विमान दुर्घटनामा सौर्य एअरलाइन्स व्यवस्थापनकै ५ जना परे


काठमाडाैं । बुधबार बिहान पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा सौर्य एयरलाइन्स व्यवस्थापनकै पाँच जना परेको पाइएको छ ।

एयरलाइन्सको व्यवस्थापन बोर्डमा १० जना छन् । यीमध्ये विमानका क्याप्टेनसहित पाँच जना दुर्घटनामा परेका हुन् ।

क्याप्टेन मनिषरत्न शाक्य सौर्य एयरलाइन्सका अपरेसन प्रमुख हुन् । उनको भने सिनामंगलको केएमसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका यज्ञप्रसाद पौड्याल मर्मतसम्बन्धी काम हेर्ने शाखाका म्यानेजर हुन् ।

यसैगरी, आश्विनीकुमार निरौला सीएएमओ म्यानेजर हुन् भने दिलीप बर्मा क्यूए प्रमुखको जिम्मेवारीमा थिए । दुर्घटनामा परी ज्यान गुमाएका सागर आचार्य सौर्य एयरलाइन्सको सुरक्षा प्रमुख (चिफ अफ सेफ्टी) हुन् ।

विमानमा सवार १९ जना सबै सौर्य एयरमै कार्यरत ‘स्टाफ’ थिए । सवारमध्ये प्रिजा खतिवडा एक मात्र महिला थिइन् । दुर्घटनामा पर्नेमा एक विदेशी पनि छन् । क्याप्टेन शाक्यबाहेक सबैको शव निकालिएको प्रहरीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमानस्थलको रनवे २ बाट उडेको जहाज रनवे २० को पूर्वतिर जोतिएको हो । दुर्घटनालगत्तै जहाजका क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ । जहाज जलेर नष्ट भएको छ ।


प्रकाशित : २०८१ श्रावण ९, बुधबार १५:०१ गते

ताजा समाचार