यूरोकपः क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान


१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २ २ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान गरेका छन् ।

रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली दाइले १४९ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए ।

खेलमा तीन गोल पेनाल्टीबाट भएको थियो । जसमा रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए ।

हंगेरीको पुस्कास एरेनामा भएको खेलको ३१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पहिलो पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा फ्रान्सका करिम बेन्जामाले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।

४७औं मिनेटमा बेन्जामाले गोल गर्दा फ्रान्सले अग्रता बनायो तर ६०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमै गोल गर्दै खेल बराबरी गरे ।

 


प्रकाशित : २०७८ असार १०, बिहीबार ०१:३४ गते

ताजा समाचार