपमा पूँजीवादको आरम्भ पुनर्जागरणकालबाट हुन्छ, जबकि पूँजीवादी क्रान्ति बेलायतमा १६८८ मा र फ्रान्समा १७८९ मा भएको थियो ।

आफ्नो विकासको क्रममा नयाँ व्यवस्था एउटा निश्चित स्तरमा पुगेपछि समानान्तर वा द्वैत सत्ताको अवस्था सिर्जना हुन्छ । त्यसपछि क्रान्ति अनिवार्य हुन्छ । उदाहरणको लागि, रुसमा १९१७ को फेब्रुअरी क्रान्तिपछि द्वैत सत्ताको अवस्था सिर्जना भएको थियो । एउटा केरेन्स्कीको नेतृत्वमा वैधानिक सत्ता र अर्को सोभियतहरुको नेतृत्वमा मजदूर, किसान तथा सैनिकहरुको नयाँ सत्ता । र, १९१७ को अक्टोबरमा भएको क्रान्तिले सोभियतहरुको सत्तालाई स्थापित ग¥यो र पुरानो वैधानिक सत्तालाई अन्त्य गरिदियो । (हेर्नुहोस्, भी.आई.लेनिन, द्वैत सत्ता ।)
यसरी एउटै समाजभित्र दुई व्यवस्थाहरुको अस्तित्व हुन्छ । पूँजीवादी व्यवस्थाको समानान्तरमा समाजवादी व्यवस्थाको निर्माण समाजभन्दा बाहिर गएर होइन, समाजभित्रै गरिन्छ । त्यसमा जुन–जुन तत्वहरु, पक्षहरु र साधनहरु समाजवादको पक्षमा छन्, तिनीहरुको संयुक्त शक्ति तथा प्रयत्नद्वारा समाजवादको निर्माण हुन्छ । विगतमा नेपालमा माओवादीको नेतृत्वमा निर्माण भएको समानान्तर जनसत्ता यसको एउटा उदाहरण हो, जुन नेपाली समाजभित्रै बनेको थियो । नेपाली समाज पूँजीवादी भए पनि त्यो जनसत्ता त पूँजीवादी थिएन, समाजवादी वा नयाँ जनवादी नै थियो । नयाँ व्यवस्थाको निर्माण गर्नको लागि आवश्यक पर्ने तत्वहरुमध्ये केही त अहिले नै समानान्तरमा बनेका छन् । उदाहरणका लागि, पूँजीवादीहरुको आफ्नै विचारधारा छ र समाजवादीहरुको आफ्नै विचारधारा छ, पूँजीवादीहरुको आफ्नै संगठन र पार्टी छ र समाजवादीहरुको पनि आफ्नै संगठन छ, र समय–समयमा अलग–अलग सेना पनि बनेका थिए (नेपालमा शाही सेना र माओवादी जनमुक्ति सेना) । अब बाँकी दुई तत्वहरु अर्थतन्त्र र राजनीतिक सत्ताको निर्माण गर्न आवश्यक छ । यिनै पाँच तत्वहरु विचारधारा, संगठन, अर्थतन्त्र, सेना र राजनीतिक सत्ताको आधारमा समाजवादको निर्माण गर्न सकिन्छ ।

जसरी बच्चा जन्मिएपछि बन्दैन, आमाको गर्भमा पहिले बनिसकेको हुन्छ; चल्ला अण्डाबाट निस्किएपछि बन्दैन, अण्डाभित्र पहिले नै बनिसकेको हुन्छ, त्यसैगरी समाजवाद पनि क्रान्तिपूर्व नै बन्दछ ।
समाजवादका कामहरु वर्तमान पूँजीवादकै प्रावधान, नियम, कानुनमा रहेर गर्न सकिन्छ । त्यसकारण पूँजीवादले यसलाई निषेध गर्न सक्दैन । हामीले पूँजीवादकै विषय, पूँजीवादकै विधिलाई उपयोग गरेर पूँजीवादको निषेध गर्ने हो । उदाहरणको लागि, पूँजीवादले निजीकरणलाई मान्दछ, त्यसलाई उपयोग गरेर अलग संरचनाको निर्माण गर्न सकिन्छ, जसबाट त्यसको समानान्तर अर्को व्यवस्था बन्दछ । श्रमिक वर्गको विस्थापन गर्न विज्ञान–प्रविधिको उपयोग गरेको छ, त्यसकारण श्रमिक वर्गले पनि विज्ञान–प्रविधिको उपयोग गरेर पूँजीपति वर्गलाई विस्थापन गर्न सकिन्छ, यसलाई पूँजीवादले रोक्न सक्दैन ।
त्यसकारण पूँजीवादको समानान्तरमा समाजवादको निर्माण गर्ने कुरा न त असम्भव छ, र न अव्यावहारिक नै छ । यसलाई काल्पनिक भनेर टिप्पणी गर्नु वास्तविकतालाई नबुझ्नु हो ।

