तारुका । विगतका वर्षहरूमा जस्तै यस वर्षपनि नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रम आयोजना गरिएको छ ।
तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित तारुकामा यस वर्ष १७ हल गोरु जुधाउन दर्ता भएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
गोरु जुधाउनका लागि मदन श्रेष्ठको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । सोही समितिमा दर्ता भएका गोरुहरू सोमबार जुधाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गोरु जुधाइ मेला हेर्नका लागि आसपासका जिल्लाका साथै टाढा टाढाबाट समेत आउने गरेको श्रेष्ठको भनाइ छ ।
स्थानीय बारीको पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि नयाँ प्रतियोगिताका रूपमा परिचित छ । यहीको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटसहित देशका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको बताइँदै आएको छ ।
तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलो पटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने बूढापाका बताउँछन् ।
त्यतिबेलादेखि नै हरेक वर्ष माघेसङ्क्रान्तिको दिन यो चलनलाई निरन्तरता दिँदै आएको बताइन्छ । यद्यपि यसको लिखित प्रमाण भने कतै भेटिँदैन । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर विसं २०६२ देखि समितिमार्फत जुधाइँदै आएको छ ।