
बीबीसी । शुक्रवार भारतीय वायु सेनाले आफ्नो ८९ औँ स्थापना दिवस मनाउँदा राजधानी दिल्लीसँग जोडिएको हींडन एअरबेसमा भारतीय सेनाले आफ्नो शक्ति प्रदर्शन गर्यो।
त्यसमा बोल्दै वायु सेनाका नवनियुक्त अध्यक्ष एअर चीफ मार्शल वीआर चौधरीले आफूले महत्त्वपूर्ण समयमा जिम्मेवारी सम्हालेको भन्दै बाहिरी शक्तिहरूलाई आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन गर्न नदिइने भारतले देखाउनुपर्ने धारणा राखेका थिए।
चीन र भारतबीच लामो समय यता जारी तनावका माझ चीनले तिब्बत क्षेत्रमा तीनवटा हवाई अड्डामा आफ्नो वायु सेना तैनाथ गरेको भारतीय वायु सेना अध्यक्षले नै बताइसकेका छन्।
अघिल्लो साता मात्रै उनले आगामी १०-१५ वर्षभित्र भारतीय वायु सेनालाई आफ्ना लडाकु स्क्वाड्रेन (सेनाको हवाई इकाइ)को स्वीकृत सङ्ख्या कायम गर्न सम्भव नहुने धारणा राखेका थिए।
उनले अगामी केही वर्ष भित्रै लाइट कम्ब्याट एअरक्राफ्ट (एलसीए)-एमके १ एको चारवटा युनिट, एडभान्सड मीडियम कम्ब्याट एअरक्राफ्टको ६ युनिट र मल्टी रोल फाइटर एअरक्राफ्टको ६ वटा युनिट भारतीय वायु सेनामा सामेल हुने बताएका छन्।
११४ विमान खरिद गर्ने तयारी
तर कैयौँ पुराना लडाकु विमानहरूलाई चरणबद्ध रूपमा प्रतिस्थापन गरिनेछ जसले गर्दा अर्को दशकमा कुल स्क्वाड्रेनको सङ्ख्या ३५ रहने ठानिएको छ।
तर के स्वीकृत भएको सङ्ख्यामा स्क्वाड्रेन तयार नहुनु र लडाकु विमान उपलब्ध नहुनु भारतीय वायु सेनाका लागि खतराको घण्टी हो? यो प्रश्नमा अधिकारीहरू ११४ वटा मल्टी रोल फाइटर एअरक्राफ्ट खरिद्को प्रक्रिया थालिएको जवाफ दिन्छन्।
अहिले भारतीय वायु सेनासँग करिब ६०० वटा लडाकु विमान रहेको छ।
अबको चार वर्षमा भारतीय वायु सेनाले चारवटा मिग-२१ स्क्वाड्रेनलाई चरणबद्ध रूपले समाप्त गर्ने भन्दै मिराज २,०००, जैगुआर र मिग-२९ लडाकु विमानलाई सेवाबाट बाहिर गरिदिने बताएको छ।
त्यसलाई एउटा चिन्ताको विषयका रूपमा लिइएको छ। फ्रान्ससँग गरिएको ३६ रफाल विमान खरिद सम्बन्धी सम्झौता अन्तर्गत नयाँ दिल्लीले २६ वटा विमान प्राप्त गरिसकेको छ।
सन् २०१९ को एप्रिलमा भारतीय वायु सेनाले १८ अर्ब अमेरिकी डलर लागतमा ११४ वटा लडाकु विमान खरिदका लागि टेन्डर जारी गरेको थियो।
त्यसलाई हालैका वर्षको सबैभन्दा ठूलो सैन्य खरिद कार्यक्रम मध्ये एकका रूपमा हेरिएको छ। वायुसेनाले ८३ वटा तेजस लाइट कम्ब्याट एअरक्राफ्टको पनि खरिद अघि बढेको भन्दै त्यसबाट आफ्नो युद्ध क्षमता कायम रहिरहने विश्वास व्यक्त गरेको छ।
अनिश्चितताको स्थिति
अवकाशप्राप्त एअर कमोडोर प्रशान्त दीक्षितले भारतले १ सय २६ वटा लडाकु विमान खरिद गर्नुको सट्टा ३६ वटा रफाल विमानमात्रै किनेपछि समस्या सुरु भएको बताए।
उनले भने, “त्यहीबाट भारतीय वायु सेनालाई अप्ठेरो पर्न सुरु भयो। सरकारको सुझाव अब लाइट कम्ब्याट एअरक्राफ्ट तेजसतिर छ। ४० वटा तेजसका लागि अर्डर दिइएको छ र थप ८३ तेजस किन्ने भन्ने कुरा गरिएको छ। त्यो आइपुग्दा आइपुग्दै १० वर्ष बित्छ।”