कार्यपत्रमा ‘व्यापारी समूह’ उल्लेख हुनुलाई प्रिन्ट मिस्टेक भन्ने टिप्पणी गरिएको छ । व्यापारी समूहको उल्लेख हुनको लागि प्रिन्ट मिस्टेक नै हुनुपर्दैन, योजनाबद्ध ढंगबाटै यसको उल्लेख गर्न सकिन्छ । किनभने व्यापारी भन्नासाथ भ्रष्टाचारी, नाफाखोर, कालो बजारी भन्ने अर्थ लाग्दैन । त्यसो त बुद्धिजीवी भन्नासाथ ढुलमुले, अवसरवादी भन्ने अर्थ लगाइन्छ नि । के बुद्धिजीवीको भूमिका नै ढुलमुले, अवसरवादी हुनु हो त ? उसको अरु भूमिका छैन ? अवश्य छ । बुद्धिजीवीको वास्तविक भूमिका ढुलमुले, अवसरवादी हुनु होइन, यो त उसको नकारात्मक पक्ष मात्र हो । उसको वास्तविक भूमिका समाजमा वैचारिक काम गर्नु हो, समाजको वैचारिक पक्षको प्रतिनिधित्व गर्नुु हो, जुन समाजको लागि आवश्यक छ । त्यसैगरी व्यापारीको आफ्नो वास्तविक भूमिका छ । भ्रष्टाचारी, नाफाखोरी, कालो बजार त उसको नकारात्मक पक्ष मात्र हुन । उसको वास्तविक भूमिका उत्पादक र उपभोक्ताको बीचमा सम्वन्ध स्थापित गर्नु हो । उसले विनिमयको काम गर्दछ । यसरी उत्पादकबाट उत्पादित वस्तुलाई उपभोक्तासम्म प¥ुयाउने कामका लागि उसलाई केही पारिश्रमिक दिँदा के बिग्रिन्छ त ? किनभने त्यो काम व्यापारीले नगरे पनि उत्पादक वा उपभोक्ताले गर्नै पर्दछ ।

व्यापार पूँजीवादीले मात्र होइन, समाजवादीहरुले पनि गर्नुपर्ला नि ? स्वदेशमा गर्नु नपरे पनि विदेशसँग त अवश्य गर्नुपर्ला । अनि त्यो काम कसले गर्ने होला ? प्रधानमन्त्रीले गर्ने कि वाणिज्य मन्त्रीले गर्ने होला ?

अन्तमा छलफलको क्रममा उठेका प्रश्नहरुमध्ये पुरानो समाजवादसँग सम्बन्धित एउटा प्रश्नको स्पष्टिकरण दिएर यो आलेखलाई समाप्त गर्न चाहन्छौँ । त्यो प्रश्न पुरानो समाजवादमा व्यक्तिको स्वतन्त्रता, चाहना, इच्छा र चेतनालाई महत्व दिइएन भन्ने थियो । यसमा हाम्रो धारणा के छ भने त्यसको कारण पुरानो समाजवाद राज्यनियन्त्रित हुनु थियो । अब यो समस्याको समाधान नयाँ समाजवादमा हुनेछ । किनभने नयाँ समाजवाद राज्यनियन्त्रित हुँदैन, समाज नियन्त्रित हुन्छ । व्यक्ति र समाजको बीचमा अन्तर्विरोध हुँदैन, कारण व्यक्तिहरुको समूहबाट समाज बन्दछ र समाजको एउटा अंश व्यक्ति हो । त्यसकारण व्यक्तिको हित र समाजको हित एउटै हो । व्यक्तिको विस्तृत, विकसित र सार्वभौमिक रुप नै समाज हो । फलस्वरुप व्यक्तिले समाजमा सम्पूर्ण इच्छा र चेतनाको अभिव्यक्ति प्राप्त गर्दछ । समाजले व्यक्तिको त्यस्तो इच्छा र चेतनालाई मात्र निषेध गर्दछ, जुन अनावश्यक र स्वेच्छाचारी हुन्छ । व्यक्तिको जुन इच्छा र चेतना आवश्यक र सार्वभौमिक हुन्छ, त्यो सामाजिक इच्छा र चेतना बन्दछ । त्यसकारण जब व्यक्ति र समाजको बीचमा सामञ्जस्यता स्थापित हुन्छ, तब ‘एउटाको उन्नति सबैको उन्नतिको शर्त हुनेछ’ ( माक्र्स– एंगेल्स, कम्युनिष्ट घोषणापत्र ) ।


प्रकाशित : २०७९ फाल्गुन १५, सोमबार १६:२९ गते

ताजा समाचार