काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औं शिखर सम्मेलन सहभागी बनेका छन् ।
आजदेखि शुरू भएको सम्मेलन सहभागी बनेका प्रधानमन्त्री प्रचण्डले आजै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । युगान्डा गणतन्त्रको राजधानी कम्पालामा जारी सम्मेलन भोलिसम्म चल्नेछ ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
आजै प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।
सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड हिजो बिहान युगान्डा गणतन्त्र प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
प्रकाशित : २०८० माघ ५, शुक्रबार १७:४८ गते