काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्।
शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि अर्को क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।
त्यसक्रममा प्रधानमन्त्रीले नेपालमा धेरै सम्भावनाहरू रहेको पनि बताए । ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ’, उनले भने, ‘यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा ।’ उनले जनतामा आत्मविश्वास जगाउने कि निराशा भन्ने प्रश्न गर्दै भने, ‘हामीले आत्मविश्वास जगाउने काम सुरु गरेका छौ ।’
केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गरिएकोप्रति कटाक्ष गर्दै भने, ‘मानिसहरूमा एउटा बडो नकारात्मक भाष्य निर्माण, जनतालाई निराश पार्ने, नेपाल अँध्यारो छ बस्न लायक देश छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म तपाईँहरूलाई यो ऐतिहासिक दिन आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन आग्रह गर्दछु ।’