सिक्किममा एसकेएमको सानदार जीत: भाजपा-कांग्रेसले खाता खोल्न सकेनन्


भारतको सिक्किम राज्यस्तरीय चुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले सानदार विजय प्राप्त गरेको छ । ३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ ‘गोले’को दल एक्लैले ३१ सीट ल्याएको बीबीसी हिन्दीले जनाएको छ ।

सिक्किममात्रै होइन भारतभरका राज्यहरूमध्ये सबैभन्दा लामो समय २५ वर्ष मुख्यमन्त्री भएका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)को पार्टीले एक सीटमात्रै जितेको छ ।

निर्वाचन आयोगले आइतबार सिक्किम विधानसभा चुनावको नतिजा सार्वजनिक गरेको थियो । लोकतान्त्रिक मोर्चाले जितेको एकमात्र सिट शायरी हो जहाँबाट तेन्जिङ नोर्बु लामटा ६६३३ मतले विजयी भएका छन् । दोस्रो स्थानमा रहेका क्रान्तिकारी मोर्चाका कुङ्गा निमा लेप्चाले ५३१९ मत ल्याइन् ।

पछिल्लो विधानसभा चुनावमा सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जितेको थियो भने सिक्किम डेमोक्रेटिक फ्रन्टले १५ सिट जितेको थियो । सिक्किममा अप्रिल १९ मा लोकसभा र विधानसभा चुनावका लागि मतदान भएको थियो ।

सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेमसिंह तामाङले रेनोक सिटबाट एसडीएफका सोमनाथ पोड्याललाई पराजित गरेका छन् । सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष तथा राज्यका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ दुवै सिट (नामचेबुङ र पोकलोक कामराङ)बाट चुनाव हारेका छन् ।

चाम्लिङ सन् १९९४ देखि २०१९ सम्म सिक्किमका मुख्यमन्त्री थिए ।

बारफुङबाट एसडीएफको टिकटमा उम्मेदवार बनेका चर्चित फुटबल खेलाडी बाइचुङ भुटिया एसकेएमका रिक्साल दोर्जी भुटियासँग पराजित भएका छन् ।

प्रेम सिंह तामाङ, जसलाई प्रेम सिंह गोले भनेर चिनिन्छ, सन् १९९० को दशकमा राजनीतिमा प्रवेश गर्दा उनी सिक्किम डेमोक्रेटिक फ्रन्टका सदस्य थिए । उनी सन् १९९४ मा चाकुङ क्षेत्रबाट विधानसभा चुनाव जितेर चाम्लिङ सरकारमा मन्त्री भएका थिए ।

पछि उनी चाम्लिङको आलोचक बने र २०१३ मा उनले सिक्किम डेमोक्रेटिक फ्रन्टबाट अलग भएर सिक्किम क्रान्तिकारी मोर्चा गठन गरे । २०१९ को चुनावमा, पार्टी १७ सिट प्राप्त गर्न सफल भएको थियो ।

यसपटक सिक्किममा विपक्षीबिनाको सरकार बन्ने भएको छ । तर, सिक्किममा विना विपक्षी सरकार बनेको यो पहिलोपटक भने होइन । यसअघि पनि २००९ को विधानसभा चुनावमा एसडीएफले ३२ मध्ये ३२ सिट जितेको थियो र पवन चाम्लिङ राज्यको मुख्यमन्त्री बनेका थिए। त्यसैगरी २००४ को विधानसभा चुनावमा एसडीएफले ३१ सिट र कांग्रेसले एउटा मात्र सिट जितेको थियो । त्यतिबेला पनि प्रतिपक्षमा कुनै दल थिएन ।

बीजेपीले राज्यमा ३१ विधानसभा सीटमा चुनाव लडेको थियो । तर, भाजपाले राज्यमा एउटा सिट जित्न सकेन । यहाँ बीजेपीले ५.१८ प्रतिशत मात्रै मत प्राप्त गर्‍यो । सिक्किम बीजेपी अध्यक्ष डिली राम थापा माथिल्लो बुर्तुक विधानसभा क्षेत्रबाट एसकेएम उम्मेदवार कला राईसँग पराजित भएका छन् । भाजपाले लचेन मंगन सीटमा मात्र चुनाव लडेको थिएन । अधिकांश सिटमा भाजपाका उम्मेदवारको धरौटी जफत भएको छ । भाजपा मात्रै होइन, कांग्रेस र सिटिजन एक्शन पार्टी-सिक्किम (क्याप-एस)ले पनि आफ्नो खाता खोल्न सकेनन् ।

अरुणाचल प्रदेशमा भने भाजपाले बहुमत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार अरुणाचल प्रदेश विधानसभा चुनावमा कुल ६० सिटमध्ये भाजपाले ४६ सिट, नेशनल पिपुल्स पार्टी (एनपीईपी)ले ५ सिट, राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)ले ३ सिट, पीपल्स पार्टी अफ अरुणाचल (पीपीए)ले ३ सिट प्राप्त गरेको छ । दुई सिटमा कांग्रेसले जित हात पारेको छ । तीन सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।


प्रकाशित : २०८१ जेष्ठ २१, सोमबार ०९:२७ गते

ताजा समाचार