झापाको बिर्तामोडमा पनि मनाइयो उँभौली (तस्विरहरु)


झापा । आज बुद्ध जयन्तीका दिन भूमिपुत्र किराँतहरुको महान चार्ड उँभौली पर्व देशभर भव्यतापूर्वक मनाइएको छ । यही क्रममा झापा जिल्ला बिर्तामोड नपा १० स्थित कालिमुनी जहरमान टोलमा पनि उँभौली मनाइएको छ । समाजसेवी  तथा सुनुवार समाज बिर्तामोड १०, झापाका अध्यक्ष मनु मुखियाका अनुसार सुनुवार समुदायको महान चार्ड श्याँदर पिदार (उँभौली) ५०८३, एक आपसमा शुभकामना आदानप्रदान गरि भव्य रुपमा सम्पन्न भएको छ ।

बिश्वमा शान्ति होस्, लगाएको बालिनाली राम्रो उब्जनी होस् भनी भूमि पूजिएको चण्डीका मुख्य पुजारी (मुल नासो) कुबेर धन मुखियाले बताए।
प्रत्येक वर्ष किराँत-राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाएका हुन् । हाम्रा परम्परा र संस्कृति लोप हुँदै गइरहेको अवस्थामा किराँतहरुले भने आफ्नै समुदायको सक्रियतामा उँभौली सांस्कृतिक पर्वका रुपमा र आफ्नो पहिचानका रुपमा मनाउँदै आएका छन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । किरात समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि बेंसीबाट लेक अर्थत् उँभो लाग्ने किराँत समुदायको जन विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्ने गर्दछन । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किरातहरुको जन विश्वास छ । यस पर्वका अवसरमा सुनुवार समुदाय लगायत किराँत समुदायका पनि विभिन्न सम्प्रदायबीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष डेढ महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधि मात्र पूरा गर्ने तयारी गरिएको छ ।


प्रकाशित : २०८० बैशाख २२, शुक्रबार १६:४७ गते

ताजा समाचार