काठमाडाैँ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गरेको छ। त्यो सूचीमा नेपालको मुस्ताङ पनि समावेश छ।
यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो। सिएनएनले मुस्ताङलाई चिनाउँदै माउन्टेन ट्रेकिङका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो।
न्यूयोर्क टाइम्सले पनि नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको उल्लेख गरेको छ।
यसरी न्यूयोर्क टाइम्सको घुम्नपर्ने ठाउँको सूचीमा मुस्ताङ समेटिएसँगै विदेशी पर्यटकको आगमन बढ्ने स्थानीय जनप्रतिनिधिहरू बताउँछन्। यसले समग्रमा नेपाल आउने पर्यटक संख्या बढाउने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए।
‘मुस्ताङ धार्मिक, पुरातात्विकसँगै पर्यटकीय गन्तव्य हो। मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि स्वदेशीसँगै विदेशी पर्यटकको लर्को लाग्ने गरेको छ,’ प्रमुख जिल्ला अधिकारी पन्तले भने।
मुक्तिनाथ दर्शनका लागि पुग्नेमध्ये सबभन्दा धेरै भने भारतीय पर्यटकहरू हुन्छन्।
मुस्ताङको अर्को आकर्षण भनेको ऐतिहासिक र पौराणिक मानिने लोमन्थाङ हो। लोमन्थाङ माटैमाटोले बनेका घर र माटोकै पर्खालले घेरिएको सहरका रूपमा परिचित छ। लोमन्थाङको बस्तीभित्र अवस्थित ज्यम्पा गुम्बा नेपालकै सांस्कृतिक सम्पदा हो।
‘मुस्ताङका धेरै गाउँहरू आफैंमा पर्यटकीय स्थान छन्,’ पन्तले भने, ‘हरेक ठाउँले पर्यटक तानिरहेको छ। यहाँका हरेक ठाउँ अनुपम नमूना हुन्।’
यहाँ स्वदेशीसँगै विदेशीहरू पनि सुटिङका लागि जाने गरेको उनले बताए। सुटिङका निम्ति पुरातत्व विभागबाट स्वीकृति लिनुपर्छ।
मुस्ताङका हरेक कुनाबाट छर्लंग्गै हिमाल देखिन्छन्। जाडो याममा सबैजसो भूभागहरू हिउँले सेताम्मे हुन्छन्। यसकारण पनि पर्यटकको आकर्षण बढेको पन्तले बताए।
सन् २०२३ मा झन्डै एक लाख विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। बर्सेनि हजारौं आन्तरिक पर्यटकहरू पनि पुग्छन्।
कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार विदेशी पर्यटक घुम्न पुगेको तथ्यांक छ। आन्तरिक पर्यटक भने सिजनमा दैनिक ६/७ हजार जना नै पुग्ने गरेका छन्।
सिजनमा पर्यटकले भरिभराउ हुने मुस्ताङमा पर्याप्त मात्रामा होटल रहेको पन्तले बताए।
‘मुस्ताङका सबै घर नै होटल हुन्। सिजनका बेला घरले धान्न नसक्दा टेन्ट हालेर पनि पर्यटकलाई राख्ने गरेका छौं,’ उनले भने, ‘साना-ठूला होटल, रेस्टुरेन्ट र होमस्टेहरू छन्।’
पछिल्लो समय नेपालीहरू पनि ट्रेकिङमा जाने क्रम बढ्दो छ। मुस्ताङ हुँदै तिलिचो, थोरोङ्ला पास हुँदै मनाङ, धवलागिरि आइसफल, दामोदर कुण्ड लगायत गन्तव्यहरू यही जिल्ला हुँदै जाने उनले बताए। आगामी दिनमा नाका व्यवस्थित गर्न सके छोटो दुरीमा कैलाश मानसरोवर पुगिने उनको भनाइ छ।
‘यसका लागि पनि तयारी भइरहेको छ। यो रूट व्यवस्थित गर्न सके अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ,’ उनी भन्छन्।
यसरी पर्यटक आगमनका लागि मुस्ताङ जिल्लाका चारै स्थानीय तहले प्रवर्द्धनका कामहरू गरिरहेको उनले बताए।
मुस्ताङमा पर्यटक बढाउन प्रवर्द्धनका कामहरूलाई बजेटमै छुट्ट्याउने गरेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले बताए। कोरोनापछि यसपालि कोरोला नाका पनि खुलेको छ। यसले पनि आर्थिकसँगै पर्यटनमा टेवा पुग्ने उनको भनाइ छ।
मुस्ताङ जहाज र गाडीमार्फत जान सकिन्छ। जहाजमा जाने हो भने काठमाडौंबाट पोखरा र पोखराबाट जोमसोम जान सकिन्छ। जोमसोमबाट कागबेनी र मुक्तिनाथसम्म सहजै गाडी पाइन्छ। गाडीमार्फत जाँदा काठमाडौंबाट बेनीसम्म सजिलै पुग्न सकिन्छ।
बेनीबाट सिधै जोमसोमका लागि बस र जिप पाइन्छ। टिकट पाइएन भने बेनीबाट मुस्ताङको घाँसासम्म लिँदा हुन्छ। त्यहाँबाट जोमसोमका लागि बस पाइन्छ।
यस्तै माथिल्लो मुस्ताङ नै पुग्ने हो भने कागबेनीबाट छुसाङ र त्यहाँबाट लोमन्थाङसम्म जिप पाइने गाउँपालिकाका अध्यक्ष गुरूङले जानकारी दिए। गाडीको सहज पहुँच भएकाले एक हप्तामै माथिल्लो मुस्ताङ पुगेर आउन सकिन्छ। समय धेरै छ भने ट्रेकिङ पनि जान सकिन्छ।