माक्र्सले भनेजस्तो वर्तमान युगको विचारधार के हो ?
माक्र्सले भनेको द्वन्द्वात्मक भौतिकवाद नै वर्तमान युगको विचारधार हो । माक्र्सको समयमा द्वन्द्वात्मक भौतिकवाद पूर्णरुपमा कार्यान्वयन हुनसक्ने परिवेश बनेको थिएन । विचारधार आफ्नो युगको बौद्धिक सारनै हुन्छ । हरेक युगको आफ्नै दर्शन हुन्छ, आफ्नै संगठन हुन्छ, आफ्नै अर्थतन्त्र हुन्छ । त्यसकारण वर्तमान युगको दर्शन के हुने, संगठन के हुने, अर्थतन्त्र के हुने भन्ने कुरा यो युगलाई हेरेर निर्धारण गर्नुपर्ने हुन्छ । तसर्थ अहिलको विचारधार द्वन्द्वात्मक भौतिकवाद नै । यहाँ विचाराधाराको आधारमा संगठन बन्छ । अर्थतन्त्रको आधारमा समाज व्यवस्था बन्दछ । देशको रक्षाका लागि सेना बनाउनुपेर्ने हुन्छ । राजनीतिक सत्ता बनाउनुपर्ने हुन्छ । तसर्थ अहिले द्वन्द्वात्मक भौतिकवाद कार्यान्वयन गर्ने समय आएको छ । यो एउटा पाटो हो ।
अर्को पाटो हामी व्यागग्राउण्डमा जानुपर्ने हुन्छ । माक्र्सवाद भन्नेवित्तिकै त्यो काल्पनिक समाजवादबाट वैज्ञानिक समाजवाद हो । तर माक्र्सवाद कुन समयमा आएको थियो भन्ने कुरा पनि हामीले हेर्नुपर्ने हुन्छ । हामी माक्र्सवादलाई जगसूत्रका रुपमा लागुगर्न खोज्ने गल्ति गरिरहेका छौं, जुन सम्भव छैन ।
यहाँ पुँजीवादका विभिन्न चरणहरु हेर्नुपर्ने हून्छ । पहिलो, चौधौ शताब्दीदेखि सोह्रौं शताब्दीसम्मको पुँजीवाद संरक्षणवादी पुँजीवाद थियो, जसको आधार व्यापार थियो । त्यसलाई व्यापारिक पुँजीवाद पनि भनिन्छ । सोह्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्म प्रतिस्पर्धात्मक पुँजीवाद थियो । यसको आधार उद्योग थियो, जसलाई हामी औद्योगिक पुँजीवाद पनि भन्छौंं । त्यसैगरी १९०० देखि १९४५ सम्म एकाधिरकार पुँजीवाद थियो । त्यसको आधार वित्त थियो, जसलाई वित्तीय पुँजीवाद पनि भनिन्छ । यहाँ जोड्न खोजेको विषय के भने माक्र्सवाद प्रतिस्पर्धी पुँजीवादको चरणमा सिर्जना भएको थियो । तर अहिले हामी भूमण्डलीकृत अर्थात् एकीकृत पुँजीवादको चरणमा छौं । त्यसकारण माक्र्सवादका सार्वभौमिक कुराहरु नछोडेर अगाडि बढ्नुपर्ने हुन्छ ।
माक्र्सवादको चारवटा कुराले काल्पनिक समाजवादबाट वैज्ञानिक समाजवादमा भिन्न हुन्छ । तिनीहरु हुन्, एतिहासको भौतिकवादी धारणा, वर्गसंघर्षको सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र क्रान्तिकारी शक्तिको रुपमा सर्वहारा वर्ग । यिनै चार सिद्धान्तले वैज्ञानिक समाजवाद वैचारिक रुपले स्थापित भएको थियो ।
