काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ ।
नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।
आज प्रकाशित टेन्डर आह्वानमा दुई एमए–६० र तीन वाई १२ ई जहाज अहिले जे जस्तो अवस्थामा छन् त्यही अवस्थामा खरिद गर्न फेब्रुअरी ४ सम्ममा नेपाल एयरलाइन्स कर्पोरेसनको काठमाडौं कान्तिपथस्थित कार्यालयमा सिल्ड टेन्डर कागजात बुझाउन भनिएको छ।
यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ ।
निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।