सम्पदाको जमिन माफियाको हातमा गएको भन्दै स्थानीयको विरोध


काठमाडौं । म्हेपी सम्पदा क्षेत्रको गुरु नानन मठको जमिन गुठी संस्थाको केही व्यक्तिहरु र व्यापारिको मिलेमतोमा दुरुपयोग भएको स्थानीय बासिन्दाले बताएको छ । विना टेण्डर गैरकानुनी रुपमा ग्रिल उद्योग संचालनका लागि सस्तो भाडामा लिजमा दिइएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

१६ नम्बर वडाका जनप्रतिनिधिसमेत रहेका कुमारी क्लवका अध्यक्ष जीवन मानन्धरका अनुसार आवश्यक परे समय थप्नेगरी करिब ३ रोपनी जमिन महिनाको २५ हजार भाडामा व्यापारिलाई ग्रिल उद्योगका लागि दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीयले चिल्ड्रेन पार्क बनाउने र महिनाको ३० हजार गुठी संस्थानलाई दिनेभन्दा पनि नदिएर व्यापारिक प्रयोजनका लागि दिइयो । हामी कुनै पनि हालतमा यो हटाउनै पर्छ भनेर लागेका छौं । महानगरपालिकासँग पनि हामीले कुरा गरेका छौं । महानगरपालिकाले पनि हटाउन भनिसकेको छ तर मानिरहेको छैन । गुठी संस्थानका प्रमुख किरण शाख्यलाई पनि यो हटाउनका लागि स्थानीय वासिन्दाको तर्फबाट डेलिगेसन गइसकेका छौं ।’

म्हेपी युथ क्लवको अध्यक्ष नविन राजभण्डारीका अनुसार व्यापारी हेमराज श्रेष्ठ र गुठीसंस्थाको तर्फबाट नेमुनी उदासीबीच एग्रीमेण्ट भएको थियो । अहिले टहरो बनिसकेको छ । स्थानीयले सुरुदेखि नै यसको विरोध गर्दै आए पनि नटेरेको राजभण्डारी बताउनुहुन्छ ।

यो क्षेत्र पुरातात्विक हिसावले पनि महत्वपूर्ण मानिन्छ । सम्पदाको जमिन संरक्षण गर्नुपर्नेमा भूमाफियाहरुको हातमा जानु दुखद गंभिर विषय भएको जनप्रतिनिधि मानन्धर बताउनुहुन्छ । ‘यो तत्काल भत्काएर बालबालिका खेल्ने, बृद्धहरुले घुमफिर र आराम गर्न मिल्नेगरी सुन्दर पार्क बनाउन आवश्यक छ । स्थानीयको चाहना पनि त्यही छ,’ मानन्धरको भनाइ छ ।


प्रकाशित : २०७८ पुष १७, शनिबार १५:१४ गते

ताजा समाचार