स्थिरता र समृद्धिका लागि बाबुरामले सुझाए तीन शासकीय शैली


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटि देखिएको बताएका छन्।

कांग्रेसद्वारा आयोजित मेलमिलाप दिवसको अवसरमा धारणा राख्दै उनले सुशासन र समृद्धि ल्याउनका लागि समस्याको समग्रतामै हल खोज्नुपर्ने प्रस्ताव गरे।

भट्टराईले पहिलो उदाहरण जर्मनीको दिए। भने, ‘जर्मनीमा एन्जेला मार्केलले सोसल डेमोक्र्याट र क्रिश्चियन डेमोक्र्याट जस्ता अपोजित पार्टीहरू मिलेर मिलेर १०/१५ वर्ष मजाले चलाए। ठूलो संकट पार गरे।’

उनले जर्मनीमा जस्तै गरी यहाँ पनि सबै प्रमुख दलहरूको संयुक्त सरकार बनाउन सकिने उनको प्रस्ताव थियो। ‘पाँचै वर्ष सरकार चल्ने बनाऔं। किन भागबण्डा गर्नुपरेको छ? एउटा मान्ने मान्छेको नेतृत्वमा पाँचै वर्ष सरकार चलाऔं न। नीति कार्यक्रम बनाऔं‌। त्यसलाई कार्यान्वयन गरौं’, उनले भने।

भट्टराईले दोस्रो उदाहरण दिए स्विजरल्याण्डको। भने, ‘स्वीजरल्याण्डको जस्तो पूर्ण समानुपातिक गरौं। सबै सरकारमा बसौं। जसले जति प्रतिशत मत ल्याउँछ, ती सबै सरकारमा बस्ने।’

जर्मनी र स्विजरल्याण्डको जस्तो गर्न नसक्ने हो भने प्रत्यक्ष निर्वाचन राष्ट्रपतिको प्रणालीमा जान उनको प्रस्ताव थियो। ‘त्यसो भयो भने पाँच वर्ष स्थायी सरकार बन्छ। त्यसो नगरेर यही प्रणाली अपनाइ राख्ने हो भने बन्दैन बन्दैन। अनि युवाहरू देश छोडेर हिँड्ने। तपाईं हाम्रै छोराछोरी देशमा नबस्ने। अनि हामीले लोकतन्त्रको डम्फु बजाएर हुन्छ?’

भट्टराईले ६/६ महिनामा र वर्षवर्ष दिनमा सरकार फेरेर सुशासन नआउने बताए। ‘१०/१५ वटा पार्टीको सरकार बनाउँछौं। सबैलाई मन्त्री चाहिन्छ। आफ्नै पार्टीभित्र पनि मन्त्री बनाउन ६/६ महिना, ३/३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन गर्छौं। अनि कहाँबाट सुशासन हुन्छ?’, उनको प्रश्न थियो।


प्रकाशित : २०८० पुष १६, सोमबार १५:५६ गते

ताजा समाचार