
किसानलाई हाम्रो देशको मेरुदण्ड मानिँदै आएको छ । तर, किसान भनेर गर्व गर्न सक्ने अवस्था भने बनिसकेको छैन । कृषिमा आबद्ध भएर सहज जीवन जिउन अझै मुस्किल छ ।
विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास तथा व्यावसायिक कृषि प्रणालीको अभाव हो । अर्को कुरा सरकारको उदासिनता पनि ।
किसान लाखौँ लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर, वस्तुको बजार सीमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । सरकारलाई कुनै मतलब छैन ।
गर्मी सुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान ।
तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् । हुनतः खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै ।
असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन । बरु लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् । यतिबेला उनीहरुलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ ।