
रासस । लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्ररूपमा अगाडि बढाउन नेपाल र भारत सहमत भएका छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा सो आयोजनामा बाँकी रहेका काम अगाडि बढाउन सहमत भएका हुन् ।
महाकाली सन्धि भएको अढाइ दशकसम्म पनि आयोजनाको डीपीआर नै टुङ्गिन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल र भारतबीच पानी बाँडफाँटको विषयमा कुरा मिल्न सकेको छैन ।
भारतीय प्रधानमन्त्री मोदीले सो आयोजनालाई ‘गेमचेञ्जर’ परियोजनाको सङ्ज्ञा दिँदै अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएपछि डिपिआर टुङ्गो लागेर निर्माण प्रक्रियामा अगाडि बढ्ने आशा पलाएको सर्वत्र चर्चा गरिएको छ ।