भकानिदै प्रचण्डले भनेः चन्द्रशेखरको जस्तै आत्महत्या गर्ने कि लड्ने भन्ने सोंच आयो


काठमाडौं । र्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताएका छन्।

बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनी भावुक बनेका हुन्। उनले प्रतिनिधिसभा विघटनपछि लड्ने कि मर्ने ‘आत्महत्या’को सोच आएको बताएका छन्।

भगत सिंहको फिल्मको सन्दर्भ निकाल्दै उनले आफू मर्ने कि लड्ने अवस्थामा पुगेको बताए।

‘भगत सिंहको फिल्म तपाईंहरूले हेर्नुभएको होला। चन्द्रशेखर आजाद छन्। लड्दै गर्दा चारैतिर दुश्मनले घेरा हालेको छ। अब फुत्किने ठाउँ रहेन चन्द्रशेखरको,’उनले भने, ‘एउटा रूखमुनि बसेका हुन्छन्। पेस्तोल हुन्छ उनीसँग। अब मार्ने नै भए प्रतिक्रियावादीहरूले भनेर एक मुठ्ठी माटो समाउँछन् र समाएर भन्छन्- धर्ती माँ, मैले यत्ति नै गर्न सकेँ भनेर आफैंले आत्महत्या गर्छन्।’

यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’

माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको उनले बताए । तर सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भने, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’

२०५२ फागुनमा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले सुनाए । त्यसबेला दुई जना वैकल्पिकसहित १७ जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले भने, ‘हामीमध्ये धेरैजसो मर्छौं भन्ने थियो र फोटो खिचिएको थियो । होलटाइमर ६०/६५ जना थिए, उनीहरुमध्ये पनि धेरैजसो भाग्छन् होला जस्तो भनिएको थियो ।’

तर जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो । र, अझ विशेष रुपमा सच्चिन मैले आफैंबाट शुरुवात गर्नुपर्ने हुन्छ ।’


प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १३:४४ गते

ताजा समाचार