बालकुमारी घटना छानविन टोलीद्वारा ईपीएस कार्यालयको अनुगमन


काठमाडाैँ । बालकुमारी घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिले घटनास्थलको अनुगमन गरेको छ ।

छानविन समितिका पदाधिकारीहरु आज दिउँसो ग्वार्कोस्थित ईपीएस कार्यालय पुगेर आवश्यक जानकारी लिएका हुन् ।

समितिका संयोजक काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डिआइजी लालमणि आचार्य, सदस्यहरु ललितपुरका सहायक सिडिओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उपनिर्देशक वासु सिग्देल दिउँसो साढे १२ बजे ईपीएस कार्यालय पुगेर अनुगमन गरि फर्केको जनाइएको छ ।

अस्ति शुक्रबार कोरिया पीडित भनिएका युवाहरुले ईपीएस कार्यालयअगाडि गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र अछामका २३ वर्षे सुजन राउतको ज्यान गएको थियो । त्यस्तै, प्रदर्शनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगो लगाएका थिए ।

घटनालगत्तै गृह मन्त्रालयले त्यहाँ भएको क्षेतिबारे सत्यतथ्य छानविन गरि प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो ।

सरकारले घटनामा सुरक्षाकर्मीका तर्फबाट गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै केही प्रहरी अधिकारीलाई निलम्बन गरिसकेको छ । हिजो बसेको क्याविनेट बैठकले फिल्ड कमान्डर रहेका डिएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, ललितुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख एसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर तानिएको छ । ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएको छ ।


प्रकाशित : २०८० पुष १५, आईतवार १५:०१ गते

ताजा समाचार