काठमाडाैँ । एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा बिहीबार नेपाल विजयी भएको छ ।
क्यानडामाथि नेपालले ७ रनको रोमाञ्चक जित हात पारेको हो । २२५ रनको लक्ष्य पाएको क्यानडा २१७ रन बनाउँदा अलआउट भयो । क्यानडाको मुखबाट तानेर नेपाललाई जित दिलाउने क्रममा कप्तान रोहित पौडेल र ललित राजवंशीले सनसनीपूर्ण बलिङ गरे ।
८.५ ओभर बलिङ गर्दा २ मेडन राखेका राेहितले २२ रन दिएर चार विकेट लिए ।
४० ओभरमा १९५ रन बनाउँदा ६ विकेट गुमाएको क्यानडाले त्यसपछि लगातार विकेट गुमायो । खेलमा पौडेलले चार विकेट लिए भने राजवंशीले दुई विकेट लिए ।
हालै सकिएको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेर टिममा आएका सूर्य तामाङ, रिजन ढकाल र पवन सर्राफको प्रदर्शन अन्तर्राष्ट्रिय खेलमा त्यसअनुरुपको देखिएन । त्यति मात्र होइन, कप्तान रोहित पौडेलदेखि भीम सार्कीसम्मको ब्याटिङ बिर्सनलायक रह्यो ।
त्रिवि मैदानमा टस जितेर कप्तान पौडेलले पहिला ब्याटिङको निर्णय लिँदा ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई बलियो सुरुवात दिलाएका थिए । टचमा देखिएका भुर्तेलले आफ्नो विस्फोटक अन्दाजमा खुलेर ब्याटिङ गरे । उनले ५८ बलमा ६२ रन बनाउने क्रममा ९ चौका र एक छक्का प्रहार गरे ।
एक इन्डमा भुर्तेलले विस्फोटक ब्याटिङ गर्दा अर्को इन्डमा आसिफले भने निकै सुस्त खेले । जसका कारण उनी दबाबमा परे र विकेट खेर फाले । भुर्तेल र शेखबीच पहिलो विकेटका लागि ९.१ ओभरमा ४८ रनको साझेदारी भएको थियो । शेख २४ बलमा ८ रन बनाएर आउट भए । उनी ठूलो शर्ट प्रहार गर्ने प्रयास गर्दा थर्डम्यान क्षेत्रमा क्याच भएका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पौडेल ८ रन बनाएर पेभेलियन फर्किए । उनी ईश्वरजोत सोहीको बाउन्सर बलमा आउट भएका थिए । उनले त्यस क्रममा १७ बलको सामना गरेका थिए ।
यसपछि नेपालले लगातार अन्तरालमा विकेट गुमायो । अन्तिममा सोमपाल कामीले २३ बलमा २७ रनको योगदान दिएपछि मात्र नेपाल सम्मानजनक स्कोरसम्म पुगेको थियो । तर, पारीको अन्तिम बलमा दुई रन लिने प्रयास गर्दा ललित राजवंशी रन आउट हुन पुगे । नेपाल क्यानडाको बलिङ आक्रमणका अगाडि अलआउट भयो ।
त्रिविको हाई स्कोरिङ मैदानमा नेपालले ठूलो स्कोर बनाउन नसक्दा टिमलाई जिताउने जिम्मेवारी बलरको थियो । तर, बलिङ पनि क्यानेडियन ब्याटरका अगाडि मध्यक्रममा फ्लप भयो । लो स्कोर खेलमा क्यानडाका दुई जना ब्याटरले अर्धशतक बनाए । उसका लागि निकोलस क्रिटनले ६८ रन प्रगत सिंहले ५० रन बनाए ।
नेपालका लागि सबैभन्दा सफल बलर बनेका कप्तान रोहित पौडेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले एक–एक विकेट लिए । डेब्युटान्ट सूर्य तामाङ विकेटविहीन रहे । सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।