माक्र्सको समयमा पुँजीपतिहरुबीच दुस्मनिपूर्ण संघर्ष चलिरहेको थियो । तसर्थ माक्र्सले संसारभरी एकैपटक समाजवादी क्रान्ति हुन्छ भन्ने निस्कर्ष निकाल्नुभयो । जब प्रतिस्पर्धात्मक चरण पार गरेर पुँजीवाद एकाधिकार चरणमा रुपान्तरण भयो, तब लेनिनले नयाँ संलेश्ष गर्नुभयो । विश्वभरी एकैपटक क्रान्ति सम्पन्न हुँदैन । त्यसकारण एक वा केही देशमा क्रान्ति गर्नुपर्छ । उहाँले आफ्नो युगको आवश्यकताअनुसार नयाँ क्रान्तिको विधि तयार पार्नुभयो । यहाँ जोड्न खोजेका कडि के हो भने, लेनिनले माक्र्सवादको आधारभूत कुरा छोड्नुभएन, तर माक्र्सको युगलाई मान्नुभएन । त्याो माक्र्सको कुरा थिएन, युगको कुरा थियो । माक्र्सको युग र लेनिनको युग नै भिन्न थियो । आफ्नो युगअनुसार फिट हुनेगरी लेनिनले माक्र्सवादको सिर्जनात्मक विकास गर्नुभयो । नयाँ आयाम थप्नुभयो । तर पुँजीवादको विकास भइनसकेको अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा न समाजवादी क्रान्ति गर्न सकिन्छ न पुँजीवादी क्रान्ति गर्न सकिन्छ । त्यस्ता मुलुकहरुमा माओले नयाँ क्रान्तिको विधिका रुपमा जनवादी क्रान्तिको मोडल ल्याउनुभयो ।
यहाँ तीन चरणलाई हेर्दा, पहिलो, प्रतिस्पर्धी पुँजीवाद आएको माक्र्सवादी क्रान्तिको मोडल, जुन मोडलले संसारभरी एकैचोटी समाजवादी क्रान्ति हुन्छ भन्थ्यो । दोस्रो, एकाधिकारी पुँजीवादमा आएको लेनिनवादी क्रान्तिको मोडल, जसले एक वा केही देशमा समाजवादी क्रान्ति हुन्छ भन्यो । तेस्रो मोडलको रुपमा माओले विकास गर्नुभएको अर्धसान्ती र अर्धऔपनिवेशिक मुलुकमा गरिने जनवादी क्रान्ति थियो । लेनिनवादले क्रान्तिको लक्ष्य समाजवादलाई बनाउनुभयो र क्रान्तिको विधिको रुपमा आमजनविद्रोह भन्नुभयो । माआवादले क्रान्तिको लक्ष्य जनवाद र विधिका रुपमा दीर्घकालिन जनयुद्ध भन्नुभयो । माक्र्सको कुरा, लेनिनको कुरा र माओको कुरा त भिन्न आयो नि ।
मूलभूत कुरा उही छ, तर लेनिनको युगको सारतत्व लेनिनवादमा देखियो, माओको युगको सारतत्व माओवादमा देखियो । त्यसकारण अहिले नेपालको कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनमा आफ्नो युगको सारतत्व निकाल्ने काम पुगिरहेको छैन । यो दावाका साथ भन्न सकिन्छ । नेपालका कम्युनिस्ट आन्दोलनका लिडरहरुसँग, बौद्धिकहरुसँग, विश्व कम्युनिस्ट आन्दोलनको नेता र बौद्धिकहरुसँग यो विषयमा डिवेट गर्न सकिन्छ । ल्याउनुपर्यो नि त आफ्नो युगकाे बौद्धिक सारतत्व के हो भन्ने विषय ।
१९४५ यताको पुँजीवादको चरित्र बदलिएको छ तर समाजवादी क्रान्तिको विधि पुरानै छ । अहिलेको पुँजीवाद प्रतिस्पर्धी र एकाधिकार पुँजीवाद होइन, यो त एकीकृत पुँजीवाद हो । भूमण्डलिकृत पुँजीवाद हो । माक्र्सको पालामा माक्र्सले संश्लेषण गर्नुभयो । लेनिनका पालामा लेनिनले संश्लेषण गर्नुभयो । माओको पालामा माओले संश्लेषण गर्नुभयो । नेताको कार्यभार भनेको त यो हो नि त । आजको दार्शनिक र नेताहरुमाथि यो कार्यभार आएको छ ।
क्रान्तिको नयाँ संश्लेषण नभएकैले हो त विश्वबाट कम्यनिस्ट आन्दोलन विघटन हुँदै गएको ?
