​क्रमभंगताको अपिल गर्दै प्रधानमन्त्रीले भने: भागबण्डाका लागि अब शीर्ष बैठक बस्दैन


काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि शीर्ष दलको बैठक सत्ताको वितरण गर्नका लागि नबस्ने बताएका छन् । दल, नागरिक समाज र राज्यका निकायलाई क्रमभंगताको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
‘दल, नागरिक, समाज र राज्यका सबै निकायलाई क्रमभंगताको अपिल गर्छु । शीर्ष बैठक सत्ताको वितरण गर्न होइन, विश्वविद्यालय सुधार्न, परराष्ट्र मामिलाको विषयमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न, लगानी गर्न र राष्ट्रको छवि सुधार्न बस्नेछन्,’ प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भने ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले समाजमा नकारात्मकताको डढेलो लगाउने प्रयास भइरहेको पनि बताए । नियोजितरूपमै नकारात्मकतालाई मलजल हुन थालेको उनको भनाइ छ ।
‘नेपाली समाजमा अत्यन्त चिन्ताजनकरूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाउँदै गरेको देखिरहेको छु । सकिँदैन, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले समाजमा जरा गाडेको छ,’ प्रधानमन्त्रीले भने, ‘एकथरिले नियोजित रूपमै नकारात्मकतालाई मलजल गरिरहेका छन् ।’
देशमा नराम्रो मात्रै भइरहेको छ भन्ने देखाउन खोजिएको गुनासो समेत उनले गरे ।
नेपालले विदुयुत् उत्पादनमा मारेको फड्कोलाई उदाहरणका रूपमा पेश गर्दै प्रधानमन्त्री प्रचण्डले देशको भविष्य उज्ज्वल रहेको दाबी गरे ।
विद्युत विकासका सन्दर्भमा ८० वर्षमा नभएको काम एक वर्षभित्रमा भएको उनको दाबी छ ।


प्रकाशित : २०८० पुष १०, मंगलवार १८:४९ गते

ताजा समाचार