![](https://nayaprint.com/wp-content/uploads/2021/12/thumb.jpg)
काठमाडौँ — कमल थापाले राप्रपा अध्यक्षमा पराजित भएपछि पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् ।
आइतबार बिहान मतपरिणाम सार्वजनिक भएपछि हार स्वीकार्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत बधाई दिएका छन् । राजेन्द्र लिङ्देनले थापालाई २०० मतले हराएका हुन् ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदै थापाले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई जीबीबी शाह धन्यवाद ।’ यसअघि लिङ्देनले आफूलाई निर्मल निवासको समेत साथ रहेको दाबी गरेका थिए ।
थापाले सिंगो मुलुक गणतन्त्रमय भएका बेला पनि राजसंस्था बोकेर हिँडे पनि त्यसलाई बेवास्ता गरिएको बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’