काठमाडाैँ । चीनले दीर्घकालीन फाइदाका लागि भए पनि नेपाल बीआरआईमा अगाडि बढ्न सक्नुपर्ने बताएको छ ।
नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले दीर्घकालीन फाइदाका लागि नेपाल बीआरआईमा अगाडि बढ्न सक्नुपर्ने बताएकी हुन् ।
उनले दलहरूबीच सहकार्य र संवाद गरेर अघि बढ्न सकिए लक्ष्य पूरा हुने पनि बताइन् । ‘दल र सरकारबीच सहकार्यलाई बलियो बनाउनुपर्छ । दीर्घकालीन फाइदाका लागि बीआरआईमा अगाडि बढ्न सक्नुपर्छ,’ उनले भनिन् ।
आइतबार होटल सोल्टीमा आयोजित नेपालका राजनीतिक दलका नेताहरूसँगको छलफलमा उपमन्त्री हायानले गुट बनाउने र क्षेत्रीय द्वन्द्व बढाउने शक्तिबाट सचेत हुनुपर्ने बताइन् । ‘दलहरूबीच सहकार्य र सहज सवाद गर्न सकियो भने लक्ष्य पूरा हुन्छ । हामीहरू गुट बनाउने र क्षेत्रीय द्वन्द्व बढाउने शक्तिबाट सचेत हुनुपर्छ,’ उनले भनिन् ।
कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्याल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रका नेता राम कार्की, रास्वपाका सांसद शिशिर खनाललगायत नेताहरू सहभागी छन् ।