बीजेपी नेता चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त


काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आज दिनभर उच्च राजनीतिक भेटवार्तामा व्यस्त रहनुभयो ।

हिजो काठमाडौं आएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका चौथाईवालेले आज अरु नेताहरुलाई भेट्नुभएको हो ।

चौथाइवालेले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुसँग भेटघाट भेटवार्ता गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेको चौथाईवालेले खुमलटार पुगेर प्रचण्डसित भेटवार्ता गर्नुभएको हो । त्यस्तै उहाँले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेट्नुभएकोछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षभेटमा नेपाल भारत सम्बन्धलाई अझै बलियो बनाउने बारेमा सकारात्मक छलफल भएको जानकारी चौथाइवाले दिनुभएको छ ।

चारदिने अनौपचारिक भ्रमणका क्रममा नेपाल आएकै दिन उहाँले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाउनु भएको थियो । चौथाईवाले किन नेपाल आउनुभएको हो भन्ने प्रष्ट जानकारी दिइएको छैन ।


प्रकाशित : २०७८ भाद्र ८, मंगलवार ०२:०४ गते

ताजा समाचार