करिब १० अर्ब अमेरिकी डलर लगानीमा स्टारलिंकले विश्वव्यापी इन्टरनेट ल्याउँदै


एजेन्सी। करिब १० अर्ब अमेरिकी डलर लगानीमा स्टारलिंकले विश्वव्यापी रुपमा इन्टरनेट पुर्‍याउने भएको छ । मंगलबार आयोजित मोबाइल वर्ल्ड कंग्रेस कनफ्रेन्समा बोल्दै कम्पनी प्रमुख एलन मस्कले स्टारलिंक नेटवर्कको लागत करिब ५ अर्ब अमेरिकी डलरदेखि १० अर्ब अमेरिकी डलरसम्म पुग्नसक्ने बताएका छन् ।

आउँदो अगस्ट महिनादेखि पोलार रिजनबाहेक विश्वका अन्य क्षेत्रमा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले तयार गरेको स्टारलिंक करिब एक दर्जन राष्ट्रमा सञ्चालन भइरहेको छ । मस्कका अनुसार हाल स्टारलिंकका करिब ६९,४२० प्रयोगकर्ताहरु छन् र आगामी एक वर्षमा यसका प्रयोगकर्ता करिब ५००,००० कट्ने उनको अनुमान छ ।

फाइबर र वायरलेस नेटवर्कको सुविधा नपाएका विश्वका करिब ५ प्रतिशत मानिसमा इन्टरनेट सेवा पुर्‍याउने कम्पनीको लक्ष्य छ । स्टारलिंकसँग सम्बन्धित भएर मस्कले दुई वटा देशसँग दुई ठूला सम्झौता उनले गरेका छन् । यद्यपि कार्यक्रममा उनले यस विषयमा थप जानकारी भने दिएनन् ।

स्टारलिंकमा थप अपग्रेडहरु गर्दै गएको बताउँदै उनले आगामी वर्षमा स्टारलिंक स्याटेलाइटको नयाँ संस्करण पनि सार्वजनिक गर्ने उनले बताए । सो नयाँ संस्करणमा भने इन्टरस्याटेलाइट लेजर लिंकको प्रयोग हुनेछ, जसले पोलार रिजनमा पनि इन्टरनेटको सुविधा पुर्‍याउन सक्ने बताइएको छ ।


प्रकाशित : २०७८ असार १८, शुक्रबार १०:३३ गते

ताजा समाचार