
काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा र श्रमिक सबैलाई बाहिर पठाएर देश वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरिछाड्ने बताएका छन्।
बुधबार स्वतन्त्र उर्जा उत्पादक संघको स्थापना दिवसका अवसरमा बोल्दै गृहमन्त्री श्रेष्ठले देशलाई कुनै पनि हालतमा अतिकम विकसित राष्ट्रको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताएका हुन्।
‘हिजो मात्रै प्रधानमन्त्रीसँग कुराकानी भएको थियो– अब के गर्ने सम्बन्धमा। अर्थतन्त्रलाई लयमा ल्याउने कामको सन्दर्भमा केही काम त गरेका छौं। अझै हामीले केही काम गर्न सकिन्छ। अहिलेको स्थितिबाट सन्तुष्ट भएर बस्ने अवस्था छैन। हामीले अर्थतन्त्रको गति तीव्र पार्नैपर्छ। विकासको फड्कोको दिशातिर पुर्याउनैपर्छ। एउटा कुरामा हाम्रो प्रतिबद्धता छ। यो देशलाई कुनै पनि हालतमा हामी अतिकम विकसित राष्ट्रको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौं। यो देशमा युवा र श्रमिक सबैलाई बाहिर पठाएर वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरिछाड्छौं, यो सरकारको संकल्प हो,’ उनले भने।
उनले यो संकल्प त्यसै पूरा हुँदैन भन्ने सरकारलाई थाहा भएको बताए। उनले सरकारले नयाँ ढंगले काम गर्नुपर्ने बताए।
‘उत्पादन वृद्धि गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा काम गर्ने, यसमा हामी गम्भीर भएर काम गरिरहेका छौं,’ उनले भने।