सत्ताका लागि प्रधानमन्त्री प्रचण्ड जेसुकै गर्न तयार : डा. बाबुराम भट्टराई


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताका लागि जेसुकै गर्न तयार हुने गरेको आरोप लगाएका छन्।

१३५ ‍औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष भट्टराईले कहिले काँग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री प्रचण्डले सत्ताका लागि मरिहत्ते गरेको बताए।

उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे।

भट्टराईले दाहालको सत्तामोहले वाक्क भएकाहरूलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय नगरेको बताए।

भट्टराईले भने, ‘माओवादी आन्दोलनमा जोडिएका साथीहरूको एउटा ठूलो समूह थियो। ती साथीहरू बडो दुविधामा थिए। कहिले एमालेको त कहिले काँग्रेसको पछि लागेको छ। प्रचण्डजीले उहाँहरूलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ। त्यस्तो वेला माओवादी आन्दोलनमा लागेकाहरूलाई समाजवादतर्फ लैजान चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो। प्रचण्डजी त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ। तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ।’

अध्यक्ष भट्टराईले दाहालले निर्वाचनअघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेको र जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश व्यक्त गरे।


प्रकाशित : २०८१ बैशाख १९, बुधबार १५:०९ गते

ताजा समाचार