आफ्नै पार्टी सरकारमा भए पनि मूल्यवृद्धिको कडा प्रतिवाद हुन्छः अध्यक्ष पञ्चा सिंह


अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) अहिलेको सरकारमा भए पनि उसले गर्ने नराम्रा कामप्रति खरो उत्रने बताएकी छन् । हालै आयल निगमले गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिलाई खारेज नगरे आन्दोलन जारी राख्ने उद्घोष गरेकी छन् ।

सोमबार राजधानीको संवाद डबलीले पेट्रोलियम पदार्थ सम्बन्धी गरेको आन्दोलन जनताको पक्षमा नहुन्जेल जारी राख्ने बताइन् । निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकाउने कार्य गरेकोले पछिल्लो समयमा बढाएको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

अध्यक्ष सिंहले अत्यधिक मूल्यवृद्धि गर्दा पनि घाटा भयो भन्ने कुरा हास्यास्पद भएको बताउँदै प्रश्न गर्दै भनिन्,“भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा १ सय ३६ मा बिक्री गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?” सोमबारै आपूर्ति मन्त्रालयमा छलफल भएको विषयलाई उप्काउँदै, निगमको व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नु पर्ने सर्त राखेर वार्ता स्थगित गरेको बताइन् ।

अध्यक्ष सिंहले भारतबाट आवश्यकताभन्दा बढी तेल आउने र त्यसको हिसाब गायब रहनु, आयल निगमजस्ता संस्थामा जानलाई मानिसको लुछाचुँडीले पनि त्यहाँ भ्रष्टाचार हुने कुरा प्रष्ट भएको बताइन् । उनले आयल निगमका कर्मचारीहरूको बोनसको विषयमा आफूले विरोध नगरेको बरु आयल निगमलाई घाटा भन्दा नाफा भएको देखाएर घर बंगला अनि गाडीमा चढ्न सुझाव दिइन् । त्यसैगरी अनेरास्ववियुका अध्यक्ष सुदन पराजुली र अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले पनि मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।


प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १४:२४ गते

ताजा समाचार