साझा कार्यक्रम ल्याउने सरकारको तयारी


काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिंदै छ । सिंहदरबारमा अपराह्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको हो । त्यसअघि बिहान १० बजे शीर्ष नेता र कार्यदल संयोजकबीच छलफल गर्ने निश्चित भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाइसकेको छ । तर सो कार्यक्रम सार्वजनिक भने गरिएको छैन ।

बिहान १० बजे बालुवाटारमा शीर्ष नेताहरुले कार्यदल संयोजक पूर्णबहादुर खड्कासँग छलफल गरेर साझा कार्यक्रम सार्वजनिक गर्ने समय र स्थान निश्चित गरिने एक नेताले बताए ।

कार्यदलका एक जना सदस्य रमेश लेखकले भने मन्त्रिपरिषद बैठकबाट साझा कार्यक्रम स्वीकार गरेको भनेर सैद्धान्तिक निर्णय गरेर सार्वजनिक गर्दा राम्रो हुने सुझाव आफूले कार्यदल संयोजक खड्कालाई दिएको जानकारी दिए ।

साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको नेताहरु बताउँछन् ।

कार्यदल संयोजक एवम् कांग्रेस महामन्त्री खड्काले साझा कार्यक्रममा स्थानीय निकायलाई प्रदेश मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी सार्वजनिक भएका समाचार सत्य नभएको स्पष्टीकरण सामाजिक सन्जालमार्फत् दिएका छन् ।

कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।


प्रकाशित : २०७८ श्रावण २४, आईतवार ०४:२८ गते

ताजा समाचार