चक्रवर्तीका अध्यक्षलाई कलेजभित्र आफ्नै छोराले हाने खुकुरी, नर्भिक अस्पताल भर्ना


काठमाडौं । चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि छोरा निरजसहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउमा चोट छ।

प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, सञ्चालकलाई कुटपिट गरेको आरोपमा उनका छोरा निरजसहित २४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा कैलालीका धिर्खबहादुर रोकाया, चक्रमपथका अभिनक सिंह राठौर, सुनसरीका क्षितिज कोइराला, खोटाङका अमरबहादुर विक, उदयपुरका जीवन भुजेल, ललितपुरका केशव देशार, सल्यानका रिजन केसी र मकवानपुरका भिमलाल वाइवा छन् ।

त्यस्तै, मकवानपुर घर भइ चापागाउँ बस्दै आएका मनिष थिङ, ललितपुरका रजित बेन्जकार, संजय महर्जन, काभ्रेका भिमबहादुर तामाङ, चैरमान लामा, हुम्बु लामा, छेगु लामा, ललितपुरका वीजेन्द्र महर्जन, झापाका विकास मोदे, लतिलपुरका जितेन्द्र श्रेष्ठ र मकवानपुरका सञ्चार सिंह भोलान पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा बझाङका सेरेन जोशी, काभ्रेका सुजित दाहाल, गोरखाका शुशान्त पाण्डे र बाग्लुङका जगत आचार्य छन् । उनीहरुलाई प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको एसपी ढुंगेलले बताए ।

भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। आक्रमणमा पर्नुअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए।

प्रहरीले मङ्गलवार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेको बुझिएको छ।


प्रकाशित : २०८० पुष २४, मंगलवार १६:०२ गते

ताजा समाचार