काठमाडौं । नेकपा एमाले रूकुम पूर्वमा अध्यक्षलगायतका पदमा सर्वसम्मत गराउन एमालेको नेतृत्व तहमा छलफल भइरहेको छ।
एमाले रुकुम पूर्व स्रोतका अनुसार एमाले पोलिटब्युरो सदस्य, रुकुम पूर्व इन्चार्ज, केन्द्रीय सदस्यलगायतको नेतृत्वमा छलफल भइरहेको हो।
सर्वसम्मत नेतृत्व चयन गर्नका लागि नेताहरुले चरणचरणमा घनिभूत छलफल चलाइरहेका छन् । नेतृत्वका लागि अध्यक्षमा कैशाश मल्ल, लिलामणी गौतम र टोपबहादुर वलीले दाबी गरेका छन्।
एमाले रुकुम पूर्वको नवाैँ अधिवेशन यही चैत्र २९ र ३० गते सदरमुकाम रूकुमकोटमा हुँदैछ। अधिवेशनको एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले उद्घाटन गर्ने कार्यसूची रहेको छ ।
अध्यक्षका मुख्य दाबेदार मल्लले भने: जिल्ला पार्टी नेतृत्वमा प्रदेश सम्मेलन ताका एक किसिमको भद्र सहमति भएको छ । उक्त विषयको पालना हु्न्छ भन्ने कुरामा म विश्वस्त छु । हाम्रो पार्टीको एक व्यक्ति एक जिम्मेवारी भन्रे नीति जो छ । उक्त नीति अनुरुप र प्रदेश सम्मेलन ताका भएको हाम्रो भद्र सहमति अनुसार पनि एमाले रूकुम पूर्व मेरो नेतृत्वमा सर्वसम्मत हुन्छ ।
अहिले नेतृत्वमा रहने आकांक्षा राखेर अगाडि बढ्नु भएका केही कमरेड हुनुहुन्छ वहाँहरू कोही प्रदेश र कोही जिल्लाको निवर्तमान जिम्मेवारीमा हुनुहुन्छ । प्रदेश अधिवेशनकै समयमा मलाई जिल्ला नेतृत्व दिने भनेर समझदारी भएको हो, गत निर्वाचनमा यहाँ पार्टी पराजित हुने निश्चित भएपनि म मैदानमा पुगेको हुँ, त्यो लगानीका हिसाबले र प्रदेश अधिवेशनमा गरिएको समझदारीअनुसार मलाई न्याय गरेर नेतृत्व दिनुहुनेछ, मल्लले भने । अध्यक्षका दाबेदार मल्ल लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहँदै पार्टी सशक्त योगदान दिने व्यक्तिमा गनिन्छन् । शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै मल्ल राष्ट्रिय शिक्षा पुरस्कार २०८० बाट सम्मानित भएका छन् ।
एमाले रुकुम पूर्वको अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुईसहित पाँच सदस्यीय पदाधिकारी चयन गर्नेछ। पाँच सदस्यीय पदाधिकारीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने एमालेको विधानमा प्रावधान छ।