बाघको आक्रमणबाट नवलपुरमा सासु–बुहारीको मृत्यु


काठमाडौं । नवलपरासी पूर्व (नवलपुर)मा बाघको आक्रमणबाट सासु–बुहारीको मृत्यु भएको छ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ खहरे जंगलमा घाँस काट्न गएका सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक (एसपी) नरहरी रेग्मीका अनुसार विनयी त्रिवेणी गाउँपालिका–१ की ५९ वर्षीय मनावेदी पौडेल र उनकी बुहारी २९ वर्षीया विष्णु पौडेल आइतबार दिउँसो घर नजिकैको खहरे जंगलमा घाँस काट्न गएका थिए।

घाँस काट्न गएका उनीहरु साँझसम्म पनि नफर्किएपछि स्थानीयले खोजी सुरु गरेका थिए। स्थानीयले खोजी गर्ने क्रममा सोमबार बिहान खहरे जंगलमा क्षतविक्षत् अवस्थामा दुवै जनाको शव फेला परेको हो।

मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको देखिएको प्रहरीको भनाइ छ। शवको परीक्षणका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको छ।


प्रकाशित : २०८० पुष ९, सोमबार १०:२४ गते

ताजा समाचार