गृहमन्त्री लामिछानेले हुकुमी शासन चलाउन खाेजे : रामहरि खतिवडा


काठमाडाैं । मादकपदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेका नागरिकलाई ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

संविधान र कानूनविपरीतको काम रोक्न सरकारलाई रुलिङ गर्न कांग्रेसले आइतबार सभामुखको ध्यानाकर्षण गराएको छ ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको सनकका भरमा कसैलाई सडकमा उभ्याउन नपाइने बताएका हुन् । ‘कानूनी राज्यको स्थापनाका लागि हामीले हुकुमी शासनविरुद्ध लड्याैँ ।

अहिले गृहमन्त्रीको ट्वीटका आधारमा मापसे गरेकालाई सडकमा उभ्याइन थालिएको छ । मापसे गरेका मानिसलाई पहेँलो ज्याकेटमा सडकमा ल्याएर उभ्याउँदा स्वयंसेवक गर्नेहरूको मनोबल गिरेको छ,’ उनले भने ।

खतिवडाले मापसे कारबाहीमा परेर लर्बराएकालाई सडकमा उतार्ने काम बन्द गर्न सरकारसँग माग गरे । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मापसे कारबाहीमा परेका व्यक्तिलाई ट्राफिक स्वयंसेवक बनाउन थालिएको हो । त्यसविरुद्ध परेको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।


प्रकाशित : २०८१ जेष्ठ २०, आईतवार १२:३९ गते

ताजा समाचार