भाेलिदेखि श्रमाधान रोजगार मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने


काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयाेजनामा श्रमाधान रोजगार मेला भोलिदेखि सुरु हुँदै छ ।

मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान कार्यक्रम सातवटै प्रदेशमा १७ जेठदेखि ३० जेठसम्म हुनेछ ।

मन्त्रालयका अनुसार श्रमाधान भाेलि कोशी प्रदेशको विराटनगरबाट सुरु हुनेछ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । स्वदेशमा रोजगार सिर्जना गर्ने योजनासहित श्रमाधान कार्यक्रम आयोजना गरिएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार रोजगारी सिर्जनाका लागि सरकारी र निजीक्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ । मन्त्रालयले आयोजना गरेको मेलामा रोजगारीको खोजीमा रहेका युवा, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने मन्त्रालयका अधिकारीले बताएका छन् ।

मन्त्रालयको आयोजना रहेको मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चम्बर आफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायत सहयोगी संस्थाको रूपमा रहेका छन् । उनीहरूले मेलामा स्टल राख्ने छन् । हरेक प्रदेशमा यो मेला दुई दिन चल्ने छ ।

मन्त्रालयका अनुसार १७ र १८ जेठमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरमा १९ र २० जेठ, गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठ, लुम्बिनी प्रदेशको बुटलमा २३ र २४ जेठ, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ जेठ, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ र बागमती प्रदेशको ललितपुरमा २९ र ३० जेठमा मेला आयोजना हुने कार्यक्रम तय भएको छ ।


प्रकाशित : २०८१ जेष्ठ १६, बुधबार १५:२८ गते

ताजा समाचार