सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- सबै अस्तित्वको सम्मान गर्छु


काठमाडौं । पछिल्लो समय आफ्नो एउटा अभिव्यक्तिका कारण विवादित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू सबै धर्मका आस्थावानको ‘अभिभावक’ भएको बताएका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै किरातीले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न अपिल गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दू भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने, फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौं । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’

हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका किरातीले क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोहीको संज्ञा दिएका थिए ।

‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ उनले उत्तेजित बन्दै भनेका थिए ।


प्रकाशित : २०८० पुष ५, बिहीबार १३:२१ गते

ताजा समाचार