बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको चौतर्फी बिरोध भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्यक्त गरेकी छिन् ।
शुक्रबार राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्यक्त गरेकी हुन् । उनले भनेकी छिन्, ‘ आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’ कोरोना महामारीको बेला भावनात्मक उत्तेजना भए पनि विषम परिस्थितिमा संयम र धैर्य अपनाउन उनले आग्रह गरेकी छिन् । ‘दुस्ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’ उनले ट्वीटमा भनेकी छिन्। त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्डले पनि कारवाहीको माग गरेका छन । उनले भनेका छन नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानकर्षण भएको छ र खेद प्रकट गर्दछ । हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आपनो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो काहिलाई पनि कानूनि कारवाही गरियोस् भनि माग पनि गर्दछ । त्यसैगरी नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा। प्रकाशशरण महतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न माग गरेका हुन् । उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई बिरामीहरुको उपचारमा गम्भीर असर परेको भन्दै कांग्रेसले घटनालाई गम्भीरता पूर्वक लिन माग गरेको छ । उक्त घटनालाई लिएर विभिन्न क्षेत्रबाट ब्यापक विरोघ भएको छ ।