अवस्था डरलाग्दो छ, सरकारको मात्र भर नपरौंः वर्षमान पुन


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले कोरोना महामारीका कारण मुलुकमा डरलाग्दो अवस्था सृजना भएको बताएका छन् । कोरोना संक्रमणको जोखिम ह्वात्तै बढिरहेका बेला नेता पुनले सरकारले सम्पूर्ण प्रयत्न अक्सिजनको उत्पादन, बितरण र समन्वयमा लगाउन अति आवश्यक भैसकेको बताए ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता पुनले भनेका छन्, ‘राजधानीमा रहेका ठुला ठुला अस्पतालले अक्सिजनका कारणले बिरामी लिन नसक्ने घोषणा गरेका छन् । त्यतिमात्र होइन उपचाररत बिरामी पनि राख्न नसक्ने बताइरहेका छन् । कति डरलाग्दो अवस्था छ ? प्रधानमन्त्री स्थिति नियन्त्रणमा छ भनिरहेका छन् । स्वास्थ्यमन्त्री कमिसनको कुरा गरिरहेका छन् ।’

नेता पुनले यस्तो बेला सरकारको मात्र भरोसा गरेर बस्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘स्वास्थ्य मन्त्रालयलाई अस्पतालमा उपचार क्षमता बाँकी रहेको बताउँदै मरेका र संक्रमितको आँकडा दिनमा फुर्सद छैन । यस्तो अवस्थामा सरकारको भरोसा मात्र भन्दा पनि राजनीति दल, भगिनी संगठन, नीजि क्षेत्र, संघ संगठन, बिदेशमा रहेका नेपाली दिदी बहिनी, दाजु भाइको विशेष सहयोग आवश्यक छ ।’


प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार ०५:४३ गते

ताजा समाचार