एकदम हो । हामीले हाम्रो युगको नयाँ संश्लेषण गर्न सकेनौं । एक्काइसौं शताब्दीको संश्लेषण गर्नुपर्यो नि त । अहिले पनि विश्व कम्युनिस्ट आन्दोलनका नेताहरु यो लेनिनको युग हो भनिरहेका छन् । तर यो लेनिनको युग होइन । यो समाजवादी नभए पनि त भन्न सकिन्छ नि । यो विडम्बनाको कुरा हो । कम्युनिस्ट आन्दोलनमा आएको समस्या केही व्यक्तिका कारणले आएको विल्कुल होइन । नयाँ युगको नयाँ सश्लेषण नर्ग नसकिएर हो ।
त्यसो हो भने के हो त नयाँ युगको नयाँ संश्लेषण ?
माक्र्सवादअनुसार हरेक व्यवस्थाको आधार उत्पादक शक्ति हो । उत्पादक शक्तिको आधारमा उत्पादन सम्बन्ध बन्छ । उत्पादन सम्बन्ध भनेको सामाजिक व्यवस्था हो । माक्र्सकालिन समाज मानव श्रममा आधारित थियो । तर अहिले उत्पादक शक्तिमा परवर्तन आएको छ । नेपालका कम्युनिस्टहरुले मानव श्रम नै प्रमुख हो भनेर बुझिरहेका छन् । माक्र्सको पालामा त्यो थियो । माक्र्सको पालामा त इन्लेक्ट्रोन, न्युट्रोन र प्रोटोन पनि थिएन भन्ने थियो नि । त्यो पनि पछि आएको हो । माक्र्स त त्यतिवेलाको हो नि ।
माक्र्सवादपछि सापेक्षताको सिद्धान्त आयो, क्वाण्टम सिद्धान्त आयो, क्रोनिक सिद्धान्तलगायतका थुप्रै सिद्धान्तहरु आए । क्लासिकल माक्र्सवादीहरुको बुझाई अहिले पनि मानव श्रममा आधारित समाजवाद हुनुपर्छ, राज्यको स्वामित्वमा आधारित समाजवाद हुनुपर्छ भन्ने छ । त्यो समयमा हरेक प्रणाली मानव रुममा आधारित थियो । रहेक काम मानवले गर्नुपथ्र्यो । मानवमा मानवशक्ति, कुशलता र नियन्त्रण थियो । तर अहिले मानवशक्तिको स्थान प्रकृतिले, कुशलताको स्थान यन्त्रले र नियन्त्रणको स्थापन स्वचालनले लिएको छ । समग्रमा भन्दा त्यसको स्थापन विज्ञान-प्रविधिले लिएको छ । हिजोको मानवश्रमको स्थानमा प्रमुख भएर उत्पादक शक्तिको रुपमा विज्ञान-प्रविधि आएको छ ।
नेपालका कम्युनिस्टहरुले विज्ञान-प्रविधिलाई प्रमुख उत्पादक शक्तिको रुपमा स्वीकार गरेको पाइन्दैन नि ?
त्यो उहाँहरुको अध्ययनको कमिले हो । यो घामजतिकै छर्लङ छ नि । विज्ञानप्रविधिले गर्ने काम मानवश्रमबाट सम्भव नै छैन नि । हिजोर जादा दुई महिना लाग्ने ठाउँमा प्लेन चडियो भने दुई घण्टामा पुगिन्छ नि । मानिसले जीवनभरमा नसक्ने सूचना प्रवाहका काम एकसेकेण्डमा सूचनाप्रविधिबाट संभव भएको छ । यो टेक्नोजोजिको कारण संभव भएको हो । यो विषयमा डिवेट पुगेको छैन, तर डिवेट अनिवार्य छ ।
विज्ञान-प्रविधि प्रमुख कसरी हो त ?
