नाटक ‘मितज्यू’ भर्चुअलबाट मञ्चन


काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।
जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।

मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्यू’लाई मण्डलाले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत रिलिज गर्न पनि लागेको छ ।
मितज्यू नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनो अन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ । मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।

पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ । तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।
७ वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक ‘मितज्यू’ लाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरूका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो ।

बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको नाटक राजन खतिवडाको मञ्च परिकल्पनामा शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ । नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

प्रिमियर पश्चात अनलाइन एप्लिकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्तर्क्रिया गरिने समेत थियटरले विज्ञप्ति मार्फत जानकारी दिएको छ । अन्तरक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार ११:३४ गते

ताजा समाचार