राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ: प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ छ ।

मंगलबारको संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराएका हुन् । माओवादीको संसदीय दलको बैठक सोमबार पनि बसेको थियो ।

“राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ । केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले हाम्रो दाबी स्वाभाविक रहन्छ । तर, साझेदार दलको सहमतिकै आधारमा गरिन्छ ।

गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ,” अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले  भने । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।


प्रकाशित : २०८० माघ २३, मंगलवार १२:३६ गते

ताजा समाचार