काठमाडाैँ । सत्तासाझेदार दलआबद्ध राजनीतिक दलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन्।
सत्तासाझेदार दलका तर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रिय सभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ।
‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ,’ अपिलमा अगाडि भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो।’
अपिलमा ‘देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वसर्त भएको स्पष्ट पार्दै लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि गठबन्धन प्रतिबद्ध रहेको र निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौँ’ उल्लेख गरिएको छ।
निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्नेतर्फ सचेत गराउँदै अपिलमा भनिएको छ, ‘यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ। हामी सम्पूर्ण मतदातालाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन अपिल गर्दछौैँ।’
सत्तासाझेदार दलका कृष्णप्रसाद सिटौला, चम्फादेवी कार्की, आनन्दप्रसाद ढुंगाना, पूजा चौधरी विष्णुदेवी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्णप्रसाद अधिकारी र घनश्याम रिजाललाई उम्मेदवार बनाएको छ।
त्यसैगरी, मनरूपा शर्मा, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ।
सत्तासाझेदारका तर्फबाट प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्दै गठबन्धनका उम्मेदवरालाई विजयी गराउन आग्रह गरेका छन्।