रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगी मुकुलमाथि कारवाहीको विपक्षमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा।मुकुल ढकाललाई निलम्बन गर्ने निर्णयमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले असहमति जनाएकी छन् ।

बुधवार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बनको निर्णय गरेको थियो ।

बैठकमा एक जनाबाहेक सबै केन्द्रीय सदस्य र पदाधिकारीले ढकालको गतिविधि पार्टी हितविपरिति रहेको भन्दै उनलाई कारवाहीको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले पत्रकार सम्मेलनमा बताएका थिए ।

५२ जना उपस्थित बैठकमा ढकालमाथि कारवाहीको विपक्षमा उभिने एकमात्र केन्द्रीय सदस्य निशा डाँगी थिइन् । उनले बैठकमा यसरी कारवाही गर्दै जाँदा पार्टी कहाँ पुग्ला भन्दै ढकालमाथि यस्तो व्यवहार नगर्न सुझाव दिएकी थिइन् ।

यसैबीच डाँगीले आफूले प्रतिवेदनका धेरै कुरा ठिक छन् भनेर बैठकमा राखे पनि कारवाही गर्न हुन्न भनेर लिखित असहमति नराखेको बताएकी छन् ।  सांसद डाँगीले आफूले निर्णयमा सही गरेको र फरक मत नराखेको बताइन् ।

बैठकमा अर्का केन्द्रीय सदस्य तथा सांसद असिम शाहले पनि मुकुलमाथि कारवाहीको सन्दर्भमा उनलाई सहयोग र सुधारको आवश्यकता रहेको बताएका थिए । उनको स्वास्थ्यको विशिष्ठ प्रकारको समस्या दर्शाउँदै शाहले प्रतिवेदनमा भन्दा पनि ढकालको प्रक्रियामा मात्र असहमति जनाएका थिए ।

ढकालले बैठकमा आफ्नो कुरा राख्नुको साटो टेप टाँसेपछि वातावरण बिग्रिएको उनको भनाइ थियो । यद्यपी निलम्बन कारवाही गर्ने पक्षमा उनी पनि नरहेको बताइएको छ ।


प्रकाशित : २०८१ असार २१, बिहीबार १२:४३ गते

ताजा समाचार