यहाँ क्रान्तिकारीहरु क्रान्ति गर्ने भनेर हिडिरहेका छन्, तर क्रान्तिकारी संकटको हल कसरी हुन्छ भन्ने कुरा त रिसर्च गर्नुपर्यो नि त । पुँजीवादमा आएको ठूलाठूला संकटहरुको हल पुँजीवादीहरुले यही विज्ञानप्रविधिको उपयोग गरेका हुन । यो बहस वास्तवमा नेपालका नेतृत्वहरुले बुझ्नुपर्ने हो । पुँजीवादीहरु विज्ञानप्रविधि प्रमुख हो भन्ने तर कम्युनिस्टहरु मानवश्रम प्रमुख हो भन्ने । यस्तो बुद्धिले कसरी समाजवादी क्रान्ति हुन्छ । समाजवादीहरुले विज्ञानप्रविधि प्रमुख हो किन नभन्ने ? यहाँ नयाँ आयामबारे अध्ययन र बहसको खाँचो छ ।
नेपालमा पनि रमेश सुनुवारले यो विषयमा बहस गर्नुभएको छ । उहाँले आफ्नो पुस्तक समाजवादको यात्रा र माक्र्सवादको सिर्जनात्मक विकासमा नयाँ दृष्टिकोण मा बृहत्तर रुपमा व्याख्या गर्नुभएको । यो पुस्तक सबैले पढ्न आवश्यक छ । यहाँको अवधारणामा थुप्रै बहस भएका छन् । हामी अभियानमा पनि जोडिएका छौं । विज्ञानप्रविधि कसरी निर्णायक भयो भन्नेबारे अध्ययन गर्नुपर्छ ।
प्रविधिविना आज मानिस अन्तरिक्षमा जान सम्भव थियो ? प्रविधिविना मानिसको यो प्रगति संभव थियो त ? एउटा विरामीलाई २० मिनेटभित्र अपरेशन गर्नुपर्ने छ । हिडेर गए दुई घण्टा लाग्छ तर एम्बुलेन्सले १५ मिनेटमा पुर्याइदिन्छ । अनि मान्छे मुख्य भयो कि प्रविधि ? त्यसकारण प्रविधि मुख्य भयो भन्ने कुरा स्वीकार नगर्नुपर्ने कुरै छैन ।
अबको समाजवादको मोडल के हो त ?
अहिले विज्ञानप्रविधि मुख्य उत्पादक शक्तिको रुपमा आएको छ । त्यसलाई आधार बनाएर मात्रै अबको समाजवाद निर्माण गर्न सकिन्छ । दोस्रो कुरा अबको समाजवाद विगतमा जस्तो राज्यको नियन्त्रमा होइन, समुदायको नियन्त्रणमा समाजवादलाई लैजानुपर्छ । अर्को कुरा राज्यको स्वामित्वमा नभएर अबको समाजवादलाई सामाजिक स्वामित्वमा स्थापित गर्नुपर्दछ । माक्र्सले गर्नुभएको संलेशषणमा पेरिस कम्युन ७२ दिन टिक्यो । लेनिनको संश्लेषणमा सोभियतसंघ ७२ वर्ष टिक्यो र माओले गरेको संश्लेषणमा भएको चिनियाँ जनवादी क्रान्तिले ल्याएको व्यवस्था आज पनि टिकिरहेको छ । त्यसकारण कम्युनिस्टहरु अहिले वैचारिक संकटमा छ । त्यसको समाधान गरेर नयाँ स्वरुपमा कम्युनिस्ट पार्टीको पुर्नगठन गर्नुपर्छ । विगतको समाजवादको मोडलमा मानव श्रम प्रमुख मानित्थ्यो । त्यो राज्यनियन्त्रि र राज्यको स्वामित्वमा हुन्छ भन्ने मानिन्थ्यो । जसका कारण सामाजिक स्वामित्वको समाजवाद बन्न सकेन । अब विज्ञानप्रविधिको जगमा वैज्ञानिक समाजवा निर्माण गर्नुपर्दछ । यो इतिहासको आवश्यकता हो ।