सन् २००७ मा नै भारतले १२६ वटा मीडियम मल्टी रोल कम्ब्याट एअरक्राफ्ट खरिद अघि बढाएको थियो।
झन्डै २० अर्ब डलर मूल्य पर्ने भनेको उक्त खरिदमा विभिन्न कम्पनीबीचको प्रतिस्पर्धाबाट रफाल छनौट भएको थियो।
तर सन् २०१५ मा भारतको सरकारले फ्रान्सको सरकारसँग सिधै सम्झौता गरेर ३६ वटा रफाल खरिद गर्ने निर्णय लिएपछि १२६ वटा विमान खरिद गर्ने प्रस्ताव रद्द भएको थियो।
कमोडोर दीक्षितले सरकारले अझै पनि पुराना मिराज २.००० विमान खरिद गरेको र त्यसले भारतीय वायुसेनाको आधुनिकिरणलाई पछि धकेल्ने बताए।
लडाकु विमानको कमीले भारतीय सेनालाई अनिश्चिततातर्फ डोर्याएको भन्ने धारणालाई अस्वीकार गर्न नसकिने उनको भनाइ छ।
लामो प्रक्रिया र महँगो मूल्य
जानकारहरूका अनुसार प्राविधिक रूपमा थप विशिष्टता थप भएसँगै लडाकु विमानहरूको मूल्य कैयौँ गुणाले बढेको छ।
यसले भारत जस्ता विकासशील देशहरूलाई नयाँ विमान खरिद गर्न चुनौती थपिरहेको छ।
भारतले फ्रान्ससँग खरिद गरेको ३६ वटा रफाल विमानको मूल्य ५९,००० करोड भारतीय रूपिँया रहेको बताइन्छ। उक्त खरिदलाई लिएर भारतभित्रै राजनीतिक विवाद पनि छ।
अवकाशप्राप्त एअर मार्शल पी के बारबोराका अनुसार लडाकु विमान खरिद गर्नु शोरूममा गएर कार किन्नु जस्तै होइन।
उनले भने, “भारतलाई पहिलो रफाल जेट आपूर्ति गर्न फ्रान्सलाई करिब चार वर्ष लाग्यो। जुनदिनबाट तपाईँले सम्झौता गर्नुहुन्छ पहिलो विमान आइपुग्नै छ देखि सात वर्षसम्म लाग्नसक्छ।”
आफ्नो आवश्यकता अनुरूप लडाकु विमानहरूमा उपकरणहरू जडान गर्नुपर्ने भएकाले यस्तो भएको भन्दै उनी थप्छन्, “यो लामो प्रक्रिया हो र यसमा निर्माताले उत्पादनलाई द्रुत बनाउन सक्दैनन्। १ सय १४ वटा जेटका लागि सम्झौतामा हस्ताक्षर भयो त्यस अनुसारको अन्तिम विमान आइपुग्न १५ वर्ष लाग्छ।”
चीनबाट खतरा
भारतीय वायु सेना आफ्नो युद्ध क्षमता बढाउनका लागि प्रयास गरिरहँदा चीनसँग भारतको तुलनामा करिब दुई गुणा लडाकु विमान छ।
दुवै देशबीच हालकै समयमा देखा परिरहेका तनावका माझ चीनबाट आउनसक्ने जोखिमसँग जुझ्न भारतीय वायु सेना सक्षम छ कि छैन भनेर चिन्ता व्यक्त हुने गरेको छ।
दीक्षितका अनुसार भारत र चीनबीच पारम्परिक युद्ध सुरु हुने सम्भावना एकदमै न्यून छ।
उनले थपे, “यदि त्यस्तो भयो भने पनि पनि भारतीय वायु सेनाका लागि अन्य देशहरूबाट मद्दत लिन सकिन्छ।”
उनले भारत पनि सामेल रहेको क्वाड जस्तो समूहले जुनसुकै अप्ठेरोको बेलामा पनि भारतीय वायु सेनालाई मद्दत गर्ने बताए।
एअर मार्शल बारबोरा भन्छन् अहिले पनि भारतीय वायु सेनासँग उच्च क्षमताका विमानहरू छन्।
उनले आफूलाई भारतको चीन या पाकिस्तानसँग ठूलो स्तरको लडाइँ हुन्छ भन्ने आफूलाई नलागेको बताए।
उनले भने, “भारत र यी दुवै देश परमाणु शक्ति सम्पन्न देशहरू हुन्। स्थानीय सङ्घर्षहरू हुनसक्छन् जहाँ वायु शक्तिको उपयोग हुन सक्छ। तर एउटा पूर्ण युद्ध हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन।”