विद्यार्थीलाई पढाइन्छ ‘लोकबाजा’


काठमाडाैँ । सुप्रेना चौधरी दाङ गढवा गाउँपालिकामा रहेकाे जनता माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छिन्।

गढवा गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुसार तयार पारेको ‘हाम्रो गढवा’ किताबमा गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको छुट्टै पाठ समावेश छ। यो पाठअनुसार सुप्रेना कला संस्कृति संरक्षण केन्द्रको भ्रमणमा पुगिन्। कक्षा शिक्षक सुनिता चौधरीले सुप्रेनासहित कक्षा ६ मा अध्ययनरत सबै विद्यार्थीलाई त्यहाँ पुर्‍याएकी हुन्।

‘किताबमा लेखेको कुरा प्रत्यक्ष देख्न पाउँदा विद्यार्थीहरू दंग छन्। रुचिपूर्वक बाजाको बारेमा जान्न खोज्छन्। बाजाहरू छुन पाउने, बजाउन पाउने जस्ता क्रियाकलापले नयाँ सिकाइ भएको छ,’ उनले भनिन्, ‘स्थानीय पाठ्यक्रमअनुसार विद्यार्थीहरूले आफ्नै गाउँठाउँको बारेमा सजिलोसँग जान्न पाए। मादल, बाँसुरीको बारेमा पढ्न पाए।’

गढवा गाउँपालिका- ६ मा स्थापना भएको गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रमा दैनिकजसो विद्यार्थीहरु अध्ययनका लागि पुग्ने गरेका छन्। दुईवटा विद्यालयका तीन समूहका एक सय ४७ जना विद्यार्थीले संरक्षण केन्द्रमा राखिएका बाजाहरूको अवलोकन गरे अनि सँगै कक्षा पनि लिए।

विद्यार्थीहरूको समूह अध्ययनका लागी पुग्ने र करिब एक घण्टा विद्यार्थीहरूलाई लोपाेन्मुख पञ्चेबाजाको बारेमा पढाउने गरिएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रका कोषाध्यक्ष रेशमबहादुर शाहीले बताए।

‘अहिले त विद्यार्थीहरू खोज्दै यहाँ आउनुहुन्छ। उहाँहरूलाई बाजाको बारेमा जानकारी दिने र सिकाउने गरेका छौं,’ उनले भने, ‘विद्यार्थीले बाँसुरी, मादल, ढोलक, सनाही लगायतका बाजाको बारेमा जिज्ञासा राख्नुहुन्छ। त्यो कसरी बजाउने तरिका पनि सिकाउछौं।’

२०७४ सालमा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको स्थापना गरिएको थियो।

लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट सुरु भएको यो संरक्षण केन्द्रलाई स्थानीय सरकारले सहयोग गर्दै आएको छ। जसले गर्दा स्थानीय समुदायका व्यक्तिहरु कला संस्कृतिको संरक्षण अभियानमा केन्द्रित भएर लागेका हुन्। सुरुमा ७५ हजार रुपैयाँ समुदाय स्तरबाटै सहयोग संकलन गरेर दमाहा, ढोलक, ट्याम्को, नरसिंह, झ्यालीलगायतका बाजा किनिएको थियो। त्यसपछि दैनिक बजाउने अभ्यास गरियो।

लोकबाजाको संरक्षणका साथै लोकबाजा, लोकगीतको व्यवसायीकरण गर्न थालिएको छ। विवाह, पूजाआजा, मेला महोत्सवमा बाजा बजाउन जाने गरिएको छ। अहिलेसम्म एक सय १० वटा विवाहमा व्यावसायिक रूपमा बाजा बजाउन पुगेको संरक्षण केन्द्रका अध्यक्ष दयमाराम थापाले बताए।

‘हामी मरेर गए पनि हाम्रो संस्कार, संस्कृति नमारोस्, युवामार्फत् हस्तान्तरण भएर बाँचिराखोस् भन्ने चाहना छ, ’ उनले भने, ‘लोकसंस्कृतिकाे जगेर्ना गर्न हामीले सक्दाे प्रयास गरिरहेका छाैं।’

बहुसांस्कृतिक संग्रहालय स्थापना

गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले गढवा गाउँपालिका- ६ मा बहुसांस्कृतिक संग्रहालय स्थापना गरेको छ। स्थानीय सरकार गढवा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा गढवा पञ्चेबाजा कला संस्कृति केन्द्रको बारेमा समावेश गरेपछि विद्यार्थीसहित आमसमुदायलाई देखाउने उद्देश्यले संग्रहालयको स्थापना गरेको हो।

अहिले संग्रहालयमा लोकबाजा राखिएका छन्। कर्नाल, नरसिंगा, दमाहा, ट्याम्को, सनई, झ्याली, ढोल्की, मुरली, बासुरी लगायत २४ वटा बाजा संग्रहालयमा राखिएका छन्।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले यहाँका स्थानीय समुदायले बजाउने बाजालाई संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जाेड दिन्छन्।


प्रकाशित : २०८० माघ ३, बुधबार ११:१५ गते

ताजा समाचार