अबको बाटोः वैज्ञानिक समाजवाद


राजकुमार श्रेष्ठ

वर्तमान पुँजीवाद विज्ञान–प्रविधिको जगमा उभिएको छ । त्यसकारण विज्ञान–प्रविधिमा आधारित समाजवाद निर्माण गर्ने तर्फ कम्युनिष्टहरुले बहस केन्द्रित गर्न आवश्यक छ ।
…………………………………………

 

कम्युनिष्ट आन्दोलनले करिब दुई सय वर्षको यात्रा गरिसकेको छ । जर्मन दार्शनिक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले अगाडि सार्नु भएको वैज्ञानिक समाजवादको अवधारणा विश्वव्यापी व्यवस्थाका रुपमा अझै साकार भइसकेको छैन । तर आज पनि समाजवाद विश्व राजनीतिको केन्द्रीय बहसमा छ ।

फ्रान्सेली राज्य क्रान्ति र बेलायतको औद्योगिक क्रान्तिले युरोपमा पुँजपतिहरुको व्यापक उदय भयो । विशाल औद्योगिक केन्द्रहरु स्थापना भए । पुँजीपतिहरुको सम्पत्ति कमाउने होडले औद्योगिक मजदुरहरुमाथि चरम शोषण शुरु भयो । मजदुर वर्गको कठिक दैनिकीको कसरी अन्त्य गरेर समानता र न्यायपूर्ण समाज बनाउन सकिएला भनेर त्यस समयका विभिन्न विचारकहरुले आफ्ना अवधारणाहरु अगाडि सारे । उनीहरु पुँजीपतिहरुलाई नैतिक पाठ पढाएर दयालु बनाउने र मजदुरहरुलाई शोषणबाट मुक्त गर्न सकिन्छ भन्ने सोच्थे । उनीहरुले कल्पना गरेको समाजवाद यथार्थमा संभव थिएन ।

सेन्ट साइमन (१७६०–१८५०) ले फ्रान्सका रजौटा परिवारमा जन्मेका थिए । उनले बेलायती साम्राज्यविरुद्ध विरुद्धको स्वतन्त्रता संग्राममा अमेरिका पुगेर बहादुरीकासाथ लडेका थिए । उनले आफ्नो सम्पन्न जीवन छाडेर गरिब, निमुखा जनतालाई कसरी सम्पन्न बनाउन सकिन्छ भनेर जीवनभर लागिपरेका थिए । उनले इसाको धार्मिक शिक्षामा आधारिक नैतिकता र धार्मिकता भएको नवीन समाज निर्माणको कल्पना गरेका थिए । उनले पुँजीपति वर्गको अन्त्य र श्रमजीवी वर्गको शासन हुने परिकल्पनासमेत गरेका थिए । साइमन महिला र पुरुषमा समान अधिकार हुनुपर्छ भन्ने विचार राख्थे । उनलाई काल्पनिक समाजवादको महान चिन्तक मानिन्छ । तर उनको सपना साकार हुन सकेन ।

अर्का काल्पनिक समाजवादी चाल्स फुरियो (१७७२–१८३५)ले पुँजीपतिहरुको बेइमानी र भद्रगोलको चित्रण यसरी गरेका थिए: “पुँजीवादमा डाक्टरहरु रोगको महामारी चाहन्छन्, वकिलहरु घरघरमा मुद्दा भएको हेर्न चाहन्छन्, डकर्मी र सिकर्मीहरु सहर ध्वस्त भएको हेर्न चाहन्छन् ।”

फुरियोले समानताको फालेक्स समाज निर्माणको प्रस्ताव गरेका थिए । तर त्यो पुरा हुन सकेन । रोबर्ट ओवेन (१७७१–१८५८) ले समाजवादको कल्पना गर्दै उनले आफ्नो कारखानामा परोपकारी कार्यक्रम लागु गरे । यो बेलायतभरी लोकप्रिय पनि भयो । तर काल्पनिक समाजवादी विचारकहरुले परिकल्पना गरेको व्यवस्था यथार्थमा संभव हुन सकेन ।

काल्पनीक समाजवादलाई खारेज गर्दै कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले १८४८ मा वैज्ञानिक समाजवादको प्रस्तावनाका रुपमा कम्युनिष्ट घोषणा पत्र ल्याउनुभयो । कम्युनिष्ट घोषणापत्र द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादी विचारको जगमा अगाडि सारिएको राजनीतिक मार्गदर्शन थियो ।

पुँजीपतिहरुको दयामायाबाट मजदुरहरुले शोषणबाट मुक्ति पाउने कुरा असंभव थियो । माक्र्सकालिन पुँजीवाद औद्योगिक पुँजीवाद थियो । श्रमिकहरुको चरम श्रम शोषणबाट पुँजीवाद टिकेको थियो । माक्र्स एंगेल्सले संसारभरका मजदुरहरुलाई एक जुट भएर पुँजीवादी व्यवस्थाका शोषणका विरुद्ध लड्न आह्वान गर्नुभयो । उहाँहरुले नारा दिनुभयो– संसारका मजदुरहरु एक जुट होऔं ।

माक्र्सले आफ्नो महान कृति पुँजीमा पुँजीपतिले कसरी मजदुरहरुमाथि शोषण गर्छ र अकुत सम्पत्ति आर्जन गर्छन भन्नेबारे सुक्ष्म रुपमा उजागार गरिदिनुभयो । माक्र्सको पुँजीले पुँजीपतिको पर्दाफास गरिदियो र उहाँको विचारले मजदुरहरुलाई पुँजीवाद विरुद्ध लड्ने हतियार प्रदान गर्यो ।

माक्र्स–एंगेल्सले अगाडि सारेको समाजवादको अवधारणा पेरिस कम्युनका रुपमा देखा पर्यो तर त्यो ७२ दिन मात्र टिक्यो । त्यसपश्चाल लेनिनको नेतृत्वमा भएको सोभियत क्रान्तिबाट सोभियत सत्ताका रुपमा अर्को समाजवादी सत्ता स्थापना भयो । यसले रुसलाई अमेरिकासँग प्रतिस्पर्धा गर्नसक्ने महाशक्तिका रुपमा उठायो । सोभियतसंघ राज्य नियन्त्रित थियो र यसले सामुहिक उत्पादनमा जोड दियो । सोभियत महाशक्तिको रुपमा उदायएको रुसका लिडर लेनिनले पुँजीवादलाई मरणाशन्न अवस्थामा पुगेको भने तर उनले भनेकोजस्तो पुँजीवाद मरेन । त्यो पुँजीवाद नमर्नुको कारण के थियो भने पुँजीवाद विज्ञान–प्रविधिलाई पउयोग गरेर नयाँ अवतारका रुपमा आएको थियो ।

वर्तमान पुँजीवाद विज्ञान–प्रविधिको जगमा उभिएको छ । त्यसकारण विज्ञान–प्रविधिमा आधारित समाजवाद निर्माण गर्ने तर्फ कम्युनिष्टहरुले बहस केन्द्रित गर्न आवश्यक छ ।

माक्र्सवादले सामुहिक श्रममा आधारित समाजवादको अवधारणा अगाडि सारेको थियो । तर त्यो अवधारण अब विज्ञान–प्रविधिको अद्भुत क्षमताका कारण असान्दर्भिक बन्न पुगेको छ । अब विज्ञान–प्रविधिको प्रचुर मात्रामा अतिरिक्त उत्पान गर्नसक्ने क्षमतालाई उपयोग गरेर नयाँ समाजवादी अर्थप्रणाली विकास नगरी समाजवादी व्यवस्था टिक्न सक्दैन । समाजवादी व्यवस्था निर्माण गर्न सकिने आधार विज्ञान–प्रविधिले प्रचुर उत्पादन गरेर र उत्पादनको क्षेत्रबाट मानव श्रमलाई विस्तापित गरेर खडा गरिदिएको छ ।

विश्वको समाजवादी आन्दोलन आज वैचारिक संकटबाट गुज्रिरहेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि वैचारिक अन्यौलताका कारण, कुहिरोको काँग झै बनेको तितो यथार्थ हामी देखिरहेका छौं, भोगिरहेका छौं । तर विश्वभर समाजवादबारे नयाँ बहस र नयाँ अवधारणहरु भने आएका छन् ।

चिलीका समाजवादी लेखक मार्ताहार्नेकर (१९३७–२०१९)ले ल्याटिक अमेरिकी मुलुकहरुमा भइरहेको समाजवादी आन्दोलनहरुको गहन अध्ययन गर्दै आफ्नो पुस्तक “रिविल्डिङ द लेफ्ट” मा एक्काइसौं शताब्दीको समाजबारे महत्वपूर्ण विचारहरु प्रस्तुत गरेका छन् । उनले यस पुस्तकमा विज्ञान-प्रविधिले ल्याएकाे परिवर्तका सन्दर्भका लेखेका छन् । बदलि‌ंदाे परिवेशमा समाजवादी आन्दाेलन कसरी पुर्नगठन गर्न सकिन्छ भन्नेबारे धेरै महत्वपूर्ण सामग्री प्रस्तुत गरेका छन् । उनले सामाजिक बामपन्थ र पार्टी बामपन्थकाे भूमिकाबारे लेखेका छन् ।

अमेरिकी आर्थशास्त्री, सामाजशास्त्री तथा राजनीतिक सल्लाहकार जेरेमी रिफ्किन (जसले वैज्ञानिक र प्राविधिक क्रान्तिले अर्थप्रणाली, उत्पादनप्रणाली, समाज र वातावरणमा पारेको प्रभावबारे शशक्तरुपमा लेखेका छन्) ले आफ्नो चर्चित पुस्तक “शुन्य सिमान्त लागत समाज” मा वर्तमान विश्व व्यवस्थाका बारे गहन अनुसन्धानमूलक विचार प्रस्तुत गरेका छन् । उनले विज्ञान–प्रविधिले कसरी पुँजीवादी व्यवस्थाको अन्त्य र सहयोगी समाजको उदय कसरी हुँदै छ भन्नेबारे व्यापक रुपमा तथ्यहरु प्रस्तुत गरेका छन् ।

नेपालमा पनि समाजवादी व्यवस्थाबारे पार्टीभित्र र बाहिर विभिन्न स्तरबाट बहस भइरहको छ । वैज्ञानिक समाजवादी चिन्तक रमेश सुनुवारले विज्ञान-प्रविधिमा आधारित समाजवादको अवधारणा अगाडि सारेका छन् ।

सुनुवार विज्ञान, प्रविधि, पूर्वीय दर्शन, पाश्चात्य दर्शन, मानव जातिको सम्पूर्ण इतिहास, माक्र्सवाद र उत्तर-आधुनिकतावादबारे गहन अध्ययता हुन् । साथै उनी करिब एक दशकदेखि दर्शन, इतिहास र विज्ञानसम्बन्धी कक्षा पनि गरिरहेका छन् । सम्पूर्ण जीवन समाजवादी क्रान्तिको नयाँ विधिको खोजीमा र माक्र्सवादको सिर्जनात्मक विकासमा लगाएका सुनावारले आफ्नो पुस्तक “माक्र्सवादको सृर्जतात्मक विकासमा नयाँ दृष्टिकोण” मा लेखेका छन्:

“समाजवादको तीनवटा प्रमुख आधारहरु (मूल्यको श्रम–सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र वर्ग–संघर्षको सिद्धान्त) सबैमा विज्ञान–प्रविधिले आमूल परिवर्तन ल्याएको छ । मानव श्रमलाई उत्पादन प्रक्रियाबाट विस्तापित गरेर मूल्यको श्रम सिद्धान्तमा परिविर्तन परिवर्तन आएको छ । प्रकृतिको असीम क्षमताको उपयोगबाट अतिरिक्त मूल्यको क्षेत्रमा पनि आमूल परिवर्तन भएको छ । अब अतिरिक्त मूल्यको प्राप्तिमा मानव श्रमको शोषण गर्न आवश्यक छैन । प्रकृति स्वयंमा अत्यधिक उत्पादनको क्षमता छ र मानव श्रम उत्पादनको क्षेत्रबाट विस्तापन भइसकेको छ । …विज्ञान–प्रविधि भनेको सम्पूर्ण मानव समाजको सम्पत्ति हो, सबैको साझा हो । यो कुनै निश्चित ठोस वस्तु होइन, जुन कसैले निजी स्वामित्वमा सीमित हुनसक्छ । यो त प्रक्रिया हो, सिद्धान्त हो, ज्ञान हो, जसलाई जोसुकैले अध्ययन गर्न, सिक्न, विकास गर्न र उपयोग गर्न सक्दछ । …. अब सम्पूर्ण मानज जातिको ऐतिहासिक जिम्मेवारी विज्ञान–प्रविधिको आधारमा वैज्ञानिक सम्यवादको निर्माण गर्नु हो । विज्ञान–प्रविधिको गम्भीर अध्ययन, चौतर्फी विकास र अत्यधिक उपयोग नै आगामी साम्यवादको आधार हुनेछ ।”

नेपालका आम कम्युनिष्ट नेताहरु कित सत्ताको लुछाचुँडीमा व्यस्त छन्, सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु अझै शास्त्रीय माक्र्सवादभित्रै क्रान्तिको पुराना विधिहरुबाटै जनवादी-समाजवादी आन्दोलनका लक्ष्यमा पुग्ने असफल प्रयास गरिरहेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा अब समाजवादी आन्दोलनका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्दै आउनुभएको छ । तर उहाँले पनि नेपालको सन्दर्भमा समाजवादी आन्दोलनलाई कस्तो मोडलबाट संगठित गर्न सकिन्छ भन्ने विषयमा कुनै लिखित अवधारणा ल्याउनु भएको छैन । कम्युनिष्ट नामकै सरकारबाट प्रतिबन्धमा परेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एकीकृत क्रान्तिको अवधारणासहित केही वर्षदेखि वैज्ञानिक समाजवाद स्थापनाका लागि भनेर संघर्ष गरिरहेको छ । तर त्यसले पनि क्रान्तिको नयाँ विधिको विकास गर्न सकेको छैन् ।
सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पुँजीवादको चरित्र बदलिएको धारणा विभिन्न लेख र अन्तरवार्ताहरु राख्दै आएका छन् । उनले लखेका छन्ः

“अहिलेको पुँजीवाद डाटा पुँजीवाद हो । यो चरित्र बुझिएन भने पुरानो व्याख्या गरेर बनाइने योजनाले काम गर्दैन । पुरानो पुँजीवादको चरित्र बाटो बनाउने, रेल बनाउने, ठूला बिल्डिङ बनाउने थियो । हामी त्यही अल्मलिरहेका छौं । आज अमेरिका र चीनबीच कसले बढी सूचना संकलन गर्ने र को शक्तिशाली हुने प्रतिस्पर्धा भइरहेको छ ।”

तर नेता पाण्डेबाट पनि कुन मोडलबाट समाजवादी तथा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा भने कुनै अवधारणा आएको छैन । उहाँ माक्र्सवादको शास्त्रीय विधिबाट बदलिंदो वर्तमान विश्वमा समाजवादी आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने ठाउँमा भने पुग्न भएको देखिन्छ ।

समाजवादी क्रान्तिका लागि हामीलाई चाहिएको छ– समाजवादी अर्थतन्त्र कस्तो हुने ? समाजवादको स्वरुप के हुने ? क्रान्तिको विधि के हुने भन्नेबारे नयाँ दृष्टिकोण । कस्तो अर्थतन्त्र ? कस्तो स्वरुपको समाजवाद भन्ने विषयमा समाजवादी क्रान्तिको विधिका सम्बन्धमा वैज्ञानिक समाजवादी चिन्तक रमेश सुनावारको सैद्धान्तिक प्रस्तावना यस्तो छः

“वर्तमान भूमण्डलीकृत पुँजीवादको विरुद्ध बन्ने समाजवादी अर्थतन्त्र, विज्ञान–प्रविधिमा आधारित, एकीकृत र भूमण्डलीकृत हुनुपर्छ । …नयाँ समाजको स्वरुप विज्ञान–प्रविधिमा आधारित समाजवाद, सामाज नियन्त्रित समाजवाद र सामाजिक स्वामित्वमा आधारित समाजवाद हुनेछ । ..समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी शक्तिहरुले पुरानो समाजिक व्यवस्थाका विरुद्ध नयाँ सामाजिक व्यवस्था निर्माण गर्नुपर्छ ।”

सुनुवारले आफ्नो पुस्तक ‘समाजवादको यात्रा र माक्र्सवादको सिर्जनात्मक विकासमा नयाँ दृष्टिकोण’ मा सामाजवादी क्रान्तिबारे नयाँ प्रस्तावना अगाडि सार्नु भएको छ । विगतका समाजवादी आन्दोलनको सम्पूर्ण योजना पुरानो राज्य सत्तालाई कब्जा गर्ने या ध्वंश गर्ने थियो, जसको परिणाम कम्युनिस्ट क्रान्तिले न पुरानो राज्यसत्ता कब्जा गर्न सक्यो न ध्वंश नै । आन्दोलनबाट पुरानै सत्तामा पुगेका कम्युनिस्ट पार्टीहरु पनि यति धेरै पतन भए कि पुनः त्यो क्रान्तिको बाटोमा फर्कनै सकेन । तसर्थ, कम्युनिस्टहरुले आफ्नै सत्ता निर्माण गर्ने बाटोमै हिड्नु पर्ने देखिन्छ ।

सम्पूर्ण समाजवादीहरुले समाजवादी क्रान्तिलाई अगाडि बढाउन वर्तमान विश्वमा विज्ञान र प्रविधिले सूचना र उत्पादनको क्षेत्रमा ल्याएको असाधारण क्रान्तिमाथि गहन अध्ययन, अनुसन्धान र त्यही अनुरुपकाे सामाजिक र सांगठानिक संरचना निर्माणमा अर्थात् वैज्ञानिक समाजवाद निर्माणमा जुट्न आवश्यक छ ।


प्रकाशित : २०७८ कार्तिक २८, आईतवार १६:०७ गते

ताजा समाचार