कोशी प्रदेशः पदम लिम्बुको शवयात्राका क्रममा झडप


विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको छ ।

आन्दोलनरत पक्षले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार आन्दोलरत पक्षका ४ जना सामान्य घाइते भएका छन् । आन्दोलरत पक्षले भने ६ जना सामान्य घाइते भएको बताएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि ८१ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक पोखरेलेले बताए । निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास प्रहार गरेको उनले बताए ।

गत चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

पहिचान पक्षधरले शहीद घोषणाको माग गर्दै शव बुझ्न मानेनन् । सरकारले २४ चैतमा शहीद घोषणा गरेपछि आन्दोलनरत पक्ष उनको शव बुझ्न तयार भयो । पूर्व निर्धारित कार्यक्रम अनुसार मृत्युको २९ दिनपछि आज अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदाञ्जलीका लागि शव विराटनगर ल्याइएको थियो ।

आन्दोलनरत पक्षले प्रहरीलाई रोडशेष चोकमा शान्तिपूर्ण रुपमा श्रद्धाञ्जली सभा गर्ने जानकारी गराएको थियो । तर इटहरीबाट शव राखिएको एम्बुलेन्स भन्दा अगाडिको गाडीका आएका लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले प्रहरीको ब्यारिगेट हटाएर मुख्यमन्त्री कार्यालय अगाडि जान खोजे । आक्रोशित भिडले ब्यारिगेट हटाउन माग गर्दै प्रहरीमाथि ढुंगामुढा गरे ।

ब्यारिगेट हटाएपछि झडप भयो । आक्रोशित भिडले ढुंगामुढा गरेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्यो । आन्दोलनरत पक्षले पेट्रोल बम पनि प्रहार गरेको प्रहरीको दाबी छ ।

आधा घण्टा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा पनि प्रहार गरेको थियो ।

श्रद्धाञ्जलीसभा गर्ने भनिएको स्थान रोडषेश चोक तनाबग्रत भएपछि आन्दोनरत पक्षले महेन्द्र चोकमा श्रद्धाञ्जलीसभा गरेको थियो । श्रद्धाञ्जली सभापछि लिम्बुको शवलाई अन्येष्टिका लागि मोरङको बेलबारीस्थित उनको घरमा लगिएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।


प्रकाशित : २०८० बैशाख ९, शनिबार २१:०६ गते

ताजा